भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएका कतिपय व्यक्तिका परिवारले १० दिन बितिसक्दा पनि आफ्ना आफन्तको सास वा लासको अत्तोपत्तो पाउन सकेका छैनन् । आफन्त जीवित छन् कि छैनन् भन्ने अन्योलमा कैयौँ परिवार दिनरात चिन्तामा छन् ।
त्यही अन्योलमा छिन् धनुषाको कमला नगरपालिका–६ की पूजा साह । उनका श्रीमान् अजयप्रसाद सिंह रसुवास्थित डुसान हाइड्रो पावरको अपर त्रिशूली परियोजनामा इन्जिनियरका रूपमा कार्यरत थिए । भोटेकोसीमा बाढी आउनुभन्दा केही मिनेटअघिसम्म अजयले श्रीमतीसँग भिडियो कलमा कुरा गरेका थिए । त्यसपछि भने उनीसँग कुनै सम्पर्क हुन सकेको छैन ।



दुई महिनाअघि मात्र सन्तान जन्माएकी पूजा अहिले श्रीमान्को खोजीको प्रतीक्षामा छिन् । काखमा सानो बच्चा छ, तर मन भने रसुवातिर छ—जहाँबाट १० दिनदेखि श्रीमान्को कुनै खबर आएको छैन ।
“घटना भएको दिन ८ बजेर ५२ मिनेटमा उहाँको फोन आएको थियो । मैले रिसिभ गर्न सकिनँ । त्यसपछि मैले ८ बजेर ५५ मिनेटमा कल गरेँ । करिब ११ मिनेट भिडियो कलमा कुरा भयो,” पूजाले भनिन्, “बुवाआमा र घरपरिवारका विषयमा कुरा भयो । उहाँ पनि सामान्य हुनुहुन्थ्यो । त्यसको केही समयपछि, करिब ९ः१० बजे यस्तो विपद् आएको खबर सुन्यौँ । त्यसपछि उहाँसँग सम्पर्क गर्ने प्रयास गरिरहेका छौँ, तर अहिलेसम्म केही अत्तोपत्तो छैन ।”

त्यो अन्तिम भिडियो कल अहिले पूजाका लागि सम्झनाको सबैभन्दा ठूलो आधार बनेको छ । श्रीमान्सँग भएको अन्तिम कुराकानीका शब्दहरू उनको मनमा बारम्बार दोहोरिन्छन् । फोनको घण्टी बज्दा अजयकै खबर आएको हो कि भन्ने आशा पलाउँछ । तर, फेरि निराशा हात लाग्छ ।
घटना थाहा पाएपछि छिमेकी र आफन्तहरू पूजाको घरमा पुगेर उनलाई नआत्तिन र अजय सुरक्षित फर्किने आश्वासन दिन्छन् । तर, सान्त्वनाका शब्दले उनको मनको बेचैनी कम भएको छैन । आँखाबाट आँसु रोकिएका छैनन् ।
अजयका चार दाजुभाइ, आमाबुबा र अन्य आफन्तसमेत उनको अवस्थाबारे जानकारी पाउन व्याकुल छन् । परिवारको एउटै चाहना छ—अजय जहाँ भए पनि सकुशल भेटिऊन् ।
सामाजिक सञ्जालमा सक्रिय पूजा पछिल्ला दिनमा आफ्नो पीडा पोख्ने माध्यमका रूपमा फेसबुकलाई समेत प्रयोग गरिरहेकी छन् । कहिले सरकारसँग खोजी तीव्र पार्न आग्रह गर्छिन्, कहिले राज्यका निकायलाई प्रश्न गर्छिन् र कहिले भगवान्सँग श्रीमान्को जीवनको प्रार्थना गर्छिन् ।
“भगवान्, उहाँलाई जहाँ भए पनि सुरक्षित राखिदिनुहोस्,” उनले फेसबुकमा लेखेकी छन् ।
‘सुरुङभित्र फस्नुभएको छ कि भन्ने आशा छ’
अजय बाढी आएको दिन पनि परियोजनाको क्याम्पमै कार्यरत थिए । त्यसैले उनी सुरुङभित्र फसेको हुन सक्ने सम्भावनाप्रति पूजा अझै आशावादी छिन् ।
“बाढी आएको दिन पनि उहाँ क्याम्पमै कार्यरत हुनुहुन्थ्यो । कतै सुरुङभित्र फसिरहनुभएको छ कि भन्ने आशा छ । त्यहाँ खोजी र उद्धार तीव्र गतिमा हुनुपर्ने हो,” उनले भनिन् ।
अजय कार्यरत डुसान परियोजनाको व्यवस्थापन तथा सम्बन्धित कम्पनीले पनि बेपत्ता कामदारको खोजीमा पर्याप्त चासो र समन्वय गर्नुपर्ने उनको माग छ ।
“उहाँ कार्यरत कम्पनी कोरियन हो । कोरियन कम्पनीले पनि आफ्ना कामदारको खोजीमा गम्भीर भएर लाग्नुपर्छ,” उनले भनिन् ।
डुसान पावर हाउस क्याम्पभित्र रहेका सबैजसो व्यक्ति सम्पर्कविहीन भएको खबरले आफू झनै मर्माहत भएको पूजाको भनाइ छ ।
“यस्तो गम्भीर अवस्थामा पनि डुसानको कार्यालय तथा व्यवस्थापन टिमबाट प्रभावकारी समन्वय र जानकारी आउन नसक्नु अत्यन्त दुःखद् र चिन्ताजनक छ,” उनले भनिन्, “सम्बन्धित निकायले तत्काल खोज तथा उद्धार कार्यलाई अझ तीव्र बनाइदिनुपर्छ ।”
‘सुत्केरी श्रीमतीलाई श्रीमान्को खबर चाहिएको छ’
दुई महिनाअघि बच्चा जन्माएकी पूजा अहिले एकातिर नवजात शिशुको हेरचाह गरिरहेकी छन् भने अर्कोतिर श्रीमान्को खोजीको प्रतीक्षामा छिन् । सुत्केरी अवस्थामा रहेकी उनलाई अजयको अवस्थाबारे स्पष्ट जानकारी नहुँदा मानसिक पीडा थपिएको छ ।
घरमा आउने आफन्त र छिमेकीले बच्चालाई हेरेर पूजालाई सम्हाल्न खोज्छन् । तर, उनको ध्यान भने पटकपटक रसुवातिर पुग्छ ।
“हामीलाई उहाँको अवस्था के छ भनेर मात्रै भए पनि जानकारी चाहिएको छ । खोजबिनमा के भइरहेको छ, कहाँसम्म पुग्यो, कसरी समन्वय भइरहेको छ भन्ने जानकारी परिवारलाई दिनुपर्छ,” उनको आग्रह छ ।
पूजाले मधेस प्रदेश सरकारले आफ्ना नागरिक बेपत्ता भएको घटनालाई गम्भीरतापूर्वक नलिएको गुनासोसमेत गरेकी छन् ।
“प्रदेश सरकारले खोइ त खोजबिनमा चासो लिएको ? लिनुपर्दैन ? हामी पीडित परिवारलाई ‘यस्तो काम गर्दैछौँ, यस्तो समन्वय भइरहेको छ’ भनेर सान्त्वना दिनुपर्दैन ?” उनले प्रश्न गरिन् ।
उनका अनुसार प्रशासनमा अजय रसुवाको घटनापछि सम्पर्कविहीन भएको जानकारीसहित निवेदनसमेत दिइएको छ । तर, खोजी तथा उद्धारको प्रगतिबारे परिवारलाई नियमित जानकारी नदिएको उनको गुनासो छ ।
“हामीले आफ्नो मान्छे रसुवाको घटनामा परेर सम्पर्कविहीन भएको निवेदन दिएका छौँ । तर, खोजबिनमा के हुँदैछ, कसरी समन्वय भइरहेको छ भन्ने जानकारी दिइँदैन,” उनले भनिन्, “उल्टै पाँच–सात दिनपछि उहाँको फोटो, ठेगाना लगायतका विवरण फेरि सोधेर पीडित परिवारलाई झनै पीडित बनाउने काम भइरहेको छ ।”
पूजाको अर्को चिन्ता मधेस प्रदेशबाट रसुवाको बाढीपछि कति जना सम्पर्कविहीन छन् र कति जनाको मृत्यु भयो भन्ने यकिन विवरणसमेत सार्वजनिक हुन नसकेको विषयमा छ ।
दसौँ दिनसम्म पनि अजयको अवस्था अज्ञात छ । तर, पूजाले आशा छाडेकी छैनन् ।
काखमा दुई महिनाको बच्चा छ । घरमा अजयका आमाबुबा र दाजुभाइ उनको खबर पर्खिरहेका छन् । र, पूजा हरेक दिन एउटै प्रार्थना दोहोर्याइरहेकी छन्—
“भगवान्, उहाँलाई जहाँ भए पनि सुरक्षित राखिदिनुहोस् । हामी उहाँको बाटो हेरेर बसेका छौँ ।”




