महोत्तरी । महोत्तरीको सोनमा गाउँपालिका–६, मगरथानाबाट शनिबार बिहान सशस्त्र प्रहरीले करिब दुई करोड ४० लाख रुपियाँ बराबरको एप्पल कम्पनीका १२ सय थान एयरपड्स बरामद गरेको छ।
सशस्त्र प्रहरी नायब महानिरीक्षक एवम् प्रवक्ता नेत्रबहादुर कार्कीका अनुसार भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको उक्त परिमाणका एयरपड्स सशस्त्र प्रहरी बल नेपाल नं. ९ गण महोत्तरीबाट सशस्त्र प्रहरी निरीक्षक राजेन्द्रबहादुर कार्की, सीमा सुरक्षा गुल्म रघुनाथपुरबाट सशस्त्र प्रहरी नायब उपरीक्षक गणेशदत्त पाण्डे र बोर्डर आउट पोस्ट खैरवनीबाट सशस्त्र प्रहरी निरीक्षक कृष्ण गिरीको टोलीले बरामद गरेको हो।



उक्त एयरपड्स ल्याउने व्यक्ति सशस्त्र प्रहरीको गस्ती टोलीलाई देख्नासाथ फरार भएका थिए। बरामद एयरपड्स आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरीले जनाएको छ।




