जीवनराज,बर्दिवास- धनुषाको मिथिला नगरपालिका–९, बेंगाडावरस्थित न्यू होराइजन इङ्ग्लिस बोर्डिङ स्कुलले भोटेकोशी बाढीपीडितको राहत तथा उद्धारका लागि १ लाख २० हजार १०५ रुपैयाँ सहयोग गरेको छ ।
भदौ १० गते भोटेकोशीमा आएको अत्यन्तै भीषण तथा अप्रत्याशित बाढीका कारण ठूलो जनधनको क्षति भएपछि बाढीबाट प्रभावित नागरिकलाई राहत पुर्याउने उद्देश्यले विद्यालयले सहयोग रकम संकलन गरेको हो ।



विद्यालयका सम्पूर्ण विद्यार्थी, शिक्षक–शिक्षिका, कार्यरत स्टाफ तथा विद्यालय व्यवस्थापनको तर्फबाट सामूहिक रूपमा स्वेच्छिक सहयोग संकलन गरिएको विद्यालयले जनाएको छ । सबैको सहभागिता र सहयोगबाट संकलित उक्त रकम बाढीपीडितका लागि राहत तथा उद्धार कार्यमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

संकलित कुल रु. १,२०,१०५ (एक लाख बीस हजार एक सय पाँच रुपैयाँ) नगर, जिल्ला र प्रदेश हुँदै केन्द्रीय प्याब्सनमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको विद्यालयले जनाएको छ ।
प्राकृतिक विपत्तिको समयमा पीडितको सहयोगका लागि विद्यालय परिवारले गरेको यो सामूहिक प्रयासले सामाजिक उत्तरदायित्व र मानवीय सहयोगको भावना थप बलियो बनाएको छ ।




