जनकपुरधाम । धनुषामा प्रहरीले १९७ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ ।
मिथिला नगरपालिका–२ नक्टाझिझस्थित जनकपुरधाम–ढल्केवर सडकखण्डमा सोमबार बिहान विशेष सूचनाका आधारमा प्रहरीले शंकास्पद मोटरसाइकल जाँच गर्ने क्रममा उक्त पदार्थ बरामद गरेको हो ।



लागुऔषध नियन्त्रण ब्युरो बर्दिवास र इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले जनकपुरबाट ढल्केवरतर्फ जाँदै गरेको ज ९ प ५६९७ नम्बरको मोटरसाइकल रोकी जाँच गरेको थियो ।
जाँचका क्रममा मोटरसाइकलको पछाडि सवार भारतको मधुवनी जिल्ला, कमलावारी पुरी–१३ का करिब २७ वर्षीय संजित कुमार रामले बोकेको कालो प्लास्टिकको झोलाबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।
बरामद पदार्थ तौल गर्दा १९७ ग्राम ४४० मिलिग्राम रहेको प्रहरीको भनाइ छ ।
प्रहरीले मोटरसाइकल चालक धनुषाको सबैला नगरपालिका–१० खरियानी टोलका करिब ३४ वर्षीय राकेश चमार र संजित कुमार रामलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ ।
दुवै जनालाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।




