औरही,महोत्तरी – तराई–मधेसमा मनाइने चौरचन पर्व नजिकिएसँगै महोत्तरीका स्थानीय बजारमा माटाका भाँडाकुँडाको माग बढेको छ । औरही नगरपालिका–१ स्थित औरही बजारसहित जिल्लाका विभिन्न हाटबजारमा चौरचनका लागि आवश्यक माटाका घैँला, छाछी (कन्तारी), मटकुरी, लाबैन, दियो र फुच्चीलगायत सामग्रीको बिक्री बढेको हो ।
भदौ कृष्णपक्ष चतुर्थीका दिन मनाइने चौरचन पर्वमा माटाका भाँडामा दही, खीर, फलफूल, मिठाईलगायत प्रसाद राखेर चन्द्रदेवलाई अर्पण गर्ने परम्परा छ । धार्मिक तथा सांस्कृतिक महत्व बोकेको यस पर्वमा माटाका भाँडा प्रयोग हुने भएकाले अन्य समयको तुलनामा चौरचनका बेला यसको माग ह्वात्तै बढ्ने गरेको स्थानीय व्यापारी बताउँछन् ।




औरही नगरपालिका–१ का स्थानीय राजकिशोर चौधरीले चौरचन धार्मिक आस्था र सांस्कृतिक परम्परासँगै पारिवारिक तथा सामाजिक सम्बन्ध जोड्ने पर्वका रूपमा मनाइँदै आएको बताउनुभयो । परिवार तथा आफन्तजन एकै ठाउँमा भेला भएर चन्द्रदेवको पूजा गर्ने भएकाले पर्वले सामाजिक सद्भाव कायम गर्नसमेत सहयोग पुर्याउने उहाँको भनाइ छ ।
“आधुनिक सामग्रीको प्रयोग बढे पनि चौरचनमा माटाका भाँडाको प्रयोग गर्ने परम्परा अझै हटेको छैन,”उहाँले भन्नुभयो, “यसले मौलिक संस्कृति र स्थानीय कुम्हाले समुदायको सीप संरक्षणमा पनि सहयोग पुगेको छ ।”

चौरचन नजिकिएसँगै माटाका भाँडाको मूल्यसमेत बढेको स्थानीयको भनाइ छ । औरही नगरपालिका–२ का दिनेश यादवका अनुसार सामान्य समयमा पाँचदेखि १० रुपियाँमा पाइने कतिपय माटाका सामग्री अहिले ५० देखि १०० रुपियाँसम्म पुगेका छन् । आकार र बनोटअनुसार केही सामग्रीको मूल्य २०० रुपियाँसम्म पुगेको उहाँले बताउनुभयो ।
“सामान्य समयमा माटाका भाँडा खासै बिक्री हुँदैनन् । चौरचन नजिकिएपछि घैँला, छाछी, मटकुरी, लाबैन, दियो र फुच्ची खोज्ने ग्राहक बढेका छन्,” यादवले भन्नुभयो ।

उहाँका अनुसार एउटा परिवारलाई चौरचनका लागि आवश्यक माटाका सामग्री खरिद गर्न कम्तीमा पाँच सय रुपियाँभन्दा बढी खर्च हुने गरेको छ । माटो, दाउरा, श्रम र ढुवानीको लागत बढेकाले भाँडाको मूल्य पनि बढेको उहाँले बताउनुभयो ।
चौरचनका कारण कुम्हाले समुदायको परम्परागत पेसामा भने केही समयका लागि चहलपहल बढेको छ । औरही नगरपालिका–४ कबिलाशाका कुमाले चन्देश्वर पण्डितले पर्वका लागि आवश्यक सामग्री बनाउन भ्याइनभ्याई भएको बताउनुभयो ।
उहाँका अनुसार माटाका भाँडा बनाउन माटो खोज्ने, ल्याउने, सफा गर्ने, आकार दिने, सुकाउने र आगोमा पकाउनेसम्मका काम गर्नुपर्ने भएकाले उत्पादनमा समय र श्रम धेरै लाग्छ ।

“चौरचन नजिकिएपछि एकैपटक धेरै सामग्रीको माग आउँछ । बिहानदेखि बेलुकासम्म काम गर्दा पनि मागअनुसार उत्पादन गर्न कठिन हुन्छ,” पण्डितले भन्नुभयो ।
आधुनिक प्लास्टिक, स्टिल तथा अन्य सामग्रीको प्रयोग बढ्दै जाँदा वर्षभरि माटाका भाँडा बनाएर जीविकोपार्जन गर्न कठिन भएको उहाँले बताउनुभयो । चौरचन, विवाह तथा पूजापाठजस्ता अवसरमा हुने बिक्रीले भने कुम्हाले परिवारलाई केही राहत पुग्ने उहाँको भनाइ छ ।

“माटो र दाउराको मूल्य बढेको छ । उत्पादनमा श्रम पनि धेरै लाग्छ । त्यसैले पुरानै मूल्यमा भाँडा बिक्री गर्न सम्भव छैन,” पण्डितले भन्नुभयो ।
चौरचन पर्वले आफ्नो पुस्तौँदेखिको सीप र पेसालाई निरन्तरता दिन सहयोग गरेको उहाँको भनाइ छ । स्थानीयस्तरमै उत्पादित माटाका सामग्रीको प्रयोग बढाउन सके कुम्हाले समुदायको परम्परागत सीप संरक्षणसँगै स्थानीय अर्थतन्त्रमा समेत योगदान पुग्ने उहाँले बताउनुभयो ।
यस वर्ष भदौ २९ गते चौरचन पर्व मनाइँदैछ ।
सोही दिन हरितालिका तीजसमेत परेकाले दुवै पर्व एकै दिन मनाइँदैछन् । पर्व नजिकिएसँगै औरही, गौशाला, रामगोपालपुर, भङ्गाहा र जलेश्वरलगायतका बजारमा माटाका भाँडा खरिद गर्ने ग्राहकको चहलपहल बढेको छ ।

धार्मिक आस्था, सांस्कृतिक परम्परा र सामाजिक सद्भावसँग जोडिएको चौरचन पर्वले आधुनिक सामग्रीको बढ्दो प्रयोगका बीच पनि माटाका भाँडाको परम्परागत प्रयोगलाई निरन्तरता दिएको छ । यसबाट कुम्हाले समुदायको परम्परागत सीप र पेसाले पनि वर्षमा कम्तीमा एकपटक बजार पाउने गरेको छ ।
तस्बिर : धर्वेन्द्र कुमार यादव ‘यदुवंशी’/शिरीष न्युज,औरही,महोत्तरी















