महोत्तरी – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिनुभएको छ। मन्त्री यादवको सचिवालयका अनुसार उहाँले बिहीबार प्रधानमन्त्री वालेन शाहसमक्ष राजीनामा बुझाउनुभएको हो।
पछिल्ला दिनमा खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज बनाउन नसकेको भन्दै मन्त्री यादवको आलोचना बढ्दै गएको थियो। बुधबार संसद्को उद्योग तथा वाणिज्य समितिको बैठकमा उहाँले ग्यास आपूर्ति सहज बनाउन उद्योगीलाई ‘पाता फर्काउनुपर्ने’ विवादास्पद अभिव्यक्ति दिनुभएको थियो।



काठमाडौंका लागि ठूलो परिमाणमा ग्यास पठाइएको भनिए पनि उपभोक्तासम्म अपेक्षित मात्रामा ग्यास नपुगेको भन्दै मन्त्री यादवले उद्योगीप्रति आक्रोश व्यक्त गर्नुभएको थियो। आपूर्ति व्यवस्थापनमा देखिएको समस्याका विषयमा उहाँले कर्मचारी प्रशासनका कारण आफूले प्रभावकारी रूपमा काम गर्न नसकेको गुनासोसमेत गर्नुभएको थियो।
यादव राष्ट्रिय स्वतन्त्र पार्टीबाट महोत्तरी–४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुनुहुन्छ।उहाँ गत चैत २७ गते उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा नियुक्त हुनुभएको थियो।




