महोत्तरी – महोत्तरीको उत्तरी क्षेत्रमा लगातारको वर्षा र हावाहुरीले काट्न ठिक्क परेको धानबाली खेतमै ढलाएपछि किसान ठूलो क्षतिको मारमा परेका छन्। पाकेको धान खेतमै लडेपछि पानीमा डुबेको छ भने अधिकांश खेत जलमग्न हुँदा धान कुहिने जोखिमसमेत बढेको छ।
वर्षभरि खान र आम्दानीका लागि उत्पादन गरेको बाली भित्र्याउने बेलामै क्षति भएपछि किसान चिन्तित बनेका हुन्। सिँचाइ सुविधा भएका कारण असारमै धान रोपेका किसान अहिले बाली काटेर भित्र्याउने तयारीमा थिए। मौसम पूर्वानुमानअनुसार वर्षा रोकिएपछि धान काट्ने तयारीमा रहेका किसानलाई हावाहुरीसहितको निरन्तर वर्षाले थप समस्या पारेको हो।



औरही, गौशाला र भङ्गहा नगरपालिकाका अधिकांश क्षेत्रमा धान पाकेर खेत पहेँलपुर भएका बेला आएको वर्षा र हावाहुरीले बालीमा क्षति पुर्याएको किसानले बताएका छन्। खेतमा पानी जमेकाले काट्न बाँकी धान ढलेर पानीमा डुबेको छ। समयमै पानी नघटेमा धान कुहिएर उत्पादनमा थप कमी आउने उनीहरूको चिन्ता छ।
औरही नगरपालिका–२ का किसान दिनेश यादवका अनुसार धान भित्र्याउने तयारी भइरहेका बेला हावाहुरी र वर्षाले बाली ढलेपछि यस वर्षको उत्पादनमा ठूलो असर पर्ने देखिएको छ। “वर्षभरि गरेको मेहनत र लगानी उठाउने बेला बाली नै खेतमा ढलेको छ,” उहाँले भन्नुभयो, “धान काटेर घर भित्र्याउन नपाउँदै पानीमा डुबेपछि परिवारको खाद्यान्न व्यवस्थामै समस्या पर्ने चिन्ता छ।”
किसानका अनुसार महोत्तरीको उत्तरी क्षेत्रमा धानबालीमा वर्षेनी यस्तै समस्या दोहोरिँदै आएको छ। कहिले काटेर सुकाउन राखेको धान वर्षाले भिजाउने, कहिले हावाहुरीले ढलाउने र कहिले खेतमा पानी जमेर बाली नष्ट हुने गरेको उनीहरूको गुनासो छ।
किसानले तत्काल क्षतिको विवरण सङ्कलन गरी राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेका छन्। उनीहरूले हरेक वर्ष दोहोरिने डुबानको समस्या समाधानका लागि दीर्घकालीन योजना बनाउन तथा कृषि बीमालाई प्रभावकारी बनाउनसमेत माग गरेका छन्।
उखुमा पनि दोहोरो क्षति
धानसँगै महोत्तरीमा उखु खेतीमा समेत हावाहुरी र वर्षाले क्षति पुर्याएको छ। माघ–फागुनमा लगानी गरेर रोपिएको उखु साउनमा आएको हावाहुरीले ढलेपछि किसानले थप श्रम र खर्च गरेर उठाई बाँधेका थिए। तर असोज ८ देखि ११ गतेसम्मको हावाहुरी र वर्षाले बाँधेर राखिएको उखुसमेत पुनः खेतमै ढलाइदिएपछि किसानमाथि थप आर्थिक भार परेको छ।
औरही नगरपालिका–२ का किसान दिनेश यादवले उखु पटक–पटक ढल्दा उत्पादन लागतसमेत बढ्दै गएको बताउनुभयो। “पहिले साउनको हावाहुरीले उखु ढल्यो। त्यसपछि मजदुर लगाएर उठाएर बाँधियो,” उहाँले भन्नुभयो, “अहिले फेरि हावाहुरी र वर्षाले ढालेपछि एउटै बालीमा दोहोरो खर्च र क्षति व्यहोर्नुपरेको छ।”
सोही ठाउँका किसान घनश्याम यादवले धान र उखु दुवै बालीमा क्षति पुगेपछि किसान आर्थिक समस्यामा पर्ने अवस्था आएको बताउनुभयो। वर्षभरि खान र आम्दानीका लागि गरेको मेहनत बाली भित्र्याउने समयमा नष्ट भएपछि किसानको लगानी जोखिममा परेको उहाँले बताउनुभयो।
“किसानको वास्तविक क्षति तत्काल मूल्याङ्कन हुनुपर्छ,” उहाँले भन्नुभयो, “क्षतिको विवरण सङ्कलन गरेर राहत दिनुका साथै कृषि बीमामार्फत क्षतिपूर्ति पाउने व्यवस्था मिलाउनुपर्छ।”
सम्बन्धित पालिकाले वर्षा र हावाहुरीका कारण धान तथा अन्य बालीमा भएको क्षतिको विवरण सङ्कलन गर्ने तयारी गरेका छन्। प्रभावित किसानको वास्तविक क्षतिको विवरण सङ्कलनपछि उपलब्ध स्रोत र साधनअनुसार राहत तथा अन्य सहयोगका लागि पहल गरिने पालिका प्रतिनिधिहरूले बताएका छन्।
तर किसानले भने तत्कालीन राहतसँगै हरेक वर्ष दोहोरिने डुबान, निकासको समस्या र बाली क्षतिको स्थायी समाधान खोज्नुपर्ने माग गरेका छन्। उनीहरूका अनुसार बाली भित्र्याउने बेलामा हुने प्राकृतिक विपत्तिले उत्पादन मात्रै घटाएको छैन, कृषि पेशामै निर्भर परिवारको वर्षभरको खाद्य सुरक्षा र आम्दानीसमेत जोखिममा पार्दै आएको छ।





