लगातारको अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभर १२ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा मात्रै थप ६ जनाको मृत्यु भएको हो ।
प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार असोज ७ गतेदेखि हालसम्म बाढी, पहिरो र अविरल वर्षाका कारण मृत्यु हुनेको संख्या १२ पुगेको हो । यस अवधिमा ७ जना सम्पर्कविहीन छन् ।



महतका अनुसार पाल्पामा एक जना तथा पछिल्लो २४ घण्टामा बागलुङमा चार र म्याग्दीमा दुई जना बेपत्ता भएका छन् । सम्पर्कविहीन भएकाहरूको खोजी तथा उद्धार कार्य जारी रहेको उनले बताइन् ।
‘असोज ७ गतेदेखि वर्षा हुन थालेको हो । हिजोसम्म ६ जनाको मृत्यु भएकोमा पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ । हालसम्म बाढी, पहिरो र अविरल वर्षाका कारण १२ जनाको मृत्यु भएको देखिन्छ,’ उनले भनिन् ।
सम्भावित जोखिमबारे मौसम पूर्वानुमान महाशाखाले दिएको सूचनाका आधारमा प्राधिकरणले पूर्वतयारी तथा उद्धारको काम अघि बढाएको महतले बताइन् । जोखिमका आधारमा रेड, एम्बर र येलो अलर्ट भएका क्षेत्र पहिचान गरी स्थानीय प्रशासन, सुरक्षा निकाय तथा स्थानीय तहलाई पूर्वतयारी र उद्धारका लागि परिचालन गरिएको उनले जानकारी दिइन् ।
प्राधिकरणले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, स्थानीय तहका प्रमुख तथा विपद् प्रतिकार्यमा खटिने अन्य निकायसँग निरन्तर सूचना आदान–प्रदान गरिरहेको जनाएको छ । ह्वाट्सएप, भाइबरलगायत डिजिटल माध्यमबाट नदी बेसिन, वर्षाको अवस्था तथा प्रभावित क्षेत्रबारे नियमित जानकारी संकलन र सम्प्रेषण भइरहेको महतले बताइन् ।
प्राधिकरणले गण्डकी र लुम्बिनी प्रदेशका केही क्षेत्रलाई बढी जोखिमयुक्त क्षेत्रका रूपमा पहिचान गरेको थियो । कालीगण्डकी र नारायणी नदी बेसिनका विभिन्न स्थानमा अति भारी वर्षा भएपछि नदीको बहाव बढ्नुका साथै कटानसमेत भएको महतले बताइन् ।
‘हामीले सुरुदेखि नै गण्डकी र लुम्बिनी प्रदेशका केही क्षेत्रलाई बढी जोखिममा रहेको भनेर पहिचान गरेका थियौँ । अहिले वास्तविक अवस्था पनि त्यहीअनुसार देखिएको छ,’ उनले भनिन् ।
नवलपुर, चितवन, पाल्पा, पर्वतलगायत जिल्लामा बाढी, कटान र पहिरोको प्रभाव देखिएको प्राधिकरणले जनाएको छ । पर्वतमा केही घर बाढीले बगाएको भए पनि जोखिमयुक्त बस्तीका बासिन्दालाई समयमै सुरक्षित स्थानमा सारिएकाले मानवीय क्षति हुन नपाएको महतले बताइन् ।
नवलपरासीमा १ हजार १ सयभन्दा बढी स्थानान्तरण
नवलपरासी क्षेत्रमा १ हजार १ सयभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्राधिकरणले जनाएको छ । जोखिमको पूर्वानुमान गरेर नागरिकलाई समयमै सुरक्षित स्थानमा सारिएको महतले बताइन् ।
‘नवलपरासी र आसपासका क्षेत्रमा १ हजार १ सयभन्दा बढी बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिसकिएको थियो । जोखिमको पूर्वानुमान गरेर पहिले नै नागरिकलाई सुरक्षित स्थानमा सारिएका धेरै ठाउँ छन्,’ उनले भनिन् ।
बाढी तथा पहिरो प्रभावित क्षेत्रमा उद्धार कार्य जारी रहेको छ । म्याग्दीमा उद्धारका लागि दुईवटा हेलिकोप्टर परिचालन गरिएको महतले जानकारी दिइन् ।
उद्धारपछि सुरक्षित स्थानमा राखिएका नागरिकका लागि खाना तथा अन्य आवश्यक सामग्री स्थानीय तह, जिल्ला प्रशासन कार्यालय र प्रदेश सरकारसँगको समन्वयमा व्यवस्थापन भइरहेको छ । स्थानीय तथा प्रदेशस्तरका गोदामसँगै प्राधिकरणको केन्द्रीय गोदाम र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित गोदामबाट आवश्यकताअनुसार राहत सामग्री पठाइएको प्राधिकरणले जनाएको छ ।
महतका अनुसार तत्कालको विपद् जोखिम भने अझै टरेको छैन । आइतबार रातिसम्म केही क्षेत्रमा वर्षा जारी रहन सक्ने भएकाले नदीको बहाव थप बढ्ने तथा बाढी र पहिरोको जोखिम कायमै रहेको उनले बताइन् ।
विशेषगरी हिमाली क्षेत्रमा भारी वर्षासँगै हिमपातको सम्भावना देखिएपछि पर्यटक तथा ट्रेकर्सलाई लक्षित गरी छुट्टै सूचना जारी गरिएको प्राधिकरणले जनाएको छ । हालसम्म ९ हजारभन्दा बढी पर्यटकलाई सुरक्षित स्थानमा झारिएको महतले बताइन् ।
विदेशी पर्यटक तथा यात्रुलाई समेत मौसम र जोखिमबारे जानकारी गराउन प्राधिकरणले अंग्रेजी भाषामा एडभाइजरी जारी गरेको जनाएको छ ।





