महोत्तरी – महोत्तरीको औरही नगरपालिका–१,औरही निवासी रामबाबु चौधरीले नेकपा (माओवादी केन्द्र) सँगको करिब तीन दशक लामो राजनीतिक सम्बन्ध अन्त्य गर्दै पार्टी परित्याग गर्नुभएको छ।
माओवादी केन्द्र मधेश प्रदेश कमिटी सदस्यसमेत रहनुभएका चौधरीले आइतबार बिहान सामाजिक सञ्जालमार्फत पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको घोषणा गर्नुभएको हो।



पार्टी परित्यागको घोषणा गर्दै चौधरीले पार्टी नेतृत्वको कार्यशैली तथा मधेश प्रदेशमा बढ्दै गएको गुट–उपगुटप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ। पार्टीभित्र देखिएका समस्या र गुटबन्दी अन्त्यका लागि आफूले पटक–पटक नेतृत्वसँग भेटेर ध्यानाकर्षण गराए पनि समस्या समाधानका लागि अपेक्षित पहल नभएको उहाँको दाबी छ।
चौधरीले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथिसमेत पार्टीभित्रको गुटगत राजनीतिलाई प्रश्रय दिएको आरोप लगाउनुभएको छ। यद्यपि, यी आरोपहरू चौधरीको व्यक्तिगत धारणा तथा दाबीका रूपमा आएका हुन्।आफ्नो करिब ३० वर्ष लामो राजनीतिक तथा सांगठनिक यात्राबारे चौधरीले मधेशमा माओवादी आन्दोलन र राजनीतिक परिवर्तनका लागि ठूलो त्याग र बलिदान भए पनि पुराना तथा निष्ठावान् नेता–कार्यकर्ताको उचित मूल्यांकन हुन नसकेको गुनासो गर्नुभएको छ।
उहाँले भन्नुभयो, “मधेशमा माओवादी आन्दोलन र परिवर्तनका लागि जुन अपार बलिदानी भयो, आज नेतृत्वले त्यसको कुनै मूल्य राखेन। पार्टी अध्यक्ष स्वयम् गुटमा रमाउनुभयो। मधेशका निष्ठावान् नेता तथा कार्यकर्ताहरूलाई जिम्मेवारीबाट वञ्चित गर्ने र निरन्तर अपमानित गर्ने काम भयो। माओवादीभित्र अब यो अपमान र बेथिति सहेर बस्न सक्ने अवस्था रहेन।”चौधरीले आफू मात्र नभई पार्टीका अन्य पुराना नेता तथा कार्यकर्तासमेत नेतृत्वको व्यवहारबाट असन्तुष्ट रहेको दाबी गर्नुभएको छ। उहाँले पार्टीभित्र देखिएका असन्तुष्टि र समस्याविरुद्ध आगामी दिनमा थप आवाज उठ्ने संकेतसमेत गर्नुभएको छ।
माओवादी ‘जनयुद्ध’ का कठिन दिनहरू स्मरण गर्दै चौधरीले राजनीतिक परिवर्तनका क्रममा आफूले जेलजीवनसमेत बिताएको र पार्टीको पूर्णकालीन कार्यकर्ताका रूपमा तीन दशकभन्दा बढी समय संगठनमा बिताएको बताउनुभएको छ।पछिल्लो समय आफ्नो कार्यक्षेत्र परिवर्तन गरिदिन नेतृत्वसमक्ष आग्रह गरे पनि त्यसको सुनुवाइ नभएपछि पार्टीसँग आफ्नो दूरी बढ्दै गएको उहाँको भनाइ छ।
पार्टीभित्र लामो समयदेखि योगदान गर्दै आएका पुराना तथा निष्ठावान् कार्यकर्तालाई उचित जिम्मेवारी र अवसर नदिई नयाँ आउनेहरूलाई प्राथमिकता दिइएको चौधरीको गुनासो छ।पार्टीमा लामो समयसम्म उचित भूमिका र मूल्यांकन नपाएको महसुस भएपछि आफूले अब कुनै पनि राजनीतिक दलको वैधानिक घेराभित्र नरही स्वतन्त्र रूपमा जीवन बिताउने निर्णय गरेको उहाँले बताउनुभएको छ।






