काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशन केही दिन पर सार्ने तयारी भएको छ। असोज ८ गतेदेखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण विभिन्न स्थानमा बाढी पहिरोले गर्दा सडक र पुलहरू भत्केको तथा काठमाडौँ आउनका लागि पनि समस्या रहेकाले केही दिन पर सार्ने तयारी कांग्रेसले गरेको हो।
कांग्रेस प्रवक्ता देवराज चालिसेले मङ्गलबार बिहान बैठक बसेर आगामी १६ गतेदेखि १९ गतेसम्म तय भएको महाधिवेशन सार्ने बारे निर्णय हुने जानकारी दिए।



प्रवक्ता चालिसेले भने,’प्राकृतिक विपत्तिका कारण महाधिवेशन स्थलसम्म आउने सडक पुलहरू भत्केका छन्। क्षेत्रीय अधिवेशन गर्न कठिनाइ भइरहेको छ त्यसैले केही दिन पर सार्ने कि भन्ने कुराकानी भइरहेको छ केही निर्णय भएको छैन।’
प्रवक्ता चालिसे कानुनी अड्चन के हुन्छ भन्ने हेरेर मात्र महाधिवेशनको मिति सार्ने कि नसार्ने भन्ने निर्णय हुने बताए। कांग्रेसले सर्वोच्च अदालतमा पार्टीका तर्फबाट धारणा पेस गर्दा असोज १६ गतेदेखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने विषय उल्लेख गरेको थियो।
सर्वोच्च अदालतले त्यही विषय फैसलामा उल्लेख गरेकाले के गर्ने कसो गर्ने भन्ने कानुनी रूपमा कुराकानी गरेर निर्णय गरिने प्रवक्ता चालिसेले बताए।





