जनकपुरधाम । दशैं, दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै जनकपुरधाममा सस्तो बजारका रूपमा परिचित दशैं बजार सुरु भएको छ ।
करिब ४० वर्षदेखि सञ्चालन हुँदै आएको यस बजारमा उपभोक्ताले दैनिक उपभोग्य सामग्रीदेखि चाडपर्वमा आवश्यक पर्ने विभिन्न सामान एकै ठाउँमा सुलभ मूल्यमा खरिद गर्न पाउनेछन् ।



जनकपुरधामस्थित गोपाल धर्मशालामा मधेश प्रदेशसभा सदस्य दिपेन्द्र ठाकुर र दशैं बजार व्यवस्थापन मूल समितिका संरक्षकसमेत रहेका धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले संयुक्त रूपमा बजारको उद्घाटन गरेका हुन् ।
यस वर्ष बजारमा १५० भन्दा बढी स्टल राखिएका छन् । खाद्यान्न, साबुन, सर्फ, चियापत्ती, अगरबत्ती, भाँडाकुँडा तथा कपडालगायत दैनिक जीवनमा आवश्यक पर्ने विभिन्न सामग्री बिक्रीका लागि राखिएको छ ।
चाडपर्वका बेला उपभोक्तालाई एउटै स्थानबाट आवश्यक सामग्री सहज र सुलभ मूल्यमा उपलब्ध गराउने उद्देश्यले सञ्चालन हुँदै आएको दशैं बजारप्रति सर्वसाधारणको आकर्षण वर्षेनी बढ्दै गएको आयोजकको भनाइ छ ।
जनकपुरधाम उद्योग वाणिज्य संघका महासचिव फूलदेव पण्डितका अनुसार बजारमा नेपालमै उत्पादित खाद्यान्नलगायत विभिन्न कम्पनीका उपभोग्य सामग्री बिक्रीका लागि राखिएका छन् ।
लामो समयदेखि सञ्चालन हुँदै आएको यस बजारले चाडपर्वको समयमा उपभोक्तालाई किनमेल गर्न सहज बनाउँदै आएको उनले बताए ।
असोज २४ गतेदेखि सुरु भएको दशैं बजार यस वर्ष विजया दशमीसम्म सञ्चालन हुने प्रमुख जिल्ला अधिकारी लुइँटेलले जानकारी दिए । उनका अनुसार छठ पर्वसम्म बजारमा सामानको मूल्य यथावत् राखेर बिक्री गर्ने निर्णय गरिएको छ ।
चाडपर्वको समयमा बजारमा हुने मूल्यवृद्धिको चाप कम गर्दै उपभोक्तालाई सहुलियतमा सामान उपलब्ध गराउने उदेश्यसहित सुरु भएको दशैं बजारले स्थानीय व्यापार प्रवर्द्धनमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ ।





