जनकपुरधाम- धनुषाको धनौजी गाउँपालिकामा २३३ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको छ ।
गाउँपालिका अध्यक्ष राजकुमार साहको प्रमुख आतिथ्यमा बिहीबार गाउँपालिका–३ अन्तर्गत साविक झोझी कटैया गाविसका वडा नम्बर १ देखि ९ सम्मका जग्गाधनीलाई प्रमाणपुर्जा वितरण गरिएको हो ।



लामो समयदेखि जग्गाधनी प्रमाणपुर्जाको प्रतीक्षामा रहेका स्थानीयले पुर्जा प्राप्त गरेसँगै आफ्नो जग्गाको कानुनी स्वामित्व सुनिश्चित गर्ने अवसर पाएका छन् ।
सम्बन्धित क्षेत्रको जग्गा २०७२ सालमा नापी गरिएको थियो । नापी भएको करिब ११ वर्षपछि जग्गाधनी प्रमाणपुर्जा प्राप्त भएपछि स्थानीय बासिन्दालाई आफ्नो सम्पत्तिको स्वामित्वसम्बन्धी प्रमाण सुरक्षित राख्न तथा आवश्यक कानुनी र प्रशासनिक कामकाज गर्न सहज हुने विश्वास गरिएको छ ।
पुर्जा वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष साहले जग्गाधनी प्रमाणपुर्जा सम्पत्तिको कानुनी स्वामित्व सुनिश्चित गर्ने महत्त्वपूर्ण आधार भएको उल्लेख गर्दै स्थानीयलाई आफ्नो जग्गाको स्वामित्वसम्बन्धी अधिकार सुरक्षित राख्न आग्रह गरेका थिए ।
यसैगरी, नापी कार्यालय धनुषाका प्रमुख उमेश कुमारले योग्य जग्गाधनीसम्म प्रमाणपुर्जा पुर्याउने उद्देश्यले वितरण प्रक्रियालाई व्यवस्थित र प्रभावकारी बनाइएको बताए । उनले जग्गाधनी प्रमाणपुर्जाले स्थानीयको सम्पत्तिमाथिको कानुनी अधिकार सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे ।
धनौजी गाउँपालिका–३ अन्तर्गत साविक झोझी कटैया गाविसका वडा नम्बर १ देखि ९ सम्मका २३३ परिवारलाई प्रमाणपुर्जा वितरण गरिएसँगै स्थानीयको लामो समयदेखिको प्रतीक्षा पूरा भएको छ ।




