दिवेश कुमार महतो
ढल्केवर (धनुषा) ।धनुषाको ढल्केवरमा युवालाई डिजिटल सुरक्षा, गलत सूचनाको पहिचान तथा कानुनी व्यवस्थाबारे सचेत गराउने उद्देश्यले आयोजित एकदिने डिजिटल सुरक्षा तथा कानुनी साक्षरतासम्बन्धी कार्यक्रम आइतबार सम्पन्न भएको छ ।



हाम्रो युवा क्लब ढल्केवरको आयोजनामा मिथिला चिया पञ्चायत होटल एन्ड क्याफेमा सम्पन्न कार्यक्रममा मिथिला नगरपालिकाका १८ देखि २५ वर्ष उमेर समूहका ३५ जना युवा तथा विद्यार्थीको सहभागिता थियो । क्लबका अध्यक्ष दीपेश कुमार सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन समाजसेवी राजलाल महतोले गर्नुभएको थियो ।

कार्यक्रमको पहिलो सत्रमा लियो विकास साहले मिथ्या सूचना, भ्रामक समाचार तथा गलत सूचनाको पहिचान गर्ने र त्यस्ता सामग्रीबाट बच्ने उपायबारे प्रशिक्षण दिनुभयो । उहाँले डिजिटल माध्यमबाट प्रवाह हुने सूचनाको सत्यता जाँच गरेर मात्रै विश्वास गर्ने र अरूलाई साझा गर्ने विषयमा जोड दिनुभयो ।

त्यसैगरी, दोस्रो सत्रमा विपुल कुमार कुशवाहाले डिजिटल गोपनीयता र सुरक्षासम्बन्धी प्रस्तुति दिनुभयो । उहाँले अनलाइन गतिविधिमा व्यक्तिगत विवरणको सुरक्षा, गोपनीयता कायम गर्ने उपाय तथा डिजिटल माध्यम प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीबारे जानकारी गराउनुभयो ।
कार्यक्रमको तेस्रो सत्रमा कानुनका विद्यार्थी दिवेश कुमार महतोले कानुनी साक्षरताबारे प्रशिक्षण दिनुभयो । उहाँले गोपनीयताको हक, सहमतिसम्बन्धी कानुनी मापदण्ड तथा प्रावधान, जबर्जस्ती करणी र लागुऔषध दुर्व्यसनसम्बन्धी नेपालको कानुनी व्यवस्थाबारे सहभागीलाई जानकारी गराउनुभयो ।

दसैँ–तिहारको बिदालाई सदुपयोग गर्दै युवामा डिजिटल सुरक्षा र कानुनी चेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि समाजसेवी महतोले जेनजी पुस्ताका युवालाई वर्तमान समयअनुसार सचेत, शिक्षित र प्रविधिमैत्री बनाउन आवश्यक रहेको बताउनुभयो । डिजिटल सुरक्षा तथा साक्षरताबारे युवालाई जानकारी गराउने उद्देश्यले आयोजित कार्यक्रममा सहयोग गर्न पाउँदा खुसी लागेको उहाँको भनाइ थियो ।
कार्यक्रममा सहभागी अतिथिहरूले युवालाई गलत गतिविधिबाट टाढा रहन तथा समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने कार्यमा सक्रिय हुन आग्रह गर्नुभयो ।

कार्यक्रममा मिथिला नगरपालिका–६ का वडाध्यक्ष नन्दकिशोर यादव, हिमालय युवा क्लब नक्टाझिजका पूर्वअध्यक्ष अरुण कुमार महतो, लियो क्लब अफ काठमाडौं क्यापिटलकी अध्यक्ष अञ्जली कुशवाहा, लियो क्लब अफ मिथिला आदर्शका अध्यक्ष धर्मेन्द्र कुमार महतो, लियो क्लब अफ भक्तपुर दिवेश्वरी लयर्सका मेम्बरशिप चेयरपर्सन रुपेश यादव, लियो रजनीश सिंह राजपुत, लियो पूजा साह तथा सामाजिक अभियन्ता रविन्द्र महतोसहित स्थानीय युवा तथा विद्यार्थीको सहभागिता थियो ।
कार्यक्रममा सहभागी सबै युवालाई प्रमाणपत्र प्रदान गरिएको थियो भने कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने व्यक्तिहरूलाई आयोजक समितिले सम्मान गरेको थियो ।

हाम्रो युवा क्लब ढल्केवरको आयोजनामा सम्पन्न कार्यक्रमलाई लियो क्लब अफ मिथिला आदर्श, लियो क्लब अफ काठमाडौं क्यापिटल र लियो क्लब अफ भक्तपुर दिवेश्वरी लयर्सले सहजीकरण गरेका थिए ।




