महोत्तरी – सर्लाहीको सदरमुकाम मलंगवास्थित भूमि प्रशासन कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारी एक कर्मचारीलाई घुस रकमसहित पक्राउ गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटिएको टोलीले बुधबार बिहान करिब १० बजे भूमि प्रशासन कार्यालयको प्रशासन शाखाअन्तर्गत मोही फाँटमा कार्यरत नायब सुब्बा निर्मल तिमल्सिनालाई नियन्त्रणमा लिएको हो । लालबन्दी निवासी तिमल्सिनालाई सेवाग्राहीबाट लिएको भनिएको एक लाख रुपैयाँ घुस रकमसहित पक्राउ गरिएको बताइएको छ ।



प्राप्त जानकारीअनुसार ईश्वरपुर नगरपालिका–६, बयलबासस्थित जग्गाको मोही नामसारी तथा मोही बाँडफाँटसम्बन्धी काम सहजीकरण गरिदिने प्रयोजनका लागि उनले सेवाग्राहीसँग घुस मागेको आरोप छ । सोही सूचनाका आधारमा अख्तियारको टोलीले कार्यालयमा छापा मारेर उनलाई नियन्त्रणमा लिएको जनाइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासका सूचना अधिकारी श्रीप्रकाश पोखरेलले घटनाको पुष्टि गर्दै पक्राउ परेका कर्मचारीमाथि थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।
घटनापछि अख्तियारको टोलीले आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको छ । पक्राउ परेका कर्मचारीमाथि लागेको आरोपबारे अनुसन्धानपछि थप तथ्य सार्वजनिक हुने जनाइएको छ ।




