महोत्तरी- महोत्तरीको बलवा नगरपालिकामा नेकपा (एमाले) वडा नं. ११ वडा कमिटीद्वारा आयोजित शुभ दीपावली तथा छठ पर्वको शुभकामना आदान–प्रदान एवं पार्टी प्रवेश कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
मधेश प्रदेशका पूर्वमुख्यमन्त्री तथा महोत्तरी निर्वाचन क्षेत्र नं. ४ (क) का प्रदेशसभा सदस्य सरोजकुमार यादवको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा हजारौँ नेता तथा कार्यकर्ताको सहभागिता रहेको आयोजकले जनाएको छ।



कार्यक्रममा सहभागी नेता तथा कार्यकर्ताले एकापसमा शुभ दीपावली तथा छठ पर्वको शुभकामना आदान–प्रदान गर्दै पर्वको धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्त्वबारे चर्चा गरेका थिए। सो अवसरमा पार्टीको संगठन विस्तार, आन्तरिक एकता, जनतासँगको सम्बन्ध सुदृढीकरण तथा आगामी राजनीतिक गतिविधिका विषयमा समेत विचारविमर्श गरिएको थियो।
कार्यक्रमका क्रममा विभिन्न राजनीतिक तथा सामाजिक पृष्ठभूमिका व्यक्तिहरूले नेकपा (एमाले) मा प्रवेश गरेको जनाइएको छ। नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गर्दै आयोजकले उनीहरूको प्रवेशले पार्टी संगठनलाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।
कार्यक्रममा हजारौँ नेता तथा कार्यकर्ताको उत्साहजनक उपस्थितिले बलवा क्षेत्रमा पार्टीप्रतिको आकर्षण, संगठनात्मक सक्रियता र राजनीतिक उत्साहलाई प्रतिबिम्बित गरेको आयोजकको भनाइ छ।
शुभकामना आदान–प्रदानसँगै नयाँ सदस्यलाई पार्टीमा स्वागत गर्ने उद्देश्यले आयोजित कार्यक्रमले स्थानीय तहमा पार्टीको संगठन विस्तार र आपसी सद्भाव अभिवृद्धिमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।




