काठमाडौँ – नेपाली कांग्रेसले सरकारले आफ्नो असफलता र विरोधाभास लुकाउन विपक्षी दलविरुद्ध प्रायोजित षड्यन्त्र सुरु गरेको बताएको छ । वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै राज्य संयन्त्रको दुरुपयोग गरेर प्रहरी हिरासतबाटै अडियो लिक गराएको गम्भीर आरोप लगाए ।
शर्माले कांग्रेसको विशेष तथा १५औँ महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै बाहिर ल्याइएका कुराहरू ‘सरकारका तर्फबाट नियोजित र प्रायोजित भ्रम’ मात्र भएको दाबी गरे।



प्रहरी हिरासतमा रहेका व्यक्तिको बयान बाहिरिएको विषयमा आपत्ति जनाउँदै वरिष्ठ उपसभापति शर्माले भने, ‘एक जना बिचौलियाले प्रहरी बयानको क्रममा बोलेको अडियो कसरी बाहिर आयो ? के त्यसरी बयान लिक गर्न मिल्छ ? विचौलियाको मोबाइल प्रहरीले कब्जा गरेपछि प्रधानमन्त्रीको सल्लाहकार समूहमा पुगेको विषय सार्वजनिक भएको छ, यो कुन विधि र मर्यादाभित्र पर्छ ?’
उनले सरकार र सत्तारूढ दलबिचमै कुनै मतैक्यता नरहेको भन्दै व्यङ्ग्य गरे, ‘सरकार भन्छ पार्टीको निर्देशन छ, पार्टी भन्छ हामीले कुनै निर्देशन दिएका छैनौँ। सत्ता सञ्चालकहरूकै बोली बाझिनुले उनीहरूको बदनियत प्रस्ट पार्छ।’
शर्माले पार्टी नेतृत्वका बारेमा उठाइने हरेक प्रश्नको सामना गर्न कांग्रेस तयार रहेको स्पष्ट पारे। ‘हामी निष्पक्ष, विधिसम्मत र विश्वसनीय छानबिन होस् भन्ने चाहन्छौँ। सरकारले किस्ता–किस्तामा प्रायोजित धारणा बाहिर ल्याएर चरित्रहत्या गर्न खोज्दैछ, अनुसन्धानले तथ्य प्रमाणित गर्नुपर्छ,’ उनले भने।
उनले कांग्रेसको विशेष महाधिवेशन पार्टी विधान, राजनीतिक दल सम्बन्धी ऐन र संविधानअनुसार सम्पन्न भएको तथा निर्वाचन आयोग र सर्वोच्च अदालतबाट समेत वैधानिकता पाइसकेको स्मरण गराए । ७ हजारभन्दा बढी प्रतिनिधिको सहभागितामा सम्पन्न १५औँ महाधिवेशनलाई विवादित बनाउने प्रयास निर्वाचन आयोग र अदालतको समेत अवहेलना भएको उनको जिकिर थियो।
सञ्चारगृहको गेटमा गाडी तेर्स्याइएको र कांग्रेस सभापति गगन थापाको घर अगाडिसमेत अज्ञात गाडी राखिएर त्रास फैलाउन खोजिएको घटनाप्रति आपत्ति जनाउँदै उनले प्रेस स्वतन्त्रतामाथि धावा नबोल्न सरकारलाई सचेत गराए।
जर्मन पास्टर मार्टिन निमोलरको प्रसिद्ध भनाइ उद्धृत गर्दै शर्माले पत्रकारहरूलाई प्रश्न गरे, ‘के तपाईंहरू आज सुरक्षित हुनुहुन्छ ? मिडियाको मुख थुनेर र विपक्षीलाई तर्साएर लोकतन्त्र बाँच्दैन। लोकतन्त्र चुनावले मात्र होइन, प्रेसले कति निर्भयतापूर्वक लेख्न पाउँछ भन्ने आधारमा नापिन्छ।’
मुलुक बाढी–पहिरोको ठूलो विपद्बाट गुज्रिरहेको र १४ सयभन्दा बढी नागरिकले ज्यान गुमाएको अवस्थामा सरकार पुनर्निर्माण र राहत छाडेर राजनीतिक प्रतिशोधमा लागेको उनले बताए।
‘बाढीपीडितलाई महिनाको १५ हजार भाडा दिने भनेको पैसा अझै पुगेको छैन। अगाडि कोप–२९ सम्मेलन छ, हिमाल पग्लिरहेको छ, यसबारे राष्ट्रिय बहस गर्नुपर्ने बेला सरकार सिंहदरबारको पटाङ्गिनीमा बसेर प्रहरी परिचालन, अडियो लिक र विपक्षी विरुद्ध अफवाह फैलाउन व्यस्त छ,’ शर्माले भने ।
शर्माले कांग्रेस जिम्मेवार र रचनात्मक प्रतिपक्षको भूमिकामा रहेको स्पष्ट पार्दै सरकारलाई ५ वर्ष ढुक्कसँग काम गर्न वातावरण बनाउन तयार भए पनि सरकारका गलत क्रियाकलाप र अधिनायकवादी शैलीविरुद्ध निरन्तर आवाज उठाउने चेतावनी दिए।




