तिथिको घटबढका कारण यस वर्ष कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको छ। आज बिहान कुकुरको पूजा र साँझ धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरिँदै छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार कात्तिक कृष्ण चतुर्दशी र औँसीको पर्व एकैदिन परेकाले यस्तो अवस्था आएको हो।
कात्तिक कृष्ण चतुर्दशीका दिन मनाइने कुकुर तिहारमा कुकुरलाई विशेष सम्मान गर्दै मनपर्ने परिकार खुवाउने धार्मिक परम्परा छ। यमराजका द्वारपाल श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो खुला गरिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतम बताउनुहुन्छ। महाभारतको कथामा युधिष्ठिरको स्वर्ग यात्रामा समेत कुकुरले साथ दिएको प्रसङ्ग उल्लेख छ। कुकुरलाई आज्ञापालक, सुरक्षामा भरपर्दो र मानिसको हितैषी जनावरका रूपमा पनि सम्मान गर्ने चलन छ।



आजको दिनलाई नरक चतुर्दशीसमेत भनिन्छ। यस दिन बिहानै नदी, तलाउ तथा तीर्थस्थलमा स्नान र तर्पण गरी दक्षिणतर्फ फर्काएर यमदीप बगाउने धार्मिक परम्परा छ। यसो गर्दा मृत्युपछि नरक जानु नपर्ने धार्मिक विश्वास रहिआएको छ।
आज साँझ घरघरमा धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरिन्छ। लक्ष्मीपूजाका लागि घरआँगन सफा गरी गाईको गोबर र रातोमाटोले लिपपोत गर्ने तथा मूलढोकादेखि पूजाकोठासम्म चामलको पीठो र अबिरले लक्ष्मीका पाइला बनाउने परम्परा छ। यसरी घरमा लक्ष्मीको आगमन हुने धार्मिक विश्वास छ।
लक्ष्मीपूजाका अवसरमा घर, आँगन, झ्यालढोका तथा व्यापारिक प्रतिष्ठानमा दीप प्रज्ज्वलन गरी झिलिमिली बनाइन्छ। पछिल्लो समय मैनबत्ती र विद्युतीय बत्तीको प्रयोग बढे पनि तेलको दियो बाल्नु वैदिक परम्परा भएको धर्मशास्त्रविद् गौतम बताउनुहुन्छ।
लक्ष्मीपूजापछि कन्या तथा छोरीचेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गर्ने र दक्षिणा दिने चलन छ। त्यस्तै, मध्यरातमा घरका महिलाले नाङ्लो ठटाउँदै अलक्ष्मीलाई बिदा गरी लक्ष्मी र धनधान्यको आगमनको कामना गर्ने परम्परासमेत छ।
लक्ष्मीपूजाको साँझ युवतीहरू समूह बनाएर भैलो खेल्ने परम्परा छ। भगवान् विष्णुले राजा बलिलाई दिएको वरदानको स्मरणमा भैलो खेल्ने धार्मिक मान्यता छ। भैलो खेल्न आउने समूहलाई धान, चामल, फूलमाला, पैसा तथा रोटी दिने चलन छ। यस्तो दानबाट पुण्य प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ।
यस वर्ष तिथिको घटबढका कारण तिहारका अन्य पर्वको मिति पनि निर्धारण गरिएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार कात्तिक २३ गते सोमबार गाईपूजा, २४ गते मंगलबार गोरुपूजा, हलितिहार, गोवर्धनपूजा, बलिपूजा तथा आत्म (म्ह) पूजा परेको छ।
यमपञ्चकको अन्तिम तथा महत्त्वपूर्ण पर्व भाइटीका कात्तिक २५ गते बुधबार परेको छ। समितिले भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ७ मिनेटका लागि निर्धारण गरेको जनाएको छ।




