महोत्तरी – दसैँ र दीपावलीको उल्लासमय वातावरण सकिएसँगै तराई–मधेशमा अर्को प्रमुख पर्व छठको रौनक सुरु भएको छ। करिब एक महिनाको अवधिमा दसैँ, दीपावली र छठ गरी तीनवटा प्रमुख पर्व मनाउने परम्परा रहेको मधेशमा अहिले छठी माताको स्वागत र पूजाको तयारी तीव्र बनेको छ। घरघरमा छठ पर्वको तयारी भइरहँदा नदी, पोखरी तथा जलाशय किनारका घाटहरूमा पनि सरसफाइ, व्यवस्थापन र सजावटका काम सुरु भएका छन्।
श्रद्धा, निष्ठा र पवित्रताको प्रतीकका रूपमा मनाइने छठ पर्व तराई–मधेशको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व हो। सूर्यदेव र छठी माताको आराधना गरिने यस पर्वले धार्मिक आस्थासँगै पारिवारिक एकता, सामाजिक सद्भाव र आपसी भाइचाराको सन्देशसमेत दिने गरेको छ।




पर्व नजिकिएसँगै महोत्तरीको औरही नगरपालिकासहित तराई–मधेशका विभिन्न स्थानमा छठ घाटको सरसफाइ तथा व्यवस्थापनका कामले गति लिएका छन्। औरही नगरपालिका–२ स्थित श्री प्रसाद सिंह नमुना माध्यमिक विद्यालयको पछाडि रहेको पोखरी, वडा नं. १ भएर बग्ने जङ्गहा नदी, औरही बजारस्थित महादेव पोखरी तथा औरही गाउँको पूर्वतर्फ रहेको पोखरीमा छठ पर्वका अवसरमा विशेष चहलपहल हुने गर्छ।

यी जलाशय तथा पोखरीका किनारमा अहिले सरसफाइ, पण्डाल निर्माण, बत्ती जडान र सजावटका काम सुरु भएका छन्। घाटलाई व्यवस्थित र आकर्षक बनाउन स्थानीय युवा, विभिन्न समिति तथा सर्वसाधारण सक्रिय भएका छन्। कतिपय स्थानमा घाटको सजावट र व्यवस्थापनलाई विशेष आकर्षक बनाउने होडसमेत चल्ने गरेको छ।
छठ पर्व मनाउन आफ्नो थातथलो फर्किनेहरूको क्रम पनि बढ्न थालेको छ। रोजगारी, अध्ययन तथा अन्य प्रयोजनले घर र देशबाहिर रहेका मानिस पर्व मनाउन गाउँ फर्किन थालेपछि गाउँघरमा उत्साह थपिएको छ। पारिवारिक भेटघाट र पुनर्मिलनको अवसरका रूपमा समेत स्थापित छठले सामाजिक सम्बन्धलाई थप बलियो बनाउने गरेको छ।

पर्वको तयारीसँगै बजारमा पनि किनमेलको चहलपहल बढ्न थालेको छ। छठ पूजाका लागि आवश्यक फलफूल, बाँसबाट निर्मित सामग्री, नयाँ लत्ताकपडा तथा अन्य पूजासामग्री खरिद गर्नेहरूको सङ्ख्या बढ्दै गएको छ। औरही बजार, गाउँघरका हाटबजार तथा स्थानीय पसलहरूमा छठका सामग्रीको किनमेल सुरु भएको छ।
स्थानीय पुनम देवी यादवले छठ पर्वका लागि आवश्यक पूजासामग्रीको जोहो गर्न सर्वसाधारणले बजारमा किनमेल सुरु गरिसकेको बताउनुभयो। उहाँका अनुसार पर्वका लागि आवश्यक सामग्री समयमै जुटाउने उद्देश्यले घरपरिवारले किनमेल र तयारीलाई प्राथमिकता दिन थालेका छन्।
औरही नगरपालिका–२ का घनश्याम यादवले छठ पर्वले सामाजिक सद्भाव, पारिवारिक एकता र आपसी भाइचाराको सन्देश दिने बताउनुभयो। रोजगारी तथा अध्ययनका सिलसिलामा बाहिर रहेका मानिस पर्व मनाउन घर फर्किने क्रम बढेसँगै गाउँघरमा छुट्टै उत्साह देखिएको उहाँले बताउनुभयो।

पर्वका अवसरमा घाटमा श्रद्धालुको भीड बढ्ने भएकाले सरसफाइ, खानेपानी, प्रकाश र सुरक्षाको उचित प्रबन्ध मिलाउन सम्बन्धित निकायले ध्यान दिनुपर्ने उहाँको सुझाव छ।
त्यस्तै, औरही नगरपालिका–१ निवासी तथा पूर्व औरही उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्रवण चौधरीले छठ पर्वले धार्मिक तथा सांस्कृतिक महत्त्वका साथै स्थानीय अर्थतन्त्रलाई समेत चलायमान बनाउने बताउनुभयो। पर्वका बेला फलफूल, पूजासामग्री, बाँसबाट निर्मित सामग्री र लत्ताकपडाको माग बढ्ने भएकाले स्थानीय व्यापारी तथा व्यवसायीलाई कारोबार विस्तार गर्ने अवसर प्राप्त हुने उहाँको भनाइ छ।
घाटको व्यवस्थापन र पर्वलाई व्यवस्थित रूपमा सम्पन्न गर्न स्थानीय तह, व्यवसायी, युवा तथा सर्वसाधारणबीच सहकार्य आवश्यक रहेको उहाँले बताउनुभयो।

औरही नगरपालिका–१ निवासी पूजा कुमारी चौधरीले छठ पर्व महिलाको आस्था, श्रद्धा र निष्ठासँग जोडिएको महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व भएको बताउनुभयो। शुद्धता र पवित्रतालाई विशेष महत्त्व दिँदै सूर्यदेव र छठी माताको पूजा–आराधना गर्ने परम्परा रहेको उहाँले उल्लेख गर्नुभयो। छठले परिवारका सदस्यलाई एकै ठाउँमा भेला गराउनुका साथै समाजमा आपसी सद्भाव, एकता र सहयोगको भावना विकास गर्ने उहाँको भनाइ छ।
बाँसका सामग्री बनाउन कारीगरलाई भ्याइनभ्याइ
छठ पर्व नजिकिएसँगै पुस्तौँदेखि बाँसका सामग्री निर्माण गर्दै आएका डोम समुदायका परिवारलाई पनि अहिले भ्याइनभ्याइ भएको छ। छठ पूजामा प्रयोग हुने छिटी, नाङ्लो, ढाकीलगायतका सामग्री बनाउन उक्त समुदायका कारीगर व्यस्त भएका छन्।
बाँसका चोयाबाट परम्परागत सीप प्रयोग गरी विभिन्न सामग्री निर्माण गर्दै आएका डोम समुदायका परिवारका लागि छठ पर्व आम्दानीको महत्वपूर्ण अवसरसमेत बन्ने गरेको छ। पर्वका बेला यस्ता सामग्रीको माग बढ्ने भएकाले कारीगरलाई उत्पादन बिक्री गर्न सहज हुने गरेको छ।

पुर्खौंदेखि हस्तान्तरण हुँदै आएको बाँसका सामग्री निर्माण गर्ने सीप र पेसा छठ पर्वसँग अभिन्न रूपमा जोडिएको छ। आधुनिक सामग्रीको प्रयोग बढ्दै गए पनि छठमा परम्परागत बाँसका सामग्रीको धार्मिक तथा सांस्कृतिक महत्त्व कायमै छ। यसले डोम समुदायको पुख्र्यौली पेसा र परम्परागत सीपको संरक्षणमा समेत योगदान पुर्याउँदै आएको छ।
धार्मिक आस्था, सामाजिक सद्भाव, पारिवारिक पुनर्मिलन र स्थानीय अर्थतन्त्रसँग जोडिएको छठ पर्वले तराई–मधेशको मौलिक संस्कृति झल्काउने गरेको छ। घाटको सरसफाइदेखि बजारको किनमेल र परम्परागत सामग्री निर्माणसम्मका गतिविधि बढेसँगै अहिले औरहीसहित सिंगो तराई–मधेश छठमय बन्न थालेको छ।





