औरही(महोत्तरी) – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छठ पर्वको अवसरमा महोत्तरी निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत रामगोपालपुर नगरपालिकामा शुभकामना आदान–प्रदान तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ।
पार्टीका जिल्ला सभापति शुभम् कुमार यादवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा विभिन्न राजनीतिक दल तथा अन्य क्षेत्रसँग आबद्ध व्यक्तिहरू रास्वपामा प्रवेश गरेको आयोजकले जनाएको छ।



महोत्तरी क्षेत्र नं. ४ मा पार्टी संगठन विस्तार तथा नयाँ सदस्यलाई आबद्ध गराउने अभियानलाई तीव्रता दिइएको छ। हिजो मंगलबार सोनमा गाउँपालिका–६ मा पार्टी प्रवेश कार्यक्रम आयोजना गरिएको थियो भने त्यसको निरन्तरतास्वरूप आज बुधबार रामगोपालपुर नगरपालिकामा शुभकामना आदान–प्रदान तथा पार्टी प्रवेश कार्यक्रम गरिएको हो।

रास्वपाका जिल्ला सभापति शुभम् कुमार यादव र सोनमा गाउँपालिका अध्यक्ष डा. अशोक कुमार यादवको सक्रियतामा निर्वाचन क्षेत्र नं. ४ मा संगठन विस्तार तथा पार्टी प्रवेशका कार्यक्रम सञ्चालन हुँदै आएका छन्।
कार्यक्रममा सहभागीहरूको उत्साहजनक उपस्थितिले यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति आकर्षण बढ्दै गएको आयोजक पक्षको दाबी छ। पार्टीले आगामी दिनमा पनि संगठन विस्तार, जनसम्पर्क तथा राजनीतिक गतिविधिलाई निरन्तरता दिने जनाएको छ।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने तथा सहभागी हुने सम्पूर्ण नेता, कार्यकर्ता, शुभेच्छुक र पार्टी समर्थकप्रति आयोजकले आभार व्यक्त गरेको छ।




