धनुषा। मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिनुभएको छ। प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्ने अवस्था नरहेको निष्कर्षसहित उहाँले आजैदेखि लागू हुने गरी पदबाट राजीनामा दिनुभएको हो।
प्रदेशसभामा विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले वर्तमान राजनीतिक समीकरण र संसदीय अंकगणितका आधारमा आफ्नो नेतृत्वको सरकारलाई निरन्तरता दिन सम्भव नरहेको बताउनुभयो।



सरकारलाई आवश्यक बहुमत जुटाउन विभिन्न राजनीतिक दलसँग प्रयास र संवाद गरे पनि प्रदेशसभाको अंकगणित आफ्नो पक्षमा नरहेको उल्लेख गर्दै उहाँले पदमा रहिरहनुभन्दा राजीनामा दिनु उपयुक्त ठानेको बताउनुभयो।
१०३ सदस्यीय मधेश प्रदेशसभामा सरकार गठन तथा निरन्तरताका लागि कम्तीमा ५२ जना प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ। तर, मुख्यमन्त्री यादव नेतृत्वको सरकारमा नेपाली कांग्रेसका २२ जना सांसद मात्रै रहेकाले बहुमतका लागि थप ३० जना सांसदको समर्थन आवश्यक थियो।
यसअघि सरकारमा सहभागी नेकपा (एमाले) का चार जना मन्त्रीले गत असोज २५ गते सामूहिक राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए। त्यसैगरी नेपाली कम्युनिस्ट पार्टीका चार जना मन्त्रीले पनि कात्तिक २० गते राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए।
दुई प्रमुख सहयोगी दलले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको सरकार जोगाउन मुख्यमन्त्री यादवले विभिन्न राजनीतिक दलसँग छलफल र संवाद अघि बढाउनुभएको थियो। तर, बहुमत जुटाउने प्रयास सफल हुन नसकेपछि उहाँले राजीनामा दिनुभएको हो।
मुख्यमन्त्री यादवको राजीनामासँगै मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूबीच सत्ता समीकरण र सहकार्यको प्रक्रिया अघि बढ्ने देखिएको छ।




