महोत्तरी – चार दिनसम्म विधिपूर्वक मनाइने लोकआस्थाको महापर्व छठ सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेसँगै सम्पन्न भएको छ।
तराई–मधेशका महोत्तरी,धनुषा,सिरहा,सप्तरी,सर्लाही,रौतहट,बारा,पर्सा,मोरङ र सुनसरीलगायत मिथिलाञ्चलका विभिन्न जिल्लासहित देशभरका नदी, पोखरी, तलाउ तथा जलाशयमा हजारौँ व्रती र श्रद्धालु भक्तजनले सूर्यको उपासना गर्दै अर्घ्य अर्पण गरेका छन्।सूर्य उपासनाको विशिष्ट परम्पराका रूपमा रहेको छठ पर्व धार्मिक आस्था, निष्ठा, शुद्धता र सामाजिक सद्भावको प्रतीक मानिन्छ।




पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगमुक्ति तथा मनोकामना पूर्तिको कामनासहित श्रद्धालु भक्तजनले यो पर्व मनाउने गरेका छन्। छठका अवसरमा विभिन्न जलाशय तथा छठघाटमा व्रती र दर्शनार्थीको उल्लेख्य भीड लागेको थियो।चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन शुक्रबार व्रतीले ‘नहाय–खाय’ विधि सम्पन्न गरेका थिए। यस दिन स्नान गरी शुद्ध भोजन ग्रहण गर्दै पर्वको सुरुआत गरिएको थियो। दोस्रो दिन शनिबार ‘खरना’ विधि मनाइएको थियो। खरनाका दिन व्रतीले दिनभर निराहार व्रत बसेर साँझ कुलदेवता तथा छठीमाताको पूजा आराधना गरी प्रसाद ग्रहण गरेका थिए।

पर्वको तेस्रो दिन आइतबार षष्ठी तिथिका अवसरमा व्रतीले अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य अर्पण गरेका थिए। घरमै शुद्धतापूर्वक तयार पारिएका ठेकुवा, भुसवा, खजुरिया, पेरुकियालगायतका परिकार तथा विभिन्न फलफूल, तरकारी र पूजासामग्री बाँसका सुपली, डाली र अन्य सामग्रीमा सजाएर भक्तजन छठघाट पुगेका थिए। जलाशयमा प्रवेश गरी अस्ताउँदो सूर्यको आराधना गर्दै अर्घ्य अर्पण गरिएको थियो।
पर्वको अन्तिम दिन सोमबार बिहानैदेखि व्रती तथा श्रद्धालु भक्तजन छठघाटमा भेला भएका थिए। उदाउँदो सूर्यको प्रतीक्षामा जलाशयमा उभिएर पूजा आराधना गरेका व्रतीले सूर्यदेवलाई अर्घ्य अर्पण गरेपछि चार दिन लामो कठिन व्रत सम्पन्न गरेका हुन्। बिहानको अर्घ्यसँगै व्रतीले प्रसाद ग्रहण गरी परिवारका सदस्य तथा आफन्तजनलाई प्रसाद वितरण गरेका थिए।

छठ पर्वलाई महापर्वका रूपमा लिइनुका पछाडि यसका धार्मिक तथा सामाजिक विशेषता महत्वपूर्ण मानिन्छन्। यो पर्व धार्मिक आस्था र विश्वासमा आधारित भए पनि जात, धर्म, वर्ग, लिङ्ग तथा समुदायबीचको विभेदभन्दा माथि उठेर सामूहिक रूपमा मनाइन्छ। छठघाटमा सबै समुदायका मानिसको सहभागिता रहने भएकाले यसले सामाजिक एकता र सद्भावलाई थप बलियो बनाउने विश्वास गरिन्छ।
यस पर्वमा शुद्धता र अनुशासनलाई विशेष महत्व दिइन्छ। व्रतीले कठोर नियम पालना गर्दै उपवास र उपासनामा समय बिताउने गर्छन्। घरमै शुद्धतापूर्वक प्रसाद तयार पार्ने, प्राकृतिक फलफूल तथा तरकारीको प्रयोग गर्ने र माटो तथा बाँसबाट निर्मित सामग्रीलाई प्राथमिकता दिने परम्पराले प्रकृति र स्थानीय उत्पादनको महत्वसमेत उजागर गरेको छ।

त्यसैगरी, छठ पर्वले जलाशयको सरसफाइ र संरक्षणप्रति समुदायलाई जागरुक बनाउँदै आएको छ। पर्वअघि नदी, पोखरी तथा तलाउका घाट सफा गर्ने, सजाउने र व्यवस्थापन गर्ने कार्यले वातावरणीय स्वच्छता र सामूहिक सहभागिताको सन्देश प्रवाह गर्छ।छठ पर्वका क्रममा सूर्यदेवको पूजा गरिनु यसको अर्को विशिष्ट पक्ष हो। प्रत्यक्ष देखिने प्राकृतिक शक्तिका रूपमा सूर्यलाई जीवन, ऊर्जा र स्वास्थ्यको स्रोत मानी पूजा गर्ने परम्परा यस पर्वमा रहेको छ। अस्ताउँदो र उदाउँदो दुवै सूर्यलाई समान श्रद्धाका साथ अर्घ्य अर्पण गरिनुले प्रकृतिप्रतिको सम्मान र जीवनचक्रको निरन्तरतासमेत झल्काउँछ।
धार्मिक आस्था,कठोर व्रत,शुद्धता,प्रकृतिप्रतिको सम्मान,जलाशय संरक्षण,स्थानीय उत्पादनको प्रवर्द्धन तथा सामाजिक सद्भावका कारण छठ पर्व नेपाली समाजमा विशिष्ट पहिचान बनाउन सफल भएको छ। यही कारण छठलाई तराई–मधेशको सांस्कृतिक पहिचानसँग जोडिएको आस्था,निष्ठा र एकताको महापर्वका रूपमा लिने गरिन्छ।
फोटो फिचर : धर्वेन्द्र कुमार यादव ”यदुवन्शी”शिरीष न्युजकर्मी,महोत्तरी/ ।

































