सुनसरी – सुनसरीको हरिनगर गाउँपालिका–६ स्थित छठ पूजास्थलमा तोडफोड गरेको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हरिनगर गाउँपालिका–६ निवासी १९ वर्षीय रिजवान मन्सुरी र २१ वर्षीय मोहम्मद जाहुर मियाँ रहेका छन् । उनीहरूमाथि स्थानीय ताप्रा अर्ना घाटमा छठ पर्वका लागि निर्माण गरिएको पूजास्थलमा तोडफोड गरेको आरोप लागेको छ ।



जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बिहीबार साँझ करिब ७ः३० बजे साँझको अर्घ्य दिएर व्रतालु तथा श्रद्धालु घर फर्किएपछि पूजास्थलमा तोडफोड भएको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी चन्द्रबहादुर खड्काले घटनामा संलग्न रहेको आरोपमा दुवै जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।
तोडफोडबाट क्षति पुगेको पूजास्थल स्थानीय प्रशासन र प्रहरीको पहलमा पुनर्निर्माण गरी पूर्ववत् अवस्थामा ल्याइएको प्रहरीले जनाएको छ ।
धार्मिक आस्थासँग जोडिएको पूजास्थलमा भएको तोडफोडको घटनापछि स्थानीय क्षेत्रमा चासो बढेको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।




