जनकपुरधाम । नेपालको धार्मिक तथा सांस्कृतिक नगरी जनकपुरधाम र भारतको धार्मिक नगरी अयोध्याबीच सिधा रेल सेवा सञ्चालन हुने भएको छ ।
भारतीय रेल मन्त्रालयले जनकपुरधामदेखि अयोध्या क्यान्टसम्म साप्ताहिक एक्सप्रेस रेल सञ्चालनका लागि स्वीकृति प्रदान गरेको हो ।



भारतको रेल मन्त्रालयले नोभेम्बर १४ मा सार्वजनिक गरेको जानकारीअनुसार रेल सेवा सातामा एक दिन सञ्चालन हुनेछ ।
करिब ६०४ किलोमिटर दूरी तय गर्ने यस रेल सेवाले माता जानकीको जन्मभूमि जनकपुरधाम र भगवान् श्रीरामको जन्मभूमि अयोध्यालाई प्रत्यक्ष रेलमार्गबाट जोड्नेछ ।
स्वीकृत समयतालिकाअनुसार रेल नम्बर १५५९५ प्रत्येक शनिबार दिउँसो १ बजेर १० मिनेटमा जनकपुरधामबाट प्रस्थान गरी आइतबार बिहान ८ बजेर १० मिनेटमा अयोध्या क्यान्ट पुग्नेछ ।
त्यसैगरी, रेल नम्बर १५५९६ प्रत्येक सोमबार साँझ ५ बजेर ५० मिनेटमा अयोध्या क्यान्टबाट प्रस्थान गरी मंगलबार दिउँसो १२ बजेर ४० मिनेटमा जनकपुरधाम आइपुग्नेछ ।
रेलले भारतको बिहार र उत्तर प्रदेशका विभिन्न प्रमुख शहर तथा स्टेसन हुँदै यात्रा गर्नेछ ।
यस क्रममा जयनगर, मधुबनी, शिशो, सीतामढी, रक्सौल, नरकटियागन्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्या धाममा व्यावसायिक बिसौनी रहने भारतीय रेल मन्त्रालयले जनाएको छ ।
जनकपुरधाम र अयोध्या हिन्दू धर्मावलम्बीका लागि विशेष धार्मिक आस्थाका केन्द्र हुन् ।
जनकपुरधामलाई माता सीताको जन्मभूमि तथा अयोध्यालाई भगवान् श्रीरामको जन्मभूमिका रूपमा लिइन्छ । यी दुई धार्मिक नगरीबीच सिधा रेल सम्पर्क स्थापित हुनुले रामायण सर्किटअन्तर्गत धार्मिक पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।
नयाँ रेल सेवाले नेपाल तथा भारतका श्रद्धालु, पर्यटक, विद्यार्थी र सर्वसाधारण यात्रुलाई आवागमनमा सहजता प्रदान गर्नुका साथै सीमावर्ती क्षेत्रको व्यापार, पर्यटन र आर्थिक गतिविधिलाई समेत गति दिने विश्वास गरिएको छ ।




