लक्ष्मी चौधरी
धनुषा । मधेश प्रदेशमा महिला मानव अधिकारका सवालमा काम गर्ने क्रममा विभिन्न सामाजिक, संस्थागत तथा सुरक्षा चुनौतीको सामना गर्नुपरेको एक कार्यक्रमका सहभागीहरूले बताएका छन् ।



महिला मानव अधिकार रक्षक सञ्जाल र महिला पुनर्स्थापना केन्द्र (ओरेक), मधेश प्रदेशको संयुक्त आयोजनामा शुक्रबार जनकपुरधाममा आयोजित लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत ‘मधेश प्रदेशमा लैङ्गिक हिंसाको अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले यस्तो बताएका हुन् ।
कार्यक्रममा महिला मानव अधिकार रक्षक सञ्जालकी सदस्य ममता भट्टले महिला हिंसाविरुद्ध काम गर्ने क्रममा अधिकारकर्मी तथा पीडित महिलाले भोग्नुपरेका समस्या र चुनौतीलाई गम्भीरतापूर्वक लिनुपर्ने बताउनुभयो । महिला अधिकारका पक्षमा आवाज उठाउने व्यक्तिहरूलाई समाज र सम्बन्धित निकायबाट पर्याप्त साथ तथा सहयोग आवश्यक रहेको उहाँको भनाइ थियो ।
त्यस्तै, बाराबाट सहभागी सञ्जालकी सदस्य वविता जैसवालले महिला अधिकारका क्षेत्रमा काम गर्दा विभिन्न सामाजिक अवरोध र असहयोगको सामना गर्नुपरेको बताउनुभयो । हिंसापीडित महिलालाई न्याय दिलाउने प्रक्रियामा सहजीकरण गर्दा समेत चुनौती झेल्नुपर्ने अवस्था रहेको उहाँले उल्लेख गर्नुभयो ।
कार्यक्रममा सञ्जालकी राष्ट्रिय अध्यक्ष श्यामकुमारी साहले महिला मानव अधिकार रक्षकहरूले कार्यक्षेत्रमा भोग्नुपरेका समस्या, जोखिम तथा चुनौतीबारे प्रस्तुतीकरण गर्नुभएको थियो । उहाँले महिला हिंसाविरुद्ध काम गर्ने क्रममा अधिकारकर्मीहरूले सामना गर्नुपरेका विभिन्न कठिनाइबारे जानकारी गराउनुभयो ।
ओरेककी कार्यकारी निर्देशक रेखा श्रेष्ठ शर्माले मधेश प्रदेशमा महिला हिंसाको अवस्थाबारे चर्चा गर्दै अन्य प्रदेशको तुलनामा मधेशमा महिला हिंसाका घटना बढी रहेको बताउनुभयो । महिला हिंसा न्यूनीकरणका लागि कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयनसँगै सामाजिक सोच र व्यवहारमा परिवर्तन आवश्यक रहेको उहाँले जोड दिनुभयो ।
खेलकुद तथा समाज कल्याण मन्त्रालय, मधेश प्रदेशका निमित्त सचिव सुशीलकुमार साह तेलीले प्रदेशमा महिला हिंसाको अवस्थालाई मध्यनजर गर्दै मन्त्रालयले आगामी दिनमा सञ्चालन गर्ने कार्यक्रमलाई प्रभावकारी बनाउन योजनाबद्ध रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । महिला हिंसा न्यूनीकरणका लागि आवश्यक योजना निर्माण गरी कार्यान्वयन गरिने उहाँले बताउनुभयो ।
अन्तरक्रियामा महिला हिंसाको वर्तमान अवस्था, महिला मानव अधिकार रक्षकहरूले भोगिरहेका चुनौती तथा हिंसा न्यूनीकरणमा सम्बन्धित निकाय र सरोकारवालाको भूमिकाबारे छलफल गरिएको थियो । सहभागीहरूले अभियानलाई प्रभावकारी बनाउन स्थानीय तह, प्रहरी प्रशासन, नागरिक समाज तथा अधिकारकर्मीबीच सहकार्य र समन्वय आवश्यक रहेकोमा जोड दिएका थिए ।
ओरेक मधेश प्रदेशकी संयोजक विना सिंहले सहजीकरण गर्नुभएको कार्यक्रम सञ्जाल मधेश प्रदेशकी अध्यक्ष अधिवक्ता रेखा झाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साह, जिल्ला समन्वय समिति धनुषाका सभापति राजनन्दन मण्डल, मधेश प्रदेश प्रहरी तथा जिल्ला प्रहरीका प्रतिनिधि, प्रदेशका आठवटै जिल्लाका महिला मानव अधिकार रक्षक सञ्जालका अध्यक्ष तथा सदस्य र महिला मानव अधिकारका क्षेत्रमा कार्यरत विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
यसैबीच, लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको पूर्वसन्ध्यामा धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा महिला मानव अधिकार रक्षक तथा ओरेकका कर्मचारीमाथि भएको आक्रमणको सञ्जालले भर्त्सना गरेको छ । घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गर्न माग गर्दै प्रदेशका आठवटै जिल्लाका अध्यक्ष तथा सदस्यहरूको संयुक्त हस्ताक्षरसहितको विज्ञप्तिसमेत जारी गरिएको थियो ।




