धर्वेन्द्र झा
मधेश आमसञ्चार प्राधिकरणका निवर्तमान अध्यक्ष एवं सप्तरीका पत्रकार श्यामसुन्दर यादव रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि बडो दिक्दार अवस्थामा छन्। त्रिशूली नजिकैको बेत्रावतीमा डेरा गरी बसिरहेका उनका भाइ ३६ वर्षीय इन्जिनियर अजय (सप्तरीको विष्णुपुर गाउँपालिका–१, खुरहुरियावासी) बाढीपछि सम्पर्कमा छैनन्।



नुवाकोटको उत्तरगया–५ स्थित नीलकण्ठमा कार्यरत भाइ अजयको खोजीमा निकै भौंतारिएका श्यामले कतैबाट पनि सन्तोषजनक जवाफ पाएनन्। यो सन्दर्भ श्याम र अजय दाजुभाइको मात्र होइन। सप्तरीका मात्र ४८ परिवार यतिखेर आँसुको भेलमा डुबेका छन्। तराई/मधेशका थुप्रै परिवारको कथाव्यथा अहिले यस्तै छ।
भदौ १० को बिहान भोटेकोशी हुँदै त्रिशूली र नारायणीमा आएको प्रलयकारी भीषण बाढीको असर प्रत्यक्ष प्रभावित क्षेत्र रसुवा, नुवाकोट र धादिङ जिल्लासम्म मात्र सीमित रहेन; प्रत्यक्ष/अप्रत्यक्ष यसको प्रभाव सम्पूर्ण नेपाल र विश्वका थुप्रै देशसम्म अनुभूत गरियो। बाढीमा परेर नेपाली सहित २६ देशका पर्यटक समस्यामा परे। कतिको मृत्यु भयो, कति बेपत्ता भए— स्पष्ट तथ्याङ्क कसैसँग छैन। जो भेटिए, तिनीहरू पनि अत्यन्त सकसपूर्ण अवस्थामा थिए। भेटिएकाले आफूलाई भाग्यमानी ठाने।
हिमालमा बाढी, मधेशमा पीडा
माथि चर्चा गरिए जस्तै बाढीको असर धेरै ठाउँमा धेरै प्रकारले पर्यो। कहालीलाग्दो बाढीबाट अत्यधिक प्रभावित हुने क्षेत्रमा मधेश पनि पर्यो। त्यसो त भौगोलिक रूपमा मधेश र बाढीको मूल प्रभावित क्षेत्रको प्रत्यक्ष सामाजिक साइनो देखिंदैन। दुवै भूगोल बीचको दूरी पनि निकै छ; तर हिमाली क्षेत्र रसुवामा निम्तिएको कहरका कारण मधेशमा पनि थुप्रैका आँखा रसाए। कति भक्कानिए। कतिको आँखा त अझै ओभाएको छैन।
बाढीको कहरपछि धेरै घरमा निभेको चुलो अझै बल्न सकेको छैन। हिमालमा लागेको घाउको पीडा मधेशमा बल्झिएको छ।
जातीय, क्षेत्रीय, सम्प्रदायका आधारमा राजनीतिको रोटी सेक्न बानी परेकाहरूले त विगतमा आपसमा दूरी बढाउने प्रयास गरेकै हुन्। भूगोल र भाषाका आधारमा विभाजनको मनस्थितिको निर्माणमा सघाएकै हुन्। आफ्ना निहित स्वार्थसामु राष्ट्रिय भावनाको लिलामी गरेकै हुन्। तर तिनले के सोचेनन् भने हिमालको पानी आखिर जान्छ कहाँ ? जलवायु परिवर्तनको प्रभाव पर्छ कहाँ ? हिमालमा बनेका हिमताल, हिमनदीको उपद्रवको मार पर्छ कहाँ ?
निश्चय पनि यी प्रश्नको उत्तर कुनै खास भूगोल, खास समाज र समुदाय, कुनै खास वर्ग र भाषासँग मात्र सम्बन्धित छैन।
त्यसो नहुँदो हो त पत्रकार श्यामका आँखा किन ओभानो हुन सकेनन् ? मधेशमा निभेका अँगेनाहरू पुनः बल्न किन यति धेरै ढिला भयो ? त्यहाँका आमाका काख किन रित्तिए ? सिउँदो किन पुछिए ? अनि रक्षाबन्धनका लागि दाजुभाइको प्रतीक्षामा रहेका दिदीबहिनीको हाँसो किन सधैंका लागि हरायो ? किन ? उत्तर त एउटै छ— देश त हामी सबैको हो। देशको भूगोल त साझा हो नि !
बेहिसाब क्षति
रसुवाको बाढी आएको तेस्रो दिन अर्थात् भदौ १२ का दिन म र पत्रकार भाइ दीपक आचार्य मोटरसाइकलमा नुवाकोट गएका थियौं। मोटरसाइकल दीपकले चलाएका थिए। हामीले ककनीको बाटो रोजेका थियौं। त्यसो त त्यस दिनसम्म नदीमा पानीको बहाव कम भइसकेको थियो, तर मनमा एक किसिमको अत्यास बाँकी नै थियो। त्यसैले हामीले तुलनात्मक रूपमा खोला कम भएको बाटो रोज्यौं। दीपक पनि विराटनगरका हुन्। यस अर्थमा उनले पनि मधेश बुझेका छन् भन्ने मेरो ठम्याइ हो।
जानकारहरूका अनुसार यो प्रलयबाट ७४८ मेगावाट जलविद्युत् उत्पादन प्रभावित हुन पुगेको छ। दर्जनौं पुल ध्वस्त भएका छन्। सयौं किलोमिटर सडक टुटेको छ। आधा घण्टाभित्र त्रिशूली नदीको जलसतह ९ मिटर बढेको दाबी गर्ने गरिएको छ। के यसको प्रभाव प्रभावित क्षेत्रसम्म मात्र सीमित छ ? निश्चय पनि मधेशलाई पनि दु:खेको छ।
मधेशका थुप्रै व्यक्ति यस क्षेत्रमा रोजगारका सन्दर्भमा उपस्थित थिए र छन्। प्रहरीका अनुसार बाढीमा आइतबार (भदौ १४) सम्म परी १६२ जना सम्पर्कविहीन भएको जानकारी छ। विभिन्न व्यापार, व्यवसायका अतिरिक्त शिक्षण र विभिन्न कार्यालयमा कर्मचारीका रूपमा क्रियाशील मधेशका बासिन्दाका लागि महत्त्वपूर्ण रोजगारको केन्द्रका रूपमा परिचित छ यो क्षेत्र। यति मात्र होइन, यी क्षेत्रमा निर्मित र निर्माणाधीन अनेकौं जलविद्युत् आयोजनामा इन्जिनियर, प्राविधिक, कर्मचारी र मजदुरका रूपमा मधेशवासी क्रियाशील थिए।
यस्तै एक जना इन्जिनियर हुन्, श्यामका भाइ अजय। यस क्षेत्रमा अजय जस्तै मधेशका अनेकौं इन्जिनियर कार्यरत रहेको जानकारी हामीले प्राप्त गरेका थियौं।
सञ्चारकर्मी र सञ्चार संस्था प्रभावित
हामी नुवाकोटको विदुर पुग्दा करीब ११ बजेको थियो। एक दिन पहिला अर्थात् ११ गते स्थानीय पत्रकारहरू बाबुराम लामिछाने, शिव देवकोटा र ध्रुव रावलसँग सम्पर्क भएको थियो। मैले केही जानकारी प्राप्त गरेको थिएँ। नुवाकोट जाँदा तिनैबाट प्राप्त जानकारी सहयोगीसिद्ध भएको थियो।
त्यहाँ पुगेर जानकारी प्राप्त भयो— स्थानीय सञ्चारमाध्यम प्रायः सबैजसो प्रभावित भएका रहेछन्। स्थानीय रेडियो त सबैजसो प्रभावित थिए। एक जना स्थानीय पत्रकार राजकुमार नेपाली पनि बेपत्ता रहेछन्। यसका अतिरिक्त अन्य सञ्चारकर्मीहरू टेकबहादुर थामी, शेखर ढुङ्गाना (दम्पती), केशव न्यौपाने, सुरेश सिम्खडा लगायत पनि हालसम्म नभेटिएको थाहा पाउँदा साह्रै नरमाइलो लाग्यो। यीमध्ये अधिकांशसँग मेरो व्यक्तिगत सम्पर्क छ।
स्थानीय पत्रकार बाबुरामसँगको कुराकानीपछि थाहा भयो— गाउँमा रहेको उनको खेतबारी पनि बाढीले बगाएछ। त्यस्तै पत्रकार निराजन र विद्या राजपुतका अभिभावक, पत्रकार लोग्सरी कुँवरका आफन्त पनि सम्पर्कमा नरहेको र पत्रकार किरण अधिकारीको घर र कार्यालय बगाएको जानकारी मेरा लागि हृदयविदारक थियो। मैले र दीपकले त्यहाँ औपचारिक रूपमा कसैलाई भेट्ने जमर्को गरेनौं। नढाँटी भन्दा यति जानकारी पाएपछि कसैलाई भेट्ने र कुराकानी गर्ने आँट आएन।
भाइ खोज्दै श्याम
बट्टारस्थित नम्बर १ सैन्य तालिम केन्द्र ‘मैथली ब्यारेक’ को सामुन्ने निकै भीडभाड देखिएको थियो। आफन्त हराएकाहरू तिनको खोजीमा त्यहाँ एकत्रित थिए। ब्यारेकको सामुन्ने टाँसिएका सूचनापाटीमा नाम हेर्न तँछाडमछाड चलिरहेको थियो। कुनै पनि हेलिकोप्टर ब्यारेक आउँदा त्यहाँ हेर्नेको भीड लाग्ने गरेको हामीले देख्यौं। हराएका आफन्तका बारेमा जानकारी प्राप्त गर्ने भरोसाको एकमात्र स्थान बनेको त्यो ब्यारेकमै भेटिएका थिए श्याम।
उनका अनुसार भाइको कुनै अत्तोपत्तो छैन। उनले भने, ‘बेत्रावती क्षेत्रमा बसोबास गर्ने अजयसँग १० गते बिहान करीब साढे ७ बजेतिर फोनमा कुरा भएको थियो। त्यसको केहीबेरपछि त बाढीले ताण्डव देखाइहाल्यो।’
उनका अनुसार पछि १०–१२ किलोमिटरको ‘रेन्ज’ मा उनको फोनको लोकेसन देखिएको थियो। ‘त्यसपछिको लोकेसन पाइएन’, श्याम भक्कानिए। हामीसँग सान्त्वनाका शब्द थिएनन्। उनले भने, ‘भाइ मात्र होइन, यहाँ मधेशका धेरै जना कार्यरत थिए, धेरै हराइरहेका छन्। खोजी कार्यबाट हामीले सन्तोष मान्न सक्ने अवस्था छैन।’
उनले आफ्नो घरको दुःखद् अवस्थाको बेलीविस्तार लगाउँदै भाइको खोजीमा सहयोगका लागि अपिल गरेका छन्। उनले भने, ‘बिन्ती छ दाइ, मेरो भाइको खोजी गर्न सहयोग गर्नुस्!’
यस्तै अपिल सामाजिक सञ्जाल मार्फत धनुषाको कमला नगरपालिकाकी पूजा साहको पनि छ। बाढी प्रभावित क्षेत्रको मैलुङमा कार्यरत ३० वर्षीय इन्जिनियर पति अजय सिंह पनि बाढीपछि सम्पर्कमा छैनन्। उनको आरोप छ— उनका पति भएको क्षेत्रमा उद्धार टोली गएकै छैन। त्यहाँ उनका पतिसँगै थुप्रै व्यक्ति हराइरहेका छन्, जो शायद राहत–उद्धारको प्रतीक्षामा छन्। अजय समेत धनुषाका ६ जना अझै बेपत्ता छन्।
नुवाकोटमा मिथिला र मैथली
बट्टारमा म आकर्षित भएको अर्को सन्दर्भ थियो मैथली ब्यारेक। म मैथिलीभाषी र यहाँ ‘मैथली ब्यारेक’ ! जिज्ञासा जाग्यो— मिथिला र यो मैथली बीच कुनै सम्बन्ध त छैन ? खोजीनिती गर्दै जाँदा केही सम्बन्ध रहेको जानकारी प्राप्त भयो। खासमा यो स्थान विगतमा ‘मैथिलटार’ भनेर चिनिंदो रहेछ।
इतिहासमा एउटा सन्दर्भ छ— ठूलो अनिकाल लागेर जनता मर्न थालेपछि भक्तपुरका राजालाई सपनामा इष्टदेवताले मिथिला क्षेत्रका ब्राह्मण ल्याएर महायज्ञ गरे सहकाल हुने बताएछन्। सोही बमोजिम राजाले मिथिला क्षेत्रबाट झा र मिश्र पण्डित झिकाएर महायज्ञ लगाएपछि इष्टदेवताले भने जस्तै भएको मानिन्छ (हिमालखबर)। राजाले खुशी भएर भक्तपुरमै बस्न आग्रह गर्दा ती ब्राह्मणले आफूहरू माछा र आँप खाने ठाउँका भएकाले भक्तपुरको हावापानी सुहाउँदो नभएको बताए। त्यसपछि उनीहरूका लागि माछा, आँप र सुहाउँदो हावापानी भएको ठाउँ खोज्दा नुवाकोटमा फेला पर्यो।
यसरी त्यसबेला उपत्यकाका राजाहरूको अधीनमा रहेको नुवाकोटको एउटा गाउँमा मैथिलहरूको बसोबास शुरु भएको विश्वास गरिन्छ। प्रचलित लोकोक्ति अनुसार तिनै मैथिल बस्ने ठाउँ कालान्तरमा मैथिलटार बनेको यो ठाउँ अहिले विदुर नगरपालिका–३ र ४ मा पर्छ, जहाँ मैथली भगवतीको मन्दिर छ। मन्दिरनजिकैको खोलाको नाम पनि मैथली नै हो।
करिब तीन सय रोपनी क्षेत्रफलको मैथिलटारमा अहिले झा र मिश्रका सन्तानको बसोबास छैन। नुवाकोट विदुरस्थित पृथ्वी माध्यमिक विद्यालयका शिक्षक बाबुराम लामिछानेका अनुसार यस क्षेत्रको थप अनुसन्धान आवश्यक छ। मिथिला र मैथली मिलेकाले यी दुवै बीच केही सम्बन्ध पक्कै हुन सक्छ। इतिहास खोतल्नुपर्छ।
स्थानीय पत्रकार शिव देवकोटा स्थानीय बुद्धिजीवी धननारायण चित्रकारको भनाइ उल्लेख गर्दै नुवाकोटको मैथिलटारमा करिब ४०० वर्षअघि मैथिल ब्राह्मणहरूको बसोबास रहेको आफूहरूले सुनेको बताए। स्थानीय जानकारका अनुसार सरकारले २०१९ सालमा उक्त स्थानमा सेनाको ब्यारेक राखेको हो। अहिले यहाँ नेपाली सेनाको तालिम केन्द्र छ, जसलाई मैथली ब्यारेक भनिन्छ।
मिडियाको भूमिका के ?
हामी काठमाडौं फर्किंदा साँझको करिब ६ बजिसकेको थियो। हामी बाटाभरि अन्यमनस्क भावमा थियौं। दीपक र म बीच धेरै कुरा पनि भएन। विचार र अभिव्यक्तिमाथि शायद भावना, भावुकताको कब्जा भइसकेको थियो। यति कुरा त हो, रसुवा बाढीको प्रभाव रसुवा, नुवाकोट र धादिङसम्म मात्र सीमित छैन। भोटेकोशीको पानी तराई/मधेशमा आँसु बनेर उर्लेको छ। अन्यत्रको पनि अवस्था यस्तै होला।
हामीले बाटोमा एउटा विषयमा भने एकछिन कुरा गरेका थियौं— यस्तोमा मिडिया र पत्रकारले कस्तो र कसरी भूमिका निर्वाह गर्ने ? हामीले नुवाकोटको फिल्डमा देख्यौं— त्यहाँ त स्वदेशीभन्दा विदेशी मिडिया पो बढी थिए। केही नेपाली पत्रकार ‘फिक्सर’ को भूमिकामा भए जस्तो लाग्यो। त्यहाँ रहेका मिडियाका लागि त्यो घटना मानवता जगेर्नाको अवसर थियो कि बिक्रीयोग्य समाचार खोज्ने उद्देश्य बढी थियो ? सञ्चारकर्म अन्तर्गत सन्देश महत्त्वपूर्ण हो कि ‘टीआरपी’ र ‘भ्युज’ को गणना ?
यस्ता अनेक सन्दर्भ र प्रश्न थिए, जसको स्पष्ट जवाफ हामीसँग थिएन। दीपक र म आ–आफ्नो निवास फर्कियौं। आज जनैपूर्णिमा र रक्षाबन्धन थियो, तर मनमा खासै उल्लास र उत्साह थिएन।
मधेशमा मौनता
भोलिपल्ट अर्थात् १३ गते मैले एकपटक मधेश जाने निर्णय पनि गरें। बिहान दक्षिणकालीको बाटो भएर हेटौंडा–हरिहरपुरगढी, महेन्द्रझाडी, मरिन, सिन्धुली बजारहुँदै बर्दिवास पुग्दा दिउँसोको करिब ३ बजिसकेको थियो। मैले त्यहाँ नेपाल पत्रकार महासङ्घ सर्लाहीका अध्यक्ष भाञ्जा ओमप्रकाश ठाकुरसँग सम्पर्क गरें। उनी मोटरसाइकल लिएर आए। हामी अब उनको गाउँ पिपरिया गइरहेका थियौं।
नवलपुरबाट करिब १२ किलोमिटर गएर त्यहाँबाट झन्डै तीन किलोमिटरको दूरीमा छ पिपरिया। ओमप्रकाशका अनुसार सर्लाहीका १६ जना सम्पर्कविहीन छन्, ती सबै परिवार शोकमा डुबेको छ। उनी भन्दै थिए, ‘स्थानीय प्रशासनमाथि खोजीका लागि निकै ठूलो दबाब छ।’
१३ गतेको रात मैले पिपरियामै बिताएँ। भोलिपल्ट बिहान उनले मलाई पथलैयासम्म छाडिदिए।
बाटामा चिया खान हामी केही स्थानमा रोकिएका थियौं। लाग्यो, मधेशमा मौनता छ। जहाँ पनि बाढीभन्दा अन्य गफ थिएन। चर्चाको विषय थियो— बाढी आएको जिल्लातिर कार्यरत मधेशवासी। चर्चा थियो— ती मधेशीहरू एक्लै थिएनन्, कतिपयसँग त परिवारका सदस्य पनि उतै थिए। चिया पसलका प्रश्न थिए— मधेशका कति धेरै मानिस रहेछन् है त्यता ? मधेशका मानिसले त्यता रोजगार त राम्रै पाएका रहेछन्।
केहीको स्वीकारोक्ति थियो। कोही भन्दैथिए— ‘अब पनि पहाड र मधेश भनेर हुन्छ ? जमाना कहाँबाट कहाँ पुगिसक्यो, जसले जहाँ काम पाउँछ, त्यहीं गर्ने हो नि!’
सामाजिक र सांस्कृतिक निकटता
यात्राका क्रममा महोत्तरीको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठका उपप्राध्यापक जितेन्द्र झासँग सम्पर्क भएको थियो। मैले बाढीपछिको मधेशका सन्दर्भमा केही जानकारी लिन चाहेको थिएँ। उनले मलाई सामान्य जानकारी दिए। उनका अनुसार महोत्तरीका १० जना सम्पर्क बाहिर छन्।
मेरो प्रश्नको जवाफमा उनले भनेका थिए, ‘यस पटकको बाढीमा परेर ज्यान गुमाउनेले त गुमाइहाले, बेपत्ता हुने भइहाले; निश्चय पनि त्यो दुःखद् हो। तर, एउटा कुरातर्फ भने सोच्न बाध्य बनाएको छ— हामी सामाजिक–सांस्कृतिक रूपमा विस्तारै नजिक भइरहेका रहेछौं। यसपटक रसुवा हिमालको पीडा मधेशलाई नराम्ररी दु:खेको छ।’
सप्तरीका अग्रज पत्रकार मुरलीप्रसाद यादवको भनाइ पनि त्यस्तै रह्यो। उनले भने, ‘अहिले थाहा भयो, रसुवा र नुवाकोटमा त मधेश पनि बाँचेको रहेछ।’
रसुवाको बाढी र त्यहाँको भूगोलसँग मधेशका मानिस मात्र जोडिएका छैनन्। कतिपयका अनुसार बाढीले ल्याएर थुपारेका सामग्रीमा मधेश झल्किने सामग्री पनि छन्। बीबीसी हिन्दी सेवाले प्रसारण गरेको एउटा मर्मस्पर्शी भिडियो रिपोर्टमा त्रिशूलीको बगरमा मिल्किएको मिथिला पेन्टिङको एउटा फ्रेम पनि देखाइएको छ। उपप्राध्यापक झाका अनुसार त्यो पेन्टिङ कि त कुनै मिथिलावासीले यहाँ ल्याएका थिए कि त कसैले मिथिला क्षेत्रबाट उपहार प्राप्त गरेका थिए।
उनले भने, ‘जेसुकै होस्, यो क्षेत्र र मिथिलाको सम्बन्ध त रहेछ नि!’
झा पत्रकार महासंघ र राससका पूर्वअध्यक्ष हुन् ।
अनलाइन खबरबाट




