
जनकपुरधाम - जनकपुरधाम उपमहानगरपालिकाको नव निर्मित प्रशासनिक भवनको आज उद्घाटन गरिएको छ ।
कुल साढे ८ करोडमा निर्माण गरिएको यस नव निर्मित भवनको नगरप्रमुख लालकिशोर साह तथा उपप्रमुख रिता कुमारी मिश्रले संयुक्त रुपमा आज उक्त प्रशासनिक भवनको उद्घाटन गरेका हुन् ।
अहिले उपमहानगरपालिकाले विभिन्न छुट्टाछुट्टै भवनबाट सेवाहरु प्रदान गर्दै आएकोमा भवनको निर्माण पश्चात अब देखि सबै प्रकारका सेवाहरू नगरवासीलाई एउटै भवनबाट प्राप्त हुने भएको छ ।
नयाँ भवनको निर्माण भएपछि सबै शाखाको कर्मचारीका लागि कोठा पुगेको छ । सुविधा सम्पन्न नयाँ भवनको निर्माणले नगरपालिकाले प्रदान गर्दै आएको सेवा तथा सुविधामा अझै सुधार आउने विश्वास उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले विश्वास व्यक्त गरेका छन् ।
पुराना जीणर् भवनहरू हटाएर सो ठाउँमा पार्कको निर्माण गर्ने कार्यक्रम रहेको नगरपालिकाले जनाएको छ ।
कम लागतमा सम्पन्न भएको सुविधा सम्पन्न भवनको निर्माणले नगरपालिकाका प्राविधिकहरूको सराहना गरिइएको छ ।
नेपाल सरकारको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको ३ करोड तथा जनकपुरधाम उपमहानगरपालिकाको साँढे पाँच करोड गरेर ८ करोड ५० लाखको लागतमा उक्त भवनको निर्माण सम्पन्न भएको हो ।
जनकपुरधाम उपमहानगरपालिका वरिष्ठ इन्जिनियर विरेन्द्र यादवको अनुसार करिब ५ वर्ष लागेर निर्माण भएको यस भवनको भुईँ तल्ला सहित ६ तल्ला र ७१ वटा कोठाहरु रहेको छ । यस नव निर्मित भवनमा महिला तथा पुरुषको लागि छुट्टाछुट्टै ३२ वटा सहित अपाङ्ग मैत्री शौचालय समेत निर्माण गरिइएको इन्जिनियर यादवले जनाएको छ ।
नगरपालिकाको नयाँ प्रशासनिक भवनमा चढ्नका लागि दुई वटा सिँढी निर्माण गरिएको छ भने लिफ्टको निर्माण गरिने कार्य जारी रहेको नगरप्रमुख लालकिशोर साहले जानकारी दिए ।