
जनकपुरधाम- धनुषाकी एसिड पीडित आरती साहले सोमवार जिल्ला अदालत धनुषाले गरेको फैसला प्रति आक्रोस व्यक्त गरेकी छिन् । आरतीले प्रश्न गरेकी छिन् , ‘मेरो ज्यान जाने गरी तथा मलाई कुरुप बनाउने र बिना लाइसेन्स एसिड बेच्ने व्यापारीलाई किन सफाई ?’ बिना लाइसेन्स को एसिड बेच्ने व्यपारी नागेन्द्र साहलाई अदालतले कसरी सफाई दियो ? उनले भनिन्, ‘मेरो यस्तो जिउनु नमर्नुको अवस्थामा पुर्याउने मेरो दोषी मेरो श्रीमान संजिव साह संगसंगै बिना लाईसेन्स एसिडको कारोबार गर्ने व्यापारी नागेन्द्र साह पनि हुन, जस्ले गर्दा म कुरुप भएकी छु । यस्तो अवस्थामा बाचिरहेकी छु । म धनुषा अदालत संग प्रश्न गर्न जाँदै छु ।’ आरतीले यहि भाषामा मलाई फोन गरि जानकारी गराउदै भनिन् । म केही जवाफ दिन सकिन । महिला अधिकारकर्मी गुञ्जा रायले थाहाखबरसंग आरतीले फोनमा गरेकी अदालत प्रतिको गुनासो बारे बताईन् । अधिकारकर्मी रायले भनिन्, ‘अवस्था साँचि नै जटिल र भयावह बन्दै गएको छ, यसरी नै अपराधीहरुले सफाइ पाउँदै जाने हो भने हजारौं आरतीहरुले यो दुर्दशाबाट गुज्रिन बाध्य हुने छन् र भैपनि रहेको छ ।’ सोमवार जिल्ला अदालत धनुषाले जनकपुरकी आरती साहमाथि एसिड आक्रमण गर्ने उनका श्रीमान् सन्जिव साहलाई धनुषा जिल्ला अदालतले दोषी ठहर गर्यो तर बिना अनुमति अनाधिकृत रूपमा एसिड बेच्ने किराना पसल सञ्चालक नागेन्द्र साहलाई भने सफाइ दिएको छ। न्यायाधीश कृष्णमुरारी शिवाकोटीको एकल इजलासले उक्त फैसला गरेको हो। सञ्जिवले जनकपुरधाम उपमहानगरपालिका-४ स्थित स्थानीय नागेन्द्र साहले सञ्चालन गरेको निखिल स्टोर्स किराना पसलबाट एसिड खरिद गरेको र नागेन्द्रले उनलाई बिक्री गरेको भनि दुबै जनाले बयान दिएका थिए। लाइसेन्स र अनुमतिबिनै गैरकानुनी ढंगले नागेन्द्रले एसिड भण्डारण तथा बेचबिखन गरेको प्रहरी अनुसन्धानमा पाइएको थियो। छापा मार्दा उनको पसलबाट बियरको बोतलमा राखेर कार्टुनमा प्याक गरिएको ४८ बोतल र खोलिएको काटुर्नबाट १० वटा गरी ५८ बोतलमा साढे ४३ लिटर एसिड बरामद भएको थियो। सरकारले अध्यादेश मार्फत् फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी ऐन संशोधन गर्दै एसिड आक्रमण विरूद्ध कडा कानुन ल्याएपछि सम्भवतः एसिड आक्रमण सम्बन्धी भएको यो पहिलो फैसला हो। सरकारी सहित वादी र प्रतिवादी दुबै तर्फका वकिलहरूको प्रतिवेदन माग गरिएको र प्रतिवेदनमाथि बहसपश्चात सजाय तोकिने धनुषा जिल्ला अदालतका सूचना अधिकारी गंगा मिश्रले जानकारी दिए। पीडित आरतीका भाइ सञ्जय साहले दिएको जाहेरीको आधारमा गत मंसिर ४ गते जनकपुरधाम उपमहानगरपालिका-२० बस्ने श्रीमान् सञ्जिव साहलाई पक्राउ गरेको थियो। सञ्जयले घटनामा मतियार बनेको भन्दै जनकपुरधाम उपमहानगरपालिका-४का नागेन्द्र साह विरूद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए। साहद्वयमाथि रसायनिक पदार्थ एसिड प्रहार गरी ज्यान मार्ने उद्योग र अंगभंगसम्बन्धी मुद्दा दर्ता भएको थियो। सो मुद्दामा सोमबार सरकारी वकिलको कार्यालयबाट जिल्ला न्यायाधिवक्ता सीताराम अर्याल, जाहेरीवालाको तर्फबाट रिंकुकुमारी यादव र अच्युतम आचार्यले बहस गरेका थिए। त्यस्तै प्रतिवादी नागेन्द्रको तर्फबाट अधिवक्ता सुदीप कोइराला र सञ्जिवको तर्फबाट अरूणकुमार यादवले बहस गरेका थिए। गत कात्तिक २९ गते दिपावली कै दिन जनकपुरधाम उपमहानगरपालिका-७ स्थित ससुरालीमा गएर संजीवले २६ वर्षीया श्रीमती आरती साह र ३ वर्षीया छोरी रियामाथि एसिड प्रहार गरेका थिए । श्रीमान्ले एसिड प्रहारबाट गम्भीर घाइते भएपछि आरतीको जनकपुरमा उपचार हुन नसकि काठमाडौं ल्याएर उपचार गरिएको थियो। आरतीको शरीरको २५ प्रतिशत भाग जलेको थियो। एसिडले आरतीको अनुहारको दायाँ भाग, आँखा, छाती र हात जलेको थियो। छोरी रियाको भने जनकपुरको जानकी हेल्थ केयरमा उपचारपछि डिस्चार्ज गरिएको थियो। आरतीमाथि एसिड प्रहार गरेकै दिन संजीव पक्राउ परेका थिए भने संजिवको बयानको आधारमा एसिड बेच्ने व्यापारीलाई एक हप्ता पछि पक्राउ गरिएको थियो । घटना पश्चात सरकारी वकिलको कार्यालयले जिल्ला अदालत धनुषामा सञ्जिव र एसिड बेच्ने व्यापारी नागेन्द्र साहमाथि १५ वर्ष ६ महिनाको सजाय माग गर्दै अभियोग पत्र दर्ता गराएका थिए । दुबै जना बिरुद्ध अंगभंग, कुरुप र एकीकृत कसुर गरी ३ वटा कसुरको सजायका लागि माग दावी गरिएको थियो । अंगभंगमा ५ वर्ष, कुरुप बनाएकोमा ८ वर्ष र एकिकृत कसुरको थप २ वर्ष ६ महिना सजाय माग गरिएको थियो । यस मुद्दामा यसअघि ६ वटा पेशी भएपनि विभिन्न कारणले स्थगित गरिएको थियो । जिल्ला अदालत धनुषाका सूचना अधिकारी मिश्रले अब सरकारी वकिल तथा कानून व्यवसायीबाट प्रतिवेदन आइसकेपछि सञ्जिवलाई सजायको लागि पेशी हुने बताए । अदालतले दोषी ठहर गरिसकेपछि अब अर्को पेशीमा सजाय तोकिने सूचना अधिकारी मिश्रले जानकारी दिए । ‘सजायको सन्दर्भमा सरकारी वकीलबाट प्रतिवेदन माग गरिएको छ’ उनले भने, ‘त्यो पेश भएपछि सजाय तोकिनेछ ।’ ४ वर्षअघि मात्रै आरतीको जनकपुरधाम उपमहानगरपालिका-२० रुपैठा निवासी संजीवसँग सामाजिक परम्परा अनुसार विवाह भएको थियो । एसिड आक्रमणबाट आरतीको दाहिने आँखा गुम्नुका साथै घाँटी, छाती लगायतका शरीरको आधि अंग जलेर कुरुप बनेका छन् । एसिड आक्रमणमा परी उनकी छोरी रियाको दाहिने हात र टाउकोमा खत बसेको छ । घरायसी विवादका कारण माइतमा बस्दै आएकी आरती माथि सञ्जिवले एसिड प्रहार गरेको आरतीकी आमा सुनिता देवीले बताउनुभयो । तरकारी बेचेर गुजारा चलाउँदै आएकी आरती र सञ्जीव बीच पाँच वर्षअघि विवाह भएको थियो। बिहेको दुई वर्षपछि उनीहरू छुट्टाछुट्टै डेरा लिएर बस्दै आएका थिए। सम्पत्ति लेनदेनका विषयमा दुईजनाबीच झगडा हुँदै आएको थियो। धनुषा जिल्ला अदालतमा उनीहरूबीचको सम्बन्ध विच्छेदको मुद्दा विचाराधीन अवस्थामा छ। सञ्जिव सुनचाँदी बनाउने कालीगढ हुन् भने श्रीमानसँग छुट्टिएर बस्दै आएकी आरती बुवासँगै मिलेर बजारमा तरकारी व्यापार गर्दै आएकी थिइन्। केही वर्षअघि पनि सञ्जिवले मट्टीतेल खन्याएर आगो लगाई आरतीलाई मार्ने प्रयास गरेका थिए । श्रीमान् संजिव साहलाई जिल्ला अदालतले एसिड प्रहार गर्दै ज्यान मार्ने अभिप्राय लिएको भन्दै दोषी ठहर गरेको हो। सम्पत्तिको कुरा नमिलाएको भन्दै उनले अलग बसेकी श्रीमतीलाई डेरामा पुगेर एसिड प्रहार गर्नु अक्षम्य अपराध भएको जिल्ला अदालतको फैसलामा उल्लेख छ।