
अन्य वर्षहरू झैँ यस वर्ष पनि अगस्त १२ का दिन संसारभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ । व्यक्ति, परिवार, समुदाय, राष्ट्र अनि सिङ्गो विश्वकै विकासमा युवाहरूको भूमिकाको महत्वलाई दर्शाउन हरेक वर्ष संसारभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइन्छ । यो दिवसले अन्तर्राष्ट्रिय जगतलाई सकारात्मक दिशातर्फ लैजान युवा सहभागितालाई थप सक्रिय गर्ने नवप्रवर्तनात्मक उपाय तथा हुनसक्ने परिवर्तनलाई पनि उजागर गर्छ ।
सन् २०२१ को युवा दिवसको नारा भने यसप्रकार छ । 'Transforming Food Systems Youth Innovation for Human and Planetary Health' युवाहरूको सीप र कौशललाई केन्द्रमा राख्दै यो वर्ष खाद्यान्न प्रणालीको रुपान्तरण र समग्र पृथ्वीको नै स्वास्थ्यलाई महत्व दिइएको छ । खाद्यान्न सुरक्षा र खाद्यान्न सार्वभौमिकतालाई यस वर्ष महत्व दिइएको छ । नेपालजस्तो कृषि–प्रधान देशमा कृषिको व्यवसायीकरण, कृषिमा युवाहरूको सहभागिता आदि कुराहरूलाई महत्वका साथ हेरिनुपर्ने स्पष्ट देखिन्छ ।
युवा जनसंख्यालाई संसारका कुनै पनि देशले आ–आफ्नै उमेरको परिधिमा राखेको छ, तथापि युवा भनेको मानव जीवनमा अत्यधिक जोश, जाँगर, उत्साह अनि शक्ति भएको उमेर–समूह पनि हो । नेतृत्व गर्न मन लाग्ने, जे पनि गर्न सक्छु जस्तो लाग्ने, उत्साह अनि संवेगसहितको युवा अवस्था शक्ति र सामथ्र्यले भरिपूर्ण अवस्था हो ।
त्यसैले पनि होला, युवाहरूलाई परिवर्तनका संवाहक मानिएको किनभने परिवर्तनका लागि नयाँ सोंच, उर्जा, चेतना, मौलिकता अनि हक्की स्वभाव जस्ता अनेक तत्वहरूका समिश्रण चाहिन्छ र यसका लागि युवा अपरिहार्य छ । युवा अवस्थामा मान्छे पुराना भन्दा नयाँ, परिवर्तनकारी र आन्दोलनात्मक तरिका र कुनै पनि मुद्दाको अन्तिम नतिजा निकाल्ने कुरामा विश्वास राख्छन् । इतिहास साक्षी छ, युवाहरूको सहभागिताविना कुनै पनि आन्दोलन, परिवर्तन, युद्ध अनि विकास भएका छैनन् यसअर्थमा युवाशक्ति भनेको अवसर र सही अर्थमा परिचालन गर्न नसकिएमा चुनौति दुवै हुन् ।
नेपाली गाउँहरूमा आजभोलि पहिलेजस्तो युवाहरूको संख्या बाक्लो देख्न कहाँ पाइन्छ र ! हाम्रा देशका युवाहरू गएका दशकदेखि रोजगारी, अध्ययन तथा सम्भावना खोजीको सिलसिलामा विदेश जाने क्रम झन्–झन् बढेको छ । संसारले युवाको महत्व बुझेर ठूल्ठूला कार्यहरू, विकासका लहरहरू र उर्जायुक्त दिवसहरू आँट्दासम्म पनि नेपालले आफ्ना युवाशक्तिलाई देशभित्रैका विभिन्न सम्भावनायुक्त क्षेत्रहरूमा अझै अटाउन सकेको छैन । हाम्रा युवाहरू मुख्यतः खाडी, कोरिया, जापानका देशमा पसिना बगाइरहँदा यता गाउँमा मलामीसम्मको जनशक्ति हम्मे–हम्मे परेको समाचार विभिन्न सञ्चार माध्यमबाट आएकै हुन् ।
वैदेशिक रोजगारबाट आएका विप्रेषण ‘रेमिट्यान्स’को पैसाले सिमेन्टका सग्ला घर, राम्रा लूगाफाटा, मीठा खाना अनि महँगा टिभी, मोबाइलहरू हात–हातमा देखिए तापनि यसरी सधैं लाहुरे नियतिले जीवन चल्छ त ? देश विकास हुन्छ र ? सोच्नुपर्ने समय आएको छ । दिनहुँजसो बाकसमा बन्द भएर आउने नेपाली युवाका शवहरू अनि तिनमा आश्रित परिवारका आँसुको हिसाब–किताब आजको दिनमा सरकार र सरोकारवाला संयन्त्रसँग माग्ने बेला आएको छ । युवाहरू गहना हुन भने देशको सम्पत्तिलाई विदेशिनु नै नपर्ने वातावरण सृजना होस् । देशमा बढ्दो राजनीतिक सङ्कट, समाजका हरेक अन्तर्वस्तुमा हाबी भइरहने पारम्परिक चिन्तनलाई चिर्न भएपनि हाम्रो देशमा युवाशक्तिको सबैभन्दा बढी आवश्यक छ । पुल–पुलेसा, बाटो–घाटो अनि विभिन्न पुनर्निर्माण तथा विकासका अग्रगामी सोच र त्यो सोचमा भरपर्दो ताकत भरेर देशलाई समृद्ध बनाउन युवाहरूको भुमिका अपरिहार्य छ, ‘हे युवा जय युवा ।’
‘नेतृत्वबाट नयाँ र प्रभावकारी लक्ष्य राखेर दीर्घ विकास गर्ने सोच राख्दा युवाहरूको सहभागिता अन्य समयहरूभन्दा थप महत्वपूर्ण रहन्छ । यस ऐतिहासिक बिन्दुमा म ‘वान कि मूनको सम्बोधन’ संसारका युवाहरूसँगै नेपाली युवाहरूलाई बहुआयामिक विकासका निमित्त मागहरू राखेर आजको आवश्यक्तालाई सम्बोधन गरिदिन आग्रह गर्दछु ।’ वान कि मून संयुक्त राष्ट्र संघ पुर्व महासचिव
यसअर्थमा नेपालमा पनि कार्यक्रमहरू गरिँदै अनि ज्ञापनपत्र र घोषणापत्रहरू मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा बुझाउने चलन छ । युवाहरूले आफ्ना माग र आवश्यक्तालाई सरकार र सरोकारवालाहरूसमक्ष लैजान जागरुक र तदारुकता हुन जरुरी छ । स्वरोजगार ऋण र सीपमूलक शिक्षा प्रणालीजस्ता अवधारणा साकार पार्न नेपाली युवाहरूको जोडदार आवाज उठ्न जरुरी छ । जहाँ आवाज कमजोर भयो बुझे हुन्छ विकास ठप्प भयो । परिवर्तन ठप्प भयो ।
यसकारण पनि परिवर्तनका संवाहक युवाहरूको भूमिका अनन्त छ । युगान्तकारी परिवर्तन र विकासको अभिभारा नेपाली युवाहरूको कुशल काँधमा छ । जय होस् ।