
मंगलबार महोत्तरी जिल्ला अदालतले घटनाका आरोपी सुजिताका देवर रूपेश ठाकुर र बुवा कामेश्वर पाण्डेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।
न्यायाधीश मुकेशकुमार उपाध्यायको इजलासले प्रहरीले अनुसन्धानमा सुजिताको शव ओसारपोसार, गाड्नेदेखि लुकाउनेसम्ममा संलग्न दाबी गरिएको चार जनालाई एक-एक लाख धरौटीमा रिहा गरिएको छ।
जनकपुरधाम उपमहानगरपालिका-१४ कुटीपोखरी बसहिया बस्ने ५५ वर्षीय प्रमोद भनिने विनोद मण्डल, लोहरपट्टी-७ भ्रमरपुरा बस्ने ३७ वर्षीय बण्ठा भन्ने किशोरी मण्डल, ३३ वर्षीय मुल्ला भनिने आदम राइन र ३२ वर्षीय नथुनी मण्डललाई एक-एक लाख धरौटीमा रिहा गरिएको छ।
त्यस्तै, घटना लुकाएको अभियोग लागेकी सुजिताकी नन्द अन्जु ठाकुरलाई १० हजार धरौटीमा रिहा गरिकाे छ। घटनामा संलग्न भनिएका सुजिताका ससुरा पतिराम ठाकुर, सासू र देवरानी अझै फरार छन्।
महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी प्रकाश विष्टका अनुसार जेठ २० गते बिहानै करिब ८ बजे झै-झगडा हुँदा ससुरा पतिराम, देवर रुपेश लगायतका परिवारका व्यक्तिले घाँटी थिचेर सुजिताको हत्या गरेका थिए । हत्या पछि दिनभरि घरमै उनको शव लुकाएर साँझमा ट्याक्टरमा लगेर खेतमा गाडेको अनुसन्धानबाट खुलेको थियो।
शव गाडिएको सम्बन्धमा केहि हल्लाहरु बाहिरन थालेपछि पुन खेतमा शव गाडिएको ठाउँबाट झिकेर उनिहरुले आफ्नो पेट्राेलपम्प नजिकै निर्माणाधिन शाैचालयको सेफ्टी ट्यांकीमा शव गाडेर माथिबाट ढलान गरेका थिए ।