
काठमाडौं - भारत सरकारले नेपालका बाढी प्रभावितहरूका लागि आठ करोड रूपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण गरेको छ।
शुक्रबार एक कार्यक्रमको आयोजना गरी नेपालका बाढी प्रभावितहरूका लागि भारत सरकारले नेपाल भारत महिला मैत्री समाज र प्राज्ञिक विद्यार्थी परिषद्मार्फत् आठ करोड रूपैयाँ बराबरको राहत सामग्री हस्तान्त्रण गरेको हो।

भारतीय राजदूतावासकी मिसन उप–प्रमुख नामग्या खम्पाले नेपाल भारत महिला मैत्री समाजकी अध्यक्ष चन्दा चौधरी र प्राज्ञिक विद्यार्थी परिषद्का अध्यक्ष नारायण ढकाललाई बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूका लागि वितरण गर्न लागिएको टेन्ट, प्लास्टिक सिट, स्लिपिङ्ग म्याट र औषधिहरू हस्तान्तरण गरेकी हुन्।
सहयोग हस्तान्तरण गर्दै मिसन उप–प्रमुख खम्पाले राहत वितरण गर्न पाउँदा खुशी लागेको बताइन्। नेपाल र भारतले बाढी व्यवस्थापनको क्षेत्रमा दशकौँदेखि सहकार्य गर्दै आएको उल्लेख गर्दै उनले यस सहयोगले बाढी प्रभावित स्थानीय जनताको कठिनाइमा सुधार हुने विश्वास व्यक्त गरिन्।

समाजकी अध्यक्ष चौधरीले भारत सरकारले बाढी प्रभावितका लागि उपलब्ध गराएको राहत सामग्री प्रदेश २ का पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीमा र लुम्बिनी प्रदेशको रूपन्देही जिल्लाका बाढी प्रभावितहरूका लागि मंगलबारदेखि वितरण गरिने जानकारी दिइन्।
प्राज्ञिक विद्यार्थी परिषद्का अध्यक्ष नारायण ढकालले गोरखा, मनाङ, सिन्धुपाल्चोक, रसुवा, दोलखा र धादिङ जिल्लाका बाढी तथा पहिरो पीडितका लागि राहत सामग्री वितरण गर्ने बताए।