
महोत्तरी- विगत पाच वर्ष देखि माटोको ढिस्कोले पुरिएर अशक्त भएकि मन्जु कुमारी ठाकुर दैनिक कृयाकलाप आफै गर्न सक्ने भएकि छिन ।
ओरेक नेपालको सहयोगमा स्पाईनलकर्ड ईन्ज्युरी हस्पिटल बनेपामा चार महिना पुनस्र्थापनाको तालिम लिएपछि उनी आफ्नो दैनिक कृयाकलाप आफै गर्न सक्षम भएकि हुन । तर यति हुदाहुदैपनि पुनः पहिलाकै अवस्थामा पुग्ने सम्भावना समेत देखिएको छ । उनको परिवारको आर्थिक अवस्था दयनिय हुदा छानो चुहिने घर,उनी ह्विल चेयरमै घरबाट निस्कन सक्ने भौतिक संरचना अभावले तालिम प्राप्त मन्जु पुनः पाच वर्ष देखि वस्दै आएको खाटमै थन्किन बाध्य भएकि छिन ।

ओरेक नेपाल महोत्तरी कि कार्यक्रम अधिकृत लिला दियाली सहित संचारकर्मीहरु मन्जुको घर पुग्दा उनी सोहि ओछ्यानमा पल्टिएकि भेटिईन । चारैतिरबाट हावा र प्रकाश समेत नछिर्ने अन्धकारमय छानो चुहिने घरमा भेटेकि मन्जु करिव सात महिना पहिले तालिम प्राप्त गरेर फर्केपछि हालसम्म भौतिक संरचनाकै कारण आफुले प्रयोग गर्ने ह्विल चेयरमा पुनः वस्न पाएकि थिईनन । उनको कोठाबाट विभिन्न व्यक्तिले सहयोग गरेर ह्विल चेयरमा वसाईदिएपछि वल्ल उनले खुल्ला आकाश र प्रकाश देख्न पाईन । तर वितेको वर्षायाममा आकाशबाट झरेको पानीले निक्कै सास्ती भोगेकि उनी अझै अन्ध्यारो कोठामा वस्न बाध्य हुनु परेको छ ।

उनी भन्छिन,“मेरो जिवनमा मसंगै दुःख साट्ने जिवनसाथी त म पाउदिन तर जहिलेसम्म आमाको साथ छ,बाच्ने पनि आश छ । म आफै आफु र मेरो आमाको समेत हेरचाह गर्न सक्ने भएपनि मसंग कुनै व्यवसाय गर्न आर्थिक अभाव हुदा अझै परनिर्भर बनेर बस्नु परेको छ । बुवाको रक्सीको बानी र बेला बेला मलाई र आमालाई समेत कुटपिट गर्ने व्यवहारले हामी आजित भैसकेका छौ । मलाई आत्मनिर्भर बन्न सहयोग गर्न तपाईहरुको साथ चाहिन्छ । म एउटा सानो किराना पसल वा चिया पसल वा अन्य कुनै सानो तिनो व्यवसाय गर्न चाहन्छु । ”
को हुन मन्जु ? जलेश्वर नगरपालिका वडा नं. १२ नैन्ही निवासी २० वर्षिया मन्जु कुमारी ठाकुर पाच वर्ष पहिले माटोको ढिस्कोले पुरिदा त्यही वेला उनको मेरुदण्ड विक्षिप्त भएपछि उनको कम्मरमुनीको अंग चलेको छैन ।

उनी सोहि वेला देखि अन्ध्यारो कोठामा कष्टकर जिवन जिउन बाध्य छिन । विभिन्न संघ संस्था र व्यक्तिहरुको सहयोग पछि उनको उपचारको प्रयास गरिएपनि अस्पतालले निको हुन नसक्ने बताएछि उनलाई दैनिक कृयाकलाप गर्न सहज होस भन्दै चार महिना दैनिक कामकाज गर्न सक्ने पुनस्र्थापन तालिम दिइएको थियो ।