सप्तरी - सप्तरीका छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर एकै दिन तीन जनाको ज्यान गएकाे छ ।
खडक नगरपालिका तथा महादेवा र तिलाठी-कोइलाडी गाउँपालिकामा एक/एक जनाको डुबर ज्यान गएको हो ।
खडक नगरपालिका-८ मुसहरिनयाँमा तीन वर्षीया बालिकाको पोखरीमा डुबेर ज्यान गएको हो । स्थानीय राजेशकुमार चौधरीकी छोरी एलिजाकुमारी चौधरीको घर नजिकै रहेको पोखरीमा नुहाउने क्रममा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ ।
पोखरीमा डुबिरहेको अवस्थामा उनलाई काका रामकुमार चौधरीले निकालेर उपचारका लागि लैजाँदै गर्दा बाटो मै निधन भएको हो ।
त्यसैगरी महादेवा गाउँपालिका-४ परसाही टोलकी एक युवतीको पोखरी मै डुबेर ज्यान गएको छ ।
सार्वजनिक पोखरीमा भाडा माझ्न गएकी ३० वर्षीया लक्षनकुमारी सदाको पोखरीमा लडेर ज्यान गएको हो । अविवाहित रहेकी उनलाई छारे रोग थियो । पानीमा अचानक लडेकी उनको डुबेर ज्यान गएको प्रहरीले जनाएको छ ।
यस्तै, तिलाठी कोइलाडी गाउँपालिकामा एक बालिकाको नहरमा डुबेर ज्यान गएको छ । गाउँपालिकाको वडा नम्बर २ लौनियाकी १२ वर्षीया सबना खातुन घर नजिकैको नहरमा कपडा धुने क्रममा पानीमा डुबेकी थिइन् । त्यही क्रममा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको र तीनै जनाको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।