
पर्वत : मुलुकी अपराध संहिता, २०७४ ले सहमति नै भए पनि १८ वर्ष भन्दा कम उमेरकी किशोरीसँग राखिने यौन सम्बन्धलाई बलात्कार भनेको छ। यस्तै युवतीको उमेर २० वर्ष पूरा नहुँदै विवाह गरेमा त्यसलाई बाल विवाह भनेको छ। जसलाई फौजदारी कसुर पनि भनिन्छ।
सहमतिमै यौन सम्बन्ध राखेको भए पनि त्यसको उजुरी परेमा त्यो किशोरका विरुद्धमा बलात्कारकै मुद्दा चल्छ भने २० वर्ष भन्दा सानो उमेरमा विवाह गर्ने-गराउने कार्यमा सम्बन्धित सबैलाई बाल विवाहको मुद्दामा कारबाही गरिन्छ।
यो त भयो नेपालको कानुनी प्रावधानको कुरा। तर हाम्रो समाजमा भइरहेको अभ्यासको कुरालाई हेर्ने भने कानुन छल्दै भइरहेका यस्ता धेरै घटनाहरू छन्, जसले समाजलाई खतराको बाटोमा उन्मुख गराउँदै छ।
पर्वत जिल्ला अस्पतालमा गएको आर्थिक वर्षमा सुत्केरी भएका र गर्भपतन गराएकाहरूको तथ्यांकले पनि यसको पुष्टि गर्दछ। अस्पतालका सूचना अधिकारी लक्ष्मण उपाध्यायका अनुसार गएको आर्थिक वर्षमा पर्वत अस्पतालमा मात्रै कुल तीन सय ८८ जनाले बच्चा जन्माएका छन्। तीमध्येका ३५ जना २० वर्ष भन्दा कम उमेरका किशोरीहरू छन्। यस्तै, सोही एक वर्षको अवधिमा २० वर्षभन्दा मुनिका ५२ जना किशोरीहरूले सुरक्षित गर्भपतन गराएको अस्पतालको तथ्यांकमा छ।
‘यो तथ्यांक पर्वत अस्पतालको मात्रै हो। अहिले गाउँमा रहेका स्वास्थ्य चौकीहरूमा पनि सुत्केरी सेवा उपलब्ध रहेकाले ती स्वास्थ्य संस्थामा पनि २० वर्ष मुनिका किशोरीले बच्चा जन्माएका होलान्’, उपाध्यायले भने, ‘गर्भपतनका लागि आएका वा सुत्केरी भएकाहरूलाई हामीले उहाँहरूको स्वास्थ्यमा आउन सक्ने जोखिमका बारेमा राम्रोसँग बुझाएर पनि पठाउने गरेका छौँ।’
गर्भपतन सेवामा पर्वत अस्पतालको संख्या ५२ रहेको भए पनि आफैले औषधि सेवन गरेर, लाज र डरको कारण जिल्ला बाहिर गएर वा निजी क्लिनिकहरूमा पुगेर समेत गर्भपतन गराउनेहरूको एकीकृत तथ्यांक छैन। जसका कारण जिल्लामा १८-२० वर्षकै उमेरमा अवैध वा वैध गर्भधारण गरेकाहरू तथा आमा बनेकाहरूको तथ्यांक छैन।
‘भयावह अवस्थामा जाँदै छ समाज’
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले पछिल्लो आधुनिकता, खानपान र सञ्चारको दुरुपयोगका कारण समाज भयावह अवस्थामा जाँदै गरेको बताउँछन्।
विभिन्न ठाउँमा भएका आत्महत्या र बलात्कारका घट्नाबारे अनुसन्धान गर्दा सानै उमेरमा कुरे बुझ्ने उमेर नहुँदै गरिएको विवाह र कुरा बुझ्ने भएपछि आउने बेमेलका कारण आत्महत्या बढेको बताउँछन्। त्यस्तै, बलात्कारका घट्नाको विश्लेषण गर्दा सानै उमेरमा दुई पक्षीय सहमतिमा यौन सम्बन्ध राख्ने र बाहिरियो भने कानुन अनुसार बलात्कार भएको ठहरिने उनको भनाई छ।
किशोर किशोरीहरू १८-२० वर्ष भन्दा सानो उमेरमा नै प्रेममा परेर सहमतिमै यौन सम्बन्ध राख्ने गरेका कारण पनि समाजमा बलात्कार र आत्महत्याको श्रृङखला बढिरहेको उनको एउटा तर्क छ। ‘जति धेरै विकास हुन्छ, उति नै विनाश भनेको जस्तै हुँदै गएको छ समाज। आधुनिकताका नाममा हाम्रा मौलिक नैतिक अनुशासनका कुरा हराएका छन्। खानपान पनि उस्तै खालको छ। मोबाइल र सामाजिक सञ्जालले सानै उमेरमा विपरीत लिङ्गीलाई आपसमा जोडिदिएको छ’, डिएसपी बुढाथोकी भन्छन्, ‘खानपानले सानै उमेरमा नक्कली परिपक्कता आयो, यता पहिले १६ वर्ष भन्दा तल भनिएकोमा १८ वर्ष भन्दा तलको उमेरलाई बलात्कार भन्ने भयो। सहमतिमा सम्बन्ध राख्छन्, कुनै कारणले कुरा बाहिर आयो भने कानुनले त त्यसलाई बलात्कार भनिहाल्छ।’
शैक्षिक विकास हुँदै गएको बेलामा मानिसको चेतना स्तरमा वृद्धि हुनुपर्ने भए पनि समाजको भित्री अवस्था भने डरलाग्दो रहेको उनको भनाई छ। कानुन अनुसार २० वर्ष भन्दा कम उमेरमा विवाह गरेको थाहा पाएमा प्रहरीले नियन्त्रणमा लिने भए पनि प्रहरीले नै थाहा नपाउने गरी घर गाउँमा कानुन बाहिर गएर विवाह गर्ने क्रम नरोकिएको उनको भनाई छ। जुन विवाहको बारेमा समाजका अगुवादेखि जनप्रतिनिधिले समेत थाहा पाएर पनि बोल्दैनन् किनकि सम्बन्धित निकायमा सूचना दिएको थाहा पाएमा दुस्मनी सुरू हुन्छ।
अभिभावक समेत दोषी
२० वर्ष भन्दा सानो उमेरमा विवाह गराइदिने बाबुआमाका कारण पनि समस्या भइरहेको सरोकारवालाहरू बताउँछन्। कतिपय किशोर किशोरीहरूले २० वर्ष नपुग्दै भागी विवाह गर्ने गरेको भए पनि कतिपय जाने बुझेकै अभिभावकले समेत उमेर बढ्दै जाँदा सन्तान बिग्रने डरमा सानै उमेरमा विवाह गराइदिने गरेको पाइएको छ।
अस्पतालका सूचना अधिकारी उपाध्यायले सानो उमेरमा हुने मागी विवाहले नै ठुलो समस्या भइरहेको बताउँछन्। बाबुआमाले आफ्नो बेलाको सम्झेर विवाह गरिदिने कारण पनि यो अवस्था रहेको उनको भनाई छ। ‘मैले १७ वर्षमा बच्चा जन्माएकी हुँ के रे, अहिलेकाले जन्माउन नहुने के हो र? भन्दै धेरै आमाले नै छोरीलाई पेलेका छन्। बाबुआमाले नै कुरा नबुझिदिएपछि अरूको कुरा त के गर्ने? एक त बालिकामा नै बिहे, अर्को बिहे गरेको एक वर्षमै बच्चा नजन्माए सबैको कुरा कटाई र समाजको दबाब’, उनले भने, ‘कोरोना लागेको मान्छेलाई थाहा हुन्छ, कोरोनाको पिडा किनकि नलागेकाले केही होइन भन्छन्। सानैमा बच्चा जन्माएकी आमाको शरीर र मानसिकता कस्तो बन्छ अरू कुरा काट्नेलाई के थाहा?’
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले केही वर्ष पहिलेदेखि नै आफूले यो सवालमा बहस चलाउँदै आएको बताउँदै सानैमा छोरीको बिहे गराउनेमा जनप्रतिनिधिदेखि सरकारी कर्मचारीसम्म रहेको बताउँछन्। केही समय पहिले एक जना जनप्रतिनिधिले २० वर्ष नपुगेकी छोरीको विवाह गरिदिन लागेको थाहा पाएर आफूहरूले विवाह रोक्न निकै सम्झाइबुझाई गर्दा समेत अटेर गरेको घटना सुनाए।
पर्वत जिल्ला मानव विकास सूचकांकको ११ औँ स्थानमा परेको भए पनि बाल विवाह र गर्भपतनको अवस्था भित्रभित्रै डरलाग्दो भएको पहाडीको भनाई छ।-थाहाखबर