अमृत कुमार महतो, महोत्तरी ।बर्दिबासदेखि करिब १७ किलोमिटर टाढा बर्दिबासनगरपालिकाको वडा नम्वर ९, पशुपतिनगर गाउँ छ । गाउँमा छ पथलैया बजार । यस बजारमा ४० बर्षदेखि राम बहादुर साह बसोबास गर्दै आएका थिए । बजारमा बसोबास गर्ने सबैको जग्गा नापी भयो । तर उनको जग्गा नापी गर्न फिल्डमा खटिएका अमिनले मानेन् । एक बर्ष अगाडि राम बहादुर साहको निधन भयो । उनको श्रीमती रिना देवी साह विक्षिप्त भएकी छीन् । साहको जग्गा नापी नभएपछि उनी वडामा निवेदन दिन पुगे । बर्दिबास नगरपालिकाका मेयर बिदुर कुमार कार्कीलाई फोन गरे । गाउँ नेताहरुलाई गुहार गर्दै बास्तविकता बताए । तर पनि निर्दयीहरुले जग्गा नापेनन् । जग्गा नापी नभएपछि केही मानिसहरुले खुसी पनि मनायो । नगरपालिकाबाट कुनै खोजी खबरी भएन ।
साहले भनिन्,‘गर्नु पनि के र नै ? मेरो श्रीमान भए हारगुहार गरेर पनि नापी गराउथ्यो होला, हामी गरिब भएकै कारण मेरो जग्ग नापी भएनन् । सबै धनी मानिसको एलानी जग्गा नापी भयो । ऐलानी जग्गा जोतभोग गरेर जीविका टार्ने प्रचलन देशभर छ । नापीको समयमा मेरो जग्गा राजनिती कारणले दर्ता हुन दिएन ।’
पशुपतिनगरमा नापी आएको छ । गाउँलेका अनुसार जग्गा नापीका लागि वडाले एक किताको १ हजारको दरले पैसा माग्दै आएका छन् । साह पशुपतिनगरका नागरिक पनि हुन् । यहाका नागरिकको हैसियतले जग्गा नापीका लागि फरम पनि भरेका थिए । तर वडाले रसिद दिएन । यो जग्गा बजारमा पर्यौ रे । कसले पारेको ? कसले नापेको ? हरेक नागरिकको आवासको ग्यारेण्टी गर्ने अन्तरिम संविधानको व्यवस्थाचाहिँ यी गरिबलाई लागु हँुदैन ? स्थानीय नेता राम जतन महतोले भने ।यस्तै पशुपतिनगरकै बहादुर महतो ७९ वर्षका भए । उनको आँखाले संसार देख्न छाडे । तर उनी बसेको एलाना जग्गा नापी भएन । उनको श्रीमती मनतोरीया देवी दमा पिडित र एक मात्र छोरा दुःखी अपाङ्ग छ । उनले बसोबास गर्दै आएको जग्गा बर्षौ भयो । नापी टोलीले पुरै गाउँ नाप्यो तर मेरो घर र मेरो जग्गा टोलीको नजरमा परेन । गाउँमा नाप्दै गर्दा बिहानको खाना खाने समय भएको थियो । गरिबको घर हो भनेपछि टोली जग्गा नापी नसक्दै फर्कियो । यसपछि मेरो जग्गा नापी गर्न बाँकी रह्यो मनतोरीयाले बताईन् ।
‘उनीहरु दशककौ देखि बस्दै आएको जग्गामा बनेका घरमा पर्याप्त छलफल नगरी, उनीहरुको वैकल्पिक व्यवस्था नगरी नापी रोक्न पाइन्छ ? नगरपालिकाको कुन व्यवस्था हो यो ? यही हो एक्काइसौं शताब्दीको जनमुखी शासन व्यवस्था ? यही हो मानव अधिकारको सम्मान ? यही हो जनताको लोकतन्त्र ? यस विषयमा परामर्श गरेरै समाधान निकाल्नुपर्थ्यो । समय लाग्न सक्थ्यो तर यसरी निकालिएको समाधान सम्मानजनक र स्थायी हुन्थ्यो ।’ अर्का स्थानिय नेता भिम बहादु आलेले बताए ।
जग्गा नापी नभए उनीहरु कता जाने ? उनीहरु न्याय माग्न वडा र नगरपालिका धाइ रहेका छन् । दुई हप्तादेखि नगरपालिका र वडाले कुनै सुनवाई गरेको छैन । उनीहरुले गरेको गुनासोको सुनुवाई नहुनु भनेको हिंसा निम्त्याउनु हो । नागरिकको मनमा विद्रोहको बीउ रोप्नु हो ।
यही काम गरिरहेको छ नगरपालिका र वडा अहिले । ती गरिबको ठाउँमा एक जना धनीको जग्गा नापी गरिसकेकोे हुन्थ्यो । नापी टोलीलाई कानुनी कठघरामा ल्याइसक्थयो । तर ती त गरिब छन्, जो शक्तिविहीन छन् । पैसा खर्च गर्न सक्दैनन् । भनसुन गर्न सक्ने मान्छे छैनन् । यिनलाई पेल्न के को गाह्रो भयो र ? आखिर नगरपालिका त हुनेखानेको मात्र न हो । जग्गा नापी नभए के भयो र ? यसमा पनि गरिब ऐलानी जग्गामा बस्ने । कुनै पनि समस्याको समयमै निकास दिन सकेन र समय घड्कियो भने पछि चाहेर पनि समाधान गर्न गाह्रो हुन्छ ।
के उनीहरु यो देशका नागरिक हैनन् ?
जग्गा नापी नगरि यसको निराकरण सम्भव नै छैन । त्यहाँ बस्न नदिए पनि आखिर कतै फेरि झुप्रो त उभ्याउनै पर्छ । यो भनेको समस्या एक ठाउँबाट अर्को ठाउँमा सार्नेमात्र हो । गरिबले दुःख पाउँछन् तर समस्या सुल्झँदैन । यस्तो समस्या सुल्झाउन नगरपालिकाले यसका सरोकारवाला सबै पक्ष बसेर नयाँ विकल्प खोज्न जरुरी रहेको स्थानिय युवा संजीप कुमार विश्वकर्माले बताए । सरकारी अधिकारी मात्रै बसेर बनाएको नीति र निर्णय गरिबले मान्नुपर्ने कुनै न्यायिक आधार हुँदैन । यस विषयको छलफलमा भाग लिन पाउनु स्थानीयको अधिकार हो । जहाँ नागरिकलाई अपमान गरिन्छ । घरबाट सडकमा फालिन्छ । आवाज सुनिँदैन । आावाज दबाउन खोजिन्छ । त्यसले नागरिकको मनमा उम्रने विद्रोहको मूल्य भने निकै नै महँगो पर्नेछ । जहाँ गरिबको नगरपालिका भन्दै आएका नगरपालिकाले गरिबलाई हेला गर्दै हिँड्छ । अचम्म र दुःखको विषय यही छ । विश्वकर्माले सुनाए ।
नेपालमा लोकतन्त्र आएको सुनिन्छ । तर शक्तिविहीन नागरिकसम्म पुग्न सकेन । सर्वसाधारण नागरिक जुनसुकै व्यवस्था आए पनि आधारभूत अधिकार पाउनबाट वञ्चित भए । शक्ति हुनेहरु व्यवस्था जुनसुकै होस्, रजाइँ गर्दै रहे तर शक्ति विहीनहरु आफ्नो रगत पसिना पोखेर बनाएको घर र जग्गाको समेत लालपूर्जा पाउनबाट बन्चित हुदैछन् । आज पनि एलाना जग्गामा राजनितिक शैलीले रमाइरहेका छन् लोकतन्त्रका शासकहरु !