महोत्तरी । दशैँको रौनकता बढेसँगै मिथिला नगरीका विभिन्न शक्तिपीठहरुमा पूजाआराधना गर्नेको भीड लागेको छ ।
देशभर नेपालीहरुको महान पर्व विजया दशमी (बडा दशैँ) को अवसरमा माता दूर्गाका मन्दिरहरुमा भव्य पूजा अराधना भइरहेको हो । जगतमाता सीता मिथिलाकी छोरी भएकीले भगवतीका अन्य स्वरुपको पनि माइती मिथिलालाई नै मान्ने गरिएको छ ।
त्यसैले दशैँमा मूर्ति निर्माणअघि विवाहित बेहुली झै नवदुर्गालाई माइतीमा भित्र्याउने परम्परा रहेको छ । संस्कृतिविद्हरू भक्तिका ९ मार्ग (नवधा भक्ति) मध्ये वात्सल्य मार्गलाई भावुक मार्गको संज्ञा दिने गरेको गर्छन् ।
जानकी मन्दिरका प्रथम महन्थ सुरकिशोर दास माता सीतालाई छोरी झैँ माया गर्नुका साथै सेवा पनि गर्ने गरेको र पछि उनका उत्तराधिकारी महन्तहरुले समेत सो परम्परालाई अझै जारी नै राख्दै आएको मिथिलावासीहरु बताउँछन् ।
मिथिला साहित्यकार नित्यानन्द मण्डलले मिथिला र बंगालको सम्बन्धको रुपमा रहेको मूर्ति पूजा रहेको र बंगालमा एउटा उत्सवको रुपमा रहेको कारणले यहा पण्डितहरु बंगाल जाने र बंगालका व्यक्तिहरु विद्या अध्ययनको लागि मिथिला आउने गरेकोबाट पनि मिथिलामा मूर्ति पूजा गर्ने चलन शुरु भएको बताए।
उनले त्यही बेलाबाट माटोको प्रतिमा बनाएर पूजा गर्ने पम्परा त्यही कालदेखि विकास भएको हुनसक्ने बताए । तर अहिले भने आधुनिकताले छोपेकोले पहिलेको जस्तो उत्कृष्ट मूर्तिहरु नभएको उनको भनाइ छ ।
मिथिला साहित्यकार मण्डलले भने, ‘संस्कृतिविदहरू भक्तिका ९ मार्ग (नवधा भक्ति) मध्ये वात्सल्य मार्गलाई भावुक मार्गको संज्ञा दिने गर्दछन्, जानकी मन्दिरका प्रथम महन्थ सुरकिशोर दास माता सीतालाई छोरी झैँ माया गर्नुका साथै सेवा पनि गर्नुभएको थियो भन्ने इतिहास पाइन्छ। पछि उनका उत्तराधिकारी महन्तहरुले समेत सो परम्परालाई अझै जारी नै राखेका छन्।’
देवीदेवतासँग पारिवारिक सम्बन्ध स्थापित गर्ने र परिवारका सदस्य झैँ मधुर व्यवहार गर्ने परम्परा मिथिलावासीहरुको रहेको उनले बताए । उनले आर्य समाजमा मूर्ति पूजनको परम्परा महाभारतकालदेखि शुरु भएको र नवप्रस्तर युगमा समेत मूर्ति पूजाको परम्परा रहेको दाबी गरे ।
मूर्ति पूजाको प्रारम्भ बहुदेवतावादको युगमा शुरु भएको साहित्यकार मण्डलको तर्क छ । पूजा अवधिसम्म माइती आएकी चेलीझैँ मीठो परिकार अर्पण गरी पूजा अराधना गर्ने गरिन्छ । मूर्ति सेलाउने बेला सोहर (छोरी बिदा गर्ने बेलाको गीत) गाएर विदाई गर्ने परम्परा रहेको छ ।