महोत्तरी- महोत्तरीमा बोक्सी (डायन)को आरोपमा एक महिलालाई मलमुत्र खुवाएर कुटपिट गरी अभद्र ब्यबहार गरिएको घटना सार्वजनिक भएको छ ।
जलेश्वर नगरपालिका ४ सुगा गाउँकी ४२ वर्षीया सुकमरिया देवीलाई बोक्सीको आरोपमा मलमुत्र खुवाई कपाल मुन्डन गरी अमानविय व्यवहार प्रदर्शन गरिएको घटना सार्वजनिक भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
बोक्सी आरोपमा कुटपिट गरी मलमुत्र खुवाएर कपाल काटेको आरोपमा प्रहरीले चारजनालाई गिरफ्तार गरी असोज ३१ गते सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेहरुमा ३५ वर्षीय सिकिन्दर महतो, सिकिन्दरकी श्रीमती ३२ वर्षीया पुरनी देवी महत्तो, आमा ६५ वर्षीया प्रमिला देवी महत्तो र भाई २० वर्षीय अनिल महतो रहेका छन् ।
प्रहरीले घटनास्थलबाट पीडितलाई बांध्न प्रयोग भएको नाईलनको डोरी, पीडितको काटिएको अबस्थाको कपालका टुक्राहरू, मलमुत्र खुवाउन प्रयोग गरेको प्लाष्टिकको ग्लास र बियरको बोतल समेत बरामद गरेको जनाएको छ ।
गएको असोज २७ गते बिहान ३ बजे मर्निंग वाकमा सडक मै घुमफिर गरिरहेकी सुकमरियालाई सिकिन्दर महत्तोको परिवारले बोक्सीको आरोपमा कुटपिट गरी मलमुत्र खुवाई कपाल समेत काटेर अपमानजनक व्यवहार गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सुकमरिया देवीलाई देख्ने बितिकै सिकिन्दर महत्तोकी छोरी १३ वर्षीया काजल कुमारी रुन थालेकि थिईन् । सोहि बेला सिकिन्दरको परिवारले सुकमरिया देवीलाई बोक्सीको आरोपमा कुटपिट गरी मलमुत्र खुवाई कपाल समेत काटेर अपमानजनक व्यवहार गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक रञ्जन मिश्रले बताए ।


