जनकपुरधाम- धनुषाको बटेश्वर गाउँपालिकामा आज देखि राष्ट्रिय महिला कब्बडी प्रतियोगिताको आयोजना हुँदैछ।
बटेश्वर गापा अध्यक्ष कप “राष्ट्रिय महिला कब्बडी प्रतियोगिता २०७८” सबै तयारी पुरा भएको र आज ११ बजे विहान उद्घाटन हुने जानकारी गापा अध्यक्ष डम्बर बहादुर राउतले गराए।
अध्यक्ष राउतले भने खेलकुदले ठाउँको पहिचान गराउनुको साथै देशको नाम समेत प्रख्यात गराउन सहयोग पुर्याउने भएको हुँदा यस्ता किसिमको प्रतियोगिताहरूमा गाउँ पालिकाले संयोजन गरेको हो।उनले खेलाडी राष्ट्र को गहना भएकोले उनिहरूको संरक्षण र सम्बर्द्धन गर्ने जिम्मेवारी राज्यको भएको हुँदा आफू स्थानीय सरकार प्रमुखको हैसियतले थोरै भए पनि प्रयास गरेको बताए।
गापाको संयोजनमा शिव शक्ति युवा क्लव बटेश्वरले आयोजना गर्न लागेको यस प्रतियोगितामा मुलुकको ७ वटै प्रदेशको टिमको सहभागीता रहेको आयोजकले जानकारी दिएको छ।
प्रतियोगिताको प्रचार प्रसार समितिको संयोजक मदन बिकले जनाए अनुसार प्रतियोगितामा प्रथम हुने टिमलाई १ लाख ५ सय ५, द्वितीय हुनेलाई ५० हजार ५ सय ५ र तृतीयलाई २५ हजार ५ सय ५ पुरस्कारको व्यवस्था रहेको छ।
यहि मंसिर २३ गते देखि २५ गते सम्म संचालन हुने यसका साथै प्रतियोगिता अवधिभर बेस्ट रेडर, बेस्ट डिफेन्डरको साथै सधै प्रतियोगितामा एक - एक जनालाई म्यान अफ दि म्याच प्रदान समेत गरिने आयोजक क्लवका जीवन भुजेलले जनाए।
उनले कुल १५ लगानीमा हुन लागेको यस प्रतियोगिताको लागि वटेश्वर गापाले र बटेश्वर गापा वडा नं ४ कार्यालयले ३ लाख र बाँकी रकम चन्दा संकलन गरिएको जनाए।