जनकपुरधाम- नेपाली कांग्रेसको प्रदेश २ सभापतिका लागि रामसरोज यादव र कृष्णा यादवले उम्मेदवारी दर्ता गराएका छन् ।
नेपाली काँग्रेसको प्रदेश २ को अधिवेशनको लागि आज तोकिएको मनोनयन दर्ताको तालिका अनुसार सभापतिको लागि यादव द्वयले उम्मेदवारी दर्ता गराएका हुन् ।
अधिवेशन र मनोनयन दर्ताको लागि यतिखेर विभिन्न जिल्लाबाट उम्मेदवार र प्रतिनिधिहरु अधिवेशनस्थल जनकपुृरधाम स्थित गोपाल धर्मशालामा पुगेका छन् ।
काँग्रेसको प्रदेश अधिवेशन गर्दा अहिले जनकपुरधाममा निकै चहलपहल बढेको छ । अधिवेशनस्थलमा प्रतिनिधिहरु नाम दर्ता गराउँदै छन् भने उम्मेदवारहरु आफ्ना प्यानल बनाउन जुटेका छन् ।
पार्टीको सदस्यता विवादले तोकिएको मितिमा प्रदेश २ मा अधिवेशन हुन नसेपछि केन्द्रीय महाधिवेशनपछि मंगलबार प्रदेश २ मा मनोनयन दर्ता र बुधबार नेतृत्वका लागि मतदान तय भएको हो ।
यस अधिवेशबाट प्रदेश सभापति, दुई उपसभापति, एक महामन्त्री, एक महिला सहित तीन सहमहामन्त्री र सदस्यहरु चयन गर्नेछ।
रामसरोज विमलेन्द्र निधि निकट र कृष्णा शेरबहादुर देउवा निकट मानिन्छन्। निधि निकट उम्मेदवार रामसरोजलाई कांग्रेसको शेखर कोइराला पक्षले पनि समर्थन गरेको बताइएको छ।
उम्मेदवारी दर्ता पश्चात रामसरोजले आफू कुनै गुट वा समुहबाट नभई नेपाली कांग्रेसबाट उम्मेदवारी दिएको प्रतिक्रिया व्यक्त गरे । उनले भने, ‘मलाई सबैको समर्थन रहेकोले मेरो जित सुनिश्चित छ । कांग्रेसभित्र गुट उपगुट समाप्त पारेर पार्टीलाई मजबुत बनाउनकै लागि मैले उम्मेदवारी दर्ता गराएको हुँ ।’
त्यसैगरी संस्थापन पक्षबाट कृष्ण यादवले प्यानल नै बनाएर उम्मेदवारी दर्ता गराएका हुन् । उनको प्यानलबाट प्रदेश २ का महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंह र उपेन्द्र यादवले उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
उम्मेदवारी दर्ता गराए पछि कृष्णले आफू निर्वाचित भए पार्टीलाई मजबुत बनाउने आफ्नो लक्ष्य रहेको सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिए । उनले कांग्रेसका सबै नेता कार्यकर्तालाई साथ लिएर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रदेश अधिवेशनमा एक हजार ९ सय ८० मतदाता छन्। प्रदेश २ का आठवटै जिल्लामा जिल्ला अधिवेशन समेत हुन बाँकी छ। कांग्रेसले केन्द्रीय महाधिवेशनपछि प्रदेश २ को प्रदेश अधिवेशन र बाँकी रहेका जिल्लामा जिल्ला अधिवेशन गर्ने निणर्य गरेको थियो।
क्रियाशील सदस्यता विवादका कारण प्रदेश अधिवेशन हुन नसके पनि केन्द्रीय महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि भने चयन गरिएको थियो।
प्रदेश अधिवेशनमा सहभागी हुन गृहमन्त्री बालकृष्ण खाँण सोमबार राति जनकपुर आइपुगेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा पक्षका प्रदेश सभापति उम्मेदवार कृष्णा यादवको उम्मेदवारी दर्ता र चुनावी रणनीति बनाउन गृहमन्त्री खाँण सहित देउवा पक्षका केन्द्रीय नेताहरु जनकपुर आइपुगेका हुन् ।
निधि निकटका उम्मेदवार मन्त्री यादवले प्रदेशमा शेखर कोइरालासँग सहकार्य गरी प्यानल बनाउँदै छ ।
शेखर कोइरालाले निवर्तमान केन्द्रीय सदस्य गुरुराज घिमिरेको संयोजकत्वमा युवा नेता भूपेन्द्रजंग शाही, रामकृष्ण यादव र तेजुलाल चौधरीलाई प्रदेश २ निर्वाचनका लागि जनकपुरधाममा खटाएका छन् ।
सभापति शेरबहादुर देउवा पक्षधर उम्मेदवार रौतहटका कृष्णा यादवलाई सघाउन कांग्रेसका केन्द्रीय सदस्यमा निर्वाचित गृहमन्त्री बालकृष्ण खाँणको नेतृत्वमा उदयशमशेर राणा, रामहरि खतिवडा, चित्रलेखा यादव सहितको टोली जनकपुर आएका छन् । केन्द्रीय सदस्य रमेश रिजाल र आनन्दप्रसाद ढुंगाना जनकपुरमै बसेर समूहको चुनावी रणनीति बनाउँदै छन् ।




