ढल्वेवर। घना जंगलका बीच—बीचमा सरोबर। हिमाल झै देखिने चुरिया पहाड। प्रदेश २ मा चुरिया क्षेत्रमा निर्माण गरिएका सरोबरले जैविक विविधतालाई जोगाएको छ। मधेसमा खानेपानीको मुहानलाई रिचार्ज गरेको छ। चुरेक्षेत्रमा जलवायु अनुकूलनका लागि स्थानीय सरकार, नेपाली सेना, सामुदायिक वन, डिभिजन वन कार्यालयले सरोबर निर्माणलाई तीव्रता दिएको छ।
चुरे पानीको ‘भण्डार’ हो भने, मधेस अन्नको ‘भकारी’। चुरे विनाशसँगै पानीको मुहान सुकिरहेको छ। जीवजन्तुहरू पानी खोज्दै बस्तीमा पसिरहेका छन्। मानव र वन्यजन्तुबीचको द्वन्द्वलाई घटाउन अभियानकै रूपमा चुरेमा पोखरी निर्माणलाई तीव्रता दिइएको राष्ट्रिपति चुरे तराई—मधेस संरक्षण विकास समिति जनकपुर कार्यालय प्रमुख रामबालक यादव बताउँछन्। ‘पोखरी, तालतलैया निर्माण तथा संरक्षणले चुरेक्षेत्रको जैविक विविधता संरक्षणमा टेवा पुगेको छ,’ यादव भन्छन्, ‘चुरेका जलाशयहरूले खानेपानी मुहानको रिचार्ज गरेको छ।’ चालू आर्थिक वर्षमा सरकारले देशभरि थप २ सय पोखरी निर्माण गर्ने लक्ष्य लिएको उनले सुनाए।
धनुषाको मिथिला नगरपालिका—७ ढल्केबरस्थित पोखरीया दमार सामुदायिक वनमा ७ बिघा क्षेत्रफलमा ४ कारोड लगानीमा ‘मिथिला सागर’ निर्माण गरिएको छ। मेयर हरिनारायण महतोका अनुसार, ताल निर्माणले जीवजन्तुलाई पानी खान सजिलो भएको छ। तालले पर्यटकीय स्थलको रूप लिएको छ। मानिसको चहलपहलले वनमा हुने चोरी निकासी नियन्त्रणमा आएको छ।
चुरिया संरक्षण गर्न सरकार जुटेको छ। तराईको उर्वरभूमि मरुभूमिकरण हुनबाट बचाउन चुरेलाई बचाइँदैछ। तर, ठोस योजना अझै बनेको छैन। ‘चुरेमा धेरै पोखरी निर्माण गर्न जरुरी छ,’ चुरे विज्ञ डा. विजयकुमार सिंह भन्छन्, ‘पोखरीले वर्षाको पानी होल्ड गर्छ। यसले तराईमा बाढीको जोखिमलाई पनि घटाउँछ।’ गत भदौमा कपिलवस्तु र नवलपरासीमा ३५० मिलिलिटर पानी पर्दा धनजनको ठूलो क्षति भएको सिंह बाउँछन्।
त्यस्तै, महोत्तरीको सामुदायिक वनमा २ वर्षअघि दर्जन बढी पोखरी निर्माण गरिएको थियो। सब—डिभिजन वन कार्यालय बर्दिबासका रेन्जर सन्तोष यादवले वनमै पोखरी भएपछि जीवजन्तु तथा चराचुरंगीको बासस्थान संरक्षण भएको बताए।
बर्दिबास—३ स्थित पाटु प्राकृतिक सामुदायिक वन, कालीदामार सामुदायिक वन, गढन्ता र बाँके मरहा साझेदारी वनमा पोखरीहरू निर्माण गरिएको हो। रौतहटमा २९ हजार हेक्टरभन्दा बढी वनक्षेत्र छ। यहाँ ४२ वटा सामुदायिक वन र ३ वटा साझेदारी वन छन्। जैविक विविधता र डढेलो नियन्त्रण गर्न २ वर्षअघि चुरेक्षेत्रमा सातवटा पोखरी निर्माण गरिएको छ।
चुरेमा वन विनाशका कारण पानीको मुहान भटाभट सुक्न थालेको छ। सन् १९८६ ल्यान्ड रिसोर्स म्यापिङ प्रोजेक्टको रिपोर्टअनुसार चुरेमा १४ लाख ५० हजार ५४१ हेक्टर वनक्षेत्र थियो। सन् २०१० मा फोरेस्ट रिर्सोस सर्भेको अर्को प्रतिवेदनले चुरियाको क्षेत्र घटेर १३ लाख ७३ हजार ७४३ हेक्टरमा सीमित भएको देखाएको छ। ‘चुरेका वनजंगल र फाँट बाघ, हात्ती, गैंडा, अर्नाजस्ता ठुला स्तनधारी वन्यजन्तुको वासस्थान हो। यो घटेपछिको असर गहिरो छ,’ चुरेविज्ञ डा. सिंह भन्छन्, ‘बहुमुल्य वनस्पत्ति पनि लोप हुँदै गइरहेको छ। जीवजन्तुहरू बीच द्वन्द बढेको छ। चुरे पानीविहीन बन्दै गएको छ।’ चुरिया क्षेत्रमा २८१ प्रजातिका रूख, १८६ प्रजातिका बुट्यान र वनस्पति छन्।
नेपालमा पाइने जीवजन्तुको विविधताका हिसाबले यहाँ १ हजार ९१८ प्रजातिमध्ये १ हजार ३०८ चुरे तथा तराई मधेस क्षेत्रमा पाइन्छन्। नेपालमा संकटमा रहेका ४९३ प्रजातिका जीवजन्तु चुरेक्षेत्रमै छ। - अन्नपूर्णापोष्ट




