धनुषा- धनुषाको गणेशमान चारनाथ नगपालिका वार्ड नं.६ गोदारमा जलबायु परिवर्तन तथा महिला सशक्तीकरण सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ ।
डिएफआइडीको आर्थिक सहयोगमा Street Child of Nepal -SCoN को नेतृत्व तथा जानकी महिला जागरण समाज (JWAS), आसमान नेपाल र सहयोगी हातहरुको समुह (SAHAS) नेपालको सहकार्यमा जलबायु परिवर्तन तथा महिला सशक्तीकरण सम्बन्धी २ दिने तालिम प्रदान गरिएको हो ।
मुसहर बालिका तथा किशेरीहरुको शिक्षा, शशक्तिकरण तथा जीविकोपार्जनका लागि संचालित Marginalized No More (MnM) परियोजना अन्तर्गत बालिका तथा समावेशी शिक्षा सञ्जालका सदस्यहरुलाई सो प्रदान गरिएको भएको जवासकी परियोजना संरक्षण सल्लाहकार लक्ष्मी परियारले बताईन् ।
सो तालिमको समापान समारोहलाई सम्बोधन गर्दै गणेशमान चारनाथ नगरपालिकाकी उपमेयर मीना देवी यादवले भनिन् , ‘जलवायु परिवर्तन न्यूनीकरणका लागि महिलामाथि हुने हिंसालाई दिगो मानव विकासको प्रमुख बाधक र लैंगिक समानता हाँसिल गर्ने बाटोको गम्भीर अवरोधका रुपमा रहेको छ ।’
उपमेयर यादवले यस्तो किसिमको तालिमले ग्रामिण भेगमा त्यो पनि खास गरी दलित मुसहर समुदायकी किशोरीहरुको निकै उपयोगी साबित भएको बताईन् । उनले किशोरीहरु तालिमबाट सिकेर आफ्नो हक अधिकारको कुराहरु सम्बन्धीत ठाउँमा राख्न सक्ने भएकोमा खुशी व्यक्त गरिन् ।
सो अवसरमा उपमेयर यादवले तालिमका सहभागी किशोरीहरुलाई सेनेटरी प्याड वितरण गरिन् ।
त्यसैगरी नगरपालिकाका शिक्षा अधिकृत रामकुमार यादवले विद्यालय बाहिर रहेका किशोरीहरुलाई यस कार्यक्रमले विद्यालय जान प्रेरित गर्नुको साथै जीवन उपयोगी शीप मार्फत आयआर्जनको बाटो समेत खुल्ने भएको हुँदा कार्यक्रम प्रभावकारी रहेको बताए ।
त्यसैगरी जवासकी संरक्षण सल्लाहकार इन्दिरा सिंहले जीवनउपयोगी सीपबाट मुसहर समुदायका किसोरीहरु अझ सशक्त भई आफ्नो हक अधिकार बारे जागरुक हुनका लागि प्रोत्साहित हुने बताइन् ।
तराईका धनुषा, महोत्तरी, सिराहा, सप्तरी र सुनसरी गरी पाँच जिल्लाहरुमा विद्यालय जानबाट बञ्चित तथा विद्यालय छाडेका १० देखि १८ वर्ष उमेर समूहका मुसहर किशोरीहरुको शिक्षा, जीविको पार्जन तथा सशक्तिकरणमा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले यी जिल्लाका मुसहर समुदायको बाहुल्य रहेको बस्तीहरुमा एक्सेस टु एजुकेशन एण्ड लाइभलिहुड्स फर मुसहर गर्ल्स (मार्जिनलाइज्ड नो मोर) कार्यक्रम सञ्चालन भइरहेको छ ।
कार्यक्रम अन्तर्गत मुसहर समुदायका १० देखि १८ वर्ष उमेर समूहका किशोरीहरुमध्ये १०—१४ वर्ष उमेर समूहका किशोरीहरुलाई साधारण गणितीय सीप तथा साक्षरता सिकाइ विद्यालयमा भर्ना गरिन्छ भने १५—१८ वर्ष उमेर समूहका किशोरीहरुलाई साधारण गणितीय सीप तथा साक्षरता, जीवनोपयोगी शिक्षा मार्फत शशत्तिकरण गरी दैनिक जीवनमा आइपर्ने विभिन्न चुनौतिहरुको सामना गर्नका लागि सक्षम बनाई आफ्नो अधिकार र कर्तव्यको बोध गराउँदै आफ्नो हक र अधिकारका लागि आवाज उठाउन समेत सक्षम गरी जीवीकोपार्जनका लागि विभिन्न सीप तथा व्यवसायका लागि आवश्यक न्यूनतम पुँजी सहयोग गरी जीवनयापनका लागि विभिन्न पेशा र व्ययवसाय छनोटको अवसर प्रदान गरी सहयोग गर्ने गरिएको जावासकी संरक्षण सल्लाहकार लक्ष्मी परियारले बताईन्।
उनले भनिन्, ’किशोरीहरुलाई किशोरीहरुको समूहका रुपमा किशोरी छलफल केन्द्रमा आवद्ध गरी पालिकास्तरमा गठन भएको पालिका स्तरीय बालिका तथा समावेशी शिक्षा सञ्जालमा आवद्ध गराइन्छ जसले गर्दा कार्यक्रमको समाप्तिपछि पनि किशोरीहरुले आ-आफ्नो किशोरी छलफल केन्द्र मार्फत बालिका तथा समावेशि शिक्षा सञ्जालमा आ-आफनो अधिकार, शिक्षा र सशक्तिकरणका लागि सरोकारवालाहरुसँग पैरवी गर्न सक्ने हुनेछन्।’




