महोत्तरी,औरह । औरही नगरपालिका– १ औरही बजार स्थित रहेको स्वास्थ चौकी औरहीमा चौबिसै घन्टा सेवा दिने गरि बर्थिङ सेन्टर सञ्चालनमा आएपछि स्थानीयवासीहरुमा खुशियाली छाएको छ। अब सुत्केरी गराउन महिलालाई बर्दिवास, गौशाला र जनकपुर अस्पतालमा पुग्नुपर्ने झन्झट हटेको छ ।नगरपालिकामै बर्थिङ सेन्टर सञ्चालन भएपछि महिलालाई सुरक्षित रुपमा प्रसूति हुनका लागि सहज भएको छ ।प्रसूति सेवाका लागि नगरपालिकाले औषधि, आवश्यक औजार र उपकरण सहित दक्ष जनशक्तिको बर्थिङ सेन्टरमा व्यवस्था मिलाएको छ ।
‘नगरपालिकामा बर्थिङ सेन्टर नहुँदा प्रसूति हुने महिलालाई घरपरिवारले साइकल,मोटरसाइकल र जिपमा बोकेर बर्दिवास,गौशाला र जनकपुर स्थित अस्पतालमा पुरयाउदैआएका थिए’, स्थानीय सावित्री सदाले भनिन् ।उनले बर्दिवास,गौशाला र जनकपुर जादा गाडी समस्याको खप्की खानुपर्ने अर्को बाध्यता हुनुको साथै अस्पतालमा चर्को शुल्क समेत लिइने गरेको बताईन् ।त्यसैगरी सीता देवी यादवले भनिन्, ‘अस्पताल पुरयाउन ढिला हुँदा ज्यान जाने जोखिम समेत थियो ।
बर्थिङ सेन्टर सञ्चालनमा आए सँगै ती सबै समस्या हटेर गएको छ।’औरही नगरपालिकाका नगर प्रमुख सुनिल कुमार यादवले बर्थिङ सेन्टरबाट नगरपालिकाक भरिका बासिन्दाहरु लाई सहज रुपमा सेवा पाउने जानकारी दिए। ‘नगरपालिकाका बासिन्दाहरुले विगतमा बर्दिवास,गौशाला र जनकपुर अस्पतालमा सेवा लिनका लागि जानुपर्दथ्यो’, उनले भने, ‘अब बर्दिवास,गौशाला र जनकपुर अथवा छिमेकी नगरपालिकाका बासिन्दाहरुले समेत बर्थिङ सेन्टर बाट लाभ लिन सक्छन् ।’ बर्थिङ सेन्टर सञ्चालनसँगै दुर्गम क्षेत्रका जनताको स्वास्थ्य सेवामा पहुँच बढेको छ ।
स्वास्थ्य चौकी औरहीमा व्यवस्थापन गरी नगर पालिकाले प्रसूति सेवा सञ्चालन गरेको छ ।




