जनकपुरधाम- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच दलीय गठबन्धनको सहमतिमै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्ध महाअभियोग दर्ता गरिएको बताएका छन्।
मधेस सरकारको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले आयोजना गरेको ’२७औँ जनयुद्ध दिवस’ कार्यक्रम मनाउन आइतबार दिउँसो जनकपुर आइपुगेका अध्यक्ष प्रचण्डले सञ्चारकर्मीहरुसँगको कुराकानीको क्रममा गठबन्धनको सहमतिमै जबरा विरुद्ध महाअभियोग लगाइएको बताए। उनले भने, ‘दलीय गठबन्धनको सहमती भएको कारण गठबन्धनमा कुनै असर गर्दैन । न्यायको क्षेत्रमा विगत केहि दिने देखि देखिएको अन्यौलता, अराजकता र बेथितिलाई हामीले किनारा लगाउने कोसिस गरेका हौँ।’



प्रचण्डले स्वतन्त्र न्यायालयमा देखिएको अन्यौलतालाई सहज ढंगले निकास दिनको लागि यस्तो कदम चालिएको बताए ।
पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, ’हामीले न्यायालयको विवादमा मुख्य जिम्मेवार प्रधानन्यायाधीश नै हुनुपर्छ भनेका हौँ। उहाँले अरु न्यायाधीश सहितलाई विश्वासमा लिएर पनि काम गर्नुपर्छ भनेको हौं । तर आफूहरुले चाहे अनुसार न्यायालयमा सुधार हुने नदेखिएपछि महाअभियोग लगाउनुपरेको हो ।’
उनले कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीसँग पनि आम सहमति मै महाअभियोग लगाइएकोले गठबन्धनमा कुनै असर नपर्ने बताए ।





