जनकपुरधाम- अप्पन टेलिभिजनले ‘अप्पन रंग’ कार्यक्रम गरी हिन्दूहरूको महान पर्व होलीको शुभकामना आदान प्रदान गरेको छ ।
सोमबार जनकपुरधाममा भएको कार्यक्रममा सहभागीहरूले एकआपसमा शुभकामना आदानप्रदान गरेका हुन् ।
‘होलीके रंग अप्पन टिभीक संग’ नाम दिइएको कार्यक्रममा सहभागीहरूले होली पर्वका अवसरमा गाइने जोगिरालगायत लोक गीतहरू लोप हुन लागेकोप्रति चिन्ता व्यक्त गरेका छन् ।
कार्यक्रममा मधेश प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामसरोज यादवले मिथिलाको परम्परा र संस्कृतिलाई बचाइ राख्न सबैको योगदान आवश्यक रहेको बताउनुभयो ।
यसअघि, मन्त्री यादवले जोगिरा गाएर कार्यक्रमको उद्घाटन गनुभएको थियो । कार्यक्रममा मधेश प्रदेशका सांसद परमेश्वर साह, नेपाली काँग्रेस धनुषाका नवनिर्वाचित सभापति योगेन्द्र पञ्जियार र पूर्वउपसभापति सन्तोष यादवले पनि शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा नेपाली काँग्रेस धनुषाका नवनियुक्त सभापति पञ्जियार र सभापतिमा पराजित भएका यादवले एकअर्कालाई अबिर लगाएर र गम्छा ओढाएर आपसी सद्भावको सन्देश दिएका थिए । उनीहरु एक अर्कालाई गम्छाले सम्मान गर्दै अँगालो हानेपछि सभाहलमा तालीको गडगडाहट बजेको थियो ।
कार्यक्रममा जनकपुरधामका पूर्वमेयर तथा अप्पन टेलिभिजन सञ्चालक समितिका अध्यक्ष बजरंगप्रसाद साहले भगवान राम र सीताले त्रेतायुगमा खोली खेलेको पौराणिक स्थल महोत्तरीको कञ्चनवनको संरक्षण र सम्बद्र्धन हुनुपर्ने बताउनुभयो ।
त्यस्तै, कार्यक्रममा वरिष्ठ पत्रकार श्यामसुन्दर शशीले होलीमा रंग अबिरसँगै जोगिरालगायत गीत संगीत पुस्तान्तरण हुन नसकेको प्रति चिन्ता जनाउनुभयो । परम्परालाई लोप हुन नदिन प्रदेश सरकारले योजना ल्याउनुपर्ने पनि उहाँले सुझाव दिनुभयो ।
कार्यक्रममा होलीसम्बन्धी गीत, नृत्य तथा जागिरालगायतमा गायक तथा कलाकारहरूले आफ्नो प्रस्तुति दिएका थिए । कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ, नेपाल रेडक्रम धनुषाका अध्यक्ष नरेश सिंह, विभिन्न दलका नेता, समाजसेवी, व्यापारी, अप्पन टेलिभिजन सञ्चालक समितिका सदस्य बलराम महतो, नविन साहलगायत सहभागी भएका थिए ।




