
जनकपुरधाम। नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा धनुषामा नेपाली काँग्रेसको बलियो उपस्थितिका लागि एक ढिक्का भएर अघि बढ्न कार्यकर्ताहरूलाई आग्रह गरेका छन्।
आज बुधवार नेपाली काँग्रेसको १४ औँ जिल्ला अधिवेशनबाट नव निर्वाचित धनुषा जिल्लाको पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण गर्न आयोजित समारोहलाई सम्बोधन गर्दै नेता निधिले निर्वाचनमा भएको आन्तरिक प्रतिस्पर्धालाई सामान्य रुपमा लिन आग्रह गर्नुभयो ।
नेता निधिले नेता कार्यकर्ताहरुलाई कांग्रेसलाई जिताउने अभियानमा सक्रिय भएर लाग्न आग्रह गर्दै उनले आगामी ३० बैशाखमा हुने स्थानीय निर्वाचनको टिकटका लागि आफू कहाँ नआई वडामा जान नेता कार्यकर्ताहरुसँग आग्रह गरे ।निधिले पहिला जस्तो परिस्थिति अब नरहेकोले टिकटका लागि आ-आफ्नो वडामा जान नेता कार्यकर्ताहरुलाई आग्रह गरेका हुन् ।
उनले भने,‘नेता कहाँ गएर हार गुहार गर्नुभन्दा विधानको पालना गर्दै आ-आफ्नो वडामा गएर आफूले गरेको कार्यको मूल्यांकन र निर्वाचन जित्न सक्ने क्षमताको आधारमा टिकट माग्नुस ।’निधिले जनताले कम्युष्टिहरुलाई झण्डै दुई तिहाई बहुमत दिएर जिताए पनि उनीहरुले सरकार चलाउन नसकेको टिप्पणी गर्दै उनले अब जनताले कांग्रेसको बहुमतिय सरकार खोजिरहेको बताए।
उनले कम्युष्टिहरुले सरकार चलाउन नसकेपछि पुनः कांग्रेसकै काँधमा जिम्मेवारी दिएको बताउँदै एमाले बाहेक जनता समेत कांग्रेसमय भएकोले यस अवसरलाई सदुपयोग गर्न पार्टीको नारा ‘घर घरमा जाऊँ, कांग्रेसलाई जिताऊ’ अभियानलाई सफल पार्न नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिए ।
निधिले चुनावको समयमा पार्टीभित्र भएको प्रतिस्पर्धा बिर्सेर स्थानीय चुनावमा काँग्रेस उम्मेदवारलाई विजयी गराउनका लागि जनताको मन जित्ने कार्यमा लाग्न पार्टीका नेता कार्यकर्ताहरु संग आग्रह गरे ।
नेता निधिले कम्यूनिष्टले जनताका लागि काम गर्न नसकेपछि बाध्यतावश काँग्रेसले सरकारको नेतृत्व गर्नु परेको बताए । उनले कम्यूष्टि सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई असफल पार्ने खेलतर्फ लागेपछि बाध्यात्मक अवस्थामा कम्यूनिष्टहरु कै आग्रहमा काँग्रेसले सरकारको नेतृत्व गर्न पुगेको जिकिर गरे ।
‘एमाले, माओवादी, एकीकृत समाजवादी, जसपा र लोसपा सबै दलहरु सरकार चलाउन असफल भए,’उनले भने,‘काँग्रेस विनाको सरकार नै चलाउन सकेनन्, त्यसपछि अहिले काँग्रेसले नै देश हाँक्नु परेको छ ।’निधिले करिब दुई तिहाइको कम्युनिस्ट सरकार पूणर् अवधि नचलेका कारण नेपाली काँग्रेसको पक्षमा आम जनताको विश्वास बढेको बताउँदै सबै तहका समितिले कडा परिश्रम गर्न सुझाव दिए ।
धनुषाका नवनिर्वाचित पार्टी सभापति योगेन्द्र पजियारको अध्यक्षतामा आयोजित कार्यक्रममा मधेस प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री रामसरोज यादव, प्रदेश सभा सदस्य शिवचन्द्र चौधरी लगायतकाले पार्टीको सम्पन्न महाधिवेशनबाट आएका परिणामलाई आन्तरिक कलह नबनाई एकजुट भएर निर्वाचनको तयारीमा लाग्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरे ।
कार्यक्रममा निर्वाचन अधिकृत अरुण ज्ञवाली, केन्द्रिय सदस्यद्वय मिनाक्षी झा र चन्द्रमोहन यादव लगायतका वक्ताहरुले निर्वाचनमा केन्द्रित भएर आ-आफ्ना धारणा राखेका थिए ।