जनकपुरधाम- नेपाली कांग्रेसको जनकपुरधाम उपमहानगरपालिका अन्तर्गतका अधिकांश वडाका सभापतिहरुले विद्रोहको चेतावनी दिएका छन् ।
कांग्रेसको उपमहानगर वडा समितिका सभापतिहरुको बैठकले जनकपुरधाम उपमहानगरपालिकाको मेयर कांग्रेसले नपाए सबै वडामा स्वतन्त्र उम्मेदवार खडा गर्ने जनाएको छ।
बैठकले चुनावी तालमेलका क्रममा जनकपुरधाम उपमहामहानगरको मेयर छोड्ने निर्णय केन्द्रबाट भए सबै वडामा विद्रोह गर्ने तयारी गरेको छ । वडासभापतिहरुले कांग्रेस जिल्ला सभापति योगेन्द्र पजियारलाई भेटी सो जानकारी गराएका हुन ।
मधेस प्रदेशको राजधानी समेत रहेको धनुषा जिल्लाको यो उपमहानगरपालिकामा २०७४ को निर्वाचनमा मधेसवादी दलको दबदबा देखिएको थियो । त्यतिबेला तत्कालीन राजपाका उम्मेदवार लालकिशोर साहले २१ हजार ९ सय ३ मत ल्याएर विजयी हुँदा दोस्रो भएको नेपाली कांग्रेसका उम्मेदवार मनोजकुमार साहले ११ हजार १ सय ६४ मतमात्रै पाएका थिए ।
तेस्रोमा एमालेका लक्ष्मीनारायण भगतको ४ हजार ८ सय ६५ मत थियो । उपेन्द्र यादवको पार्टी संघीय समाजवादी फोरमका उम्मेदवार विष्णु देव साहले ३ हजार ६ सय १२ मत प्राप्त गरेका थिए ।
हाल मेयर साह जसपामा आवद्ध छन् । संघीय समाजवादी फोरम र राजपाको एकतापछि बनेको जसपा मैँ उनि रहँदा पूर्व राजपा समूहले लोसपा गठन गर्दा उनी त्यहाँ गएनन् ।
तर राजपाबाट जितेका उपमेयर सहित सम्पुर्ण वडाध्यक्षहरु लोसपामा समाहित भए । तत्कालीन राजपाको ९० प्रतिशत मत लोसपा संग रहेको राजनीतिक विज्ञहरु बताउँछन् । तर उपमहानगरपालिकाको प्रस्तावित भागबन्डामा जनकपुरधाम जसपाले दाबी गरेको छ । यस अघि तत्कालीन संघीय समाजवादी पार्टीबाट उम्मेदवार बनेका साहले प्राप्त गरेको ३ हजार ६ सय १२ मत र ब्यक्तिगत सम्बन्धको आधारमा केही मत मात्र प्राप्त गर्न सक्ने जसपाले मेयरको दाबेदारी गर्नु अनुचित रहेको जानकारहरु बताउँछन्।
जनकपुरधामको वडा नम्बर. २१ का कांग्रेस सभापति महेन्द्र महतोका अनुसार गत निर्वाचनमा मधेस मुद्दा र सेन्टीमेन्ट संग जोडिएकोले तत्कालीन राजपाका उम्मेदवारले मधेसको नाममा मत प्राप्त गर्न सफल भएका थिए । तर नगरवासीले अपेक्षा गरे अनुसार सरसफाई, लामखुट्टे नियन्त्रण, ल्याण्डफिल्ड साइट निर्माण, स्मार्ट सिटी लगायत घोषणा पत्रमा उल्लेखित ९५ प्रतिशत काम गर्न नसकेपछि उपमहानगरपालिकाको वर्तमान नेतृत्व प्रति तिव्र जनाक्रोस रहेको छ । बेला-बेलामा उपमहानगरपालिको बेथिति बिरुद्धको अगुवाई नेपाली कांग्रेसले नै गर्नुपरेको छ । त्यस्तो अवस्थामा फेरी त्यहि दललाई जिताउन नसकिने भएकोले स्थानीय जनताको भावना विपरीत हुने निर्णय मान्न बाध्य नहुने बताए ।
केन्द्रले जनकपुरधामको मेयर अरु पार्टीलाई दिए सबै वडामा कांग्रेसको उम्मेदवार खडा गर्ने र गठबन्धनको निर्णय अस्वीकार गर्ने नगर सभापति मनोज साहको भनाई छ । त्यसैगरि गठबन्धनका अन्य दलले पनि उम्मेदवार खडा गर्ने बारे छलफल चलाई रहेका छन् ।