जनकपुरधाम- सत्ता गठबन्धनले चुनावी तालमेलबारे गरेको सहमती अनुसार जनकपुरधाम उपमहानगरपालिका जनता समाजवादी पार्टी (जसपा) को भागमा परेपछि नेपाली कांग्रेसका स्थानीय नेता कार्यकताहरु स्वीकार नगर्ने पक्षमा जाने भएका छन् ।
सत्ता गठबन्धनले गरेको सम्झौता सार्वजनिक भए लगत्तै नेपाली कांग्रेस जनकपुरधाम उपमहानगरपालिका कमिटीको बैठक बसेको छ । जसपालाई मेयर दिएको विषयमा आवश्यक निणर्य लिन अहिले बैठक बस्दै गरेको र छलफल चलिरहेको कांग्रेस नगर उपसभापति राकेश विक्रम साहले जानकारी दिए ।
उपसभापति साहले भने, ‘विगतको मत परिणाम हिसाबले पनि कांग्रेस मेयर पाउनुपर्ने तर तर जसपालाई दिइएकोमा हाम्रो असन्तुष्टि छ ।’ यता नेपाली कांग्रेस जनकपुरधाम उपमहानगरपालिकाका सभापति मनोज साहले गठबन्धन बीच केन्द्रमा भएको सहमति नमान्ने चेतावनी दिएका छन् ।
केन्द्रमा जनकपुरधामको नेतृत्व जसपालाई दिने सहमति भएपनि कांग्रेस सभापति साहले जनकपुरको मेयर कुनै हालतमा नछोड्ने बताए।
उनले भने, ‘जनकपुरधाम उपमहानगरपालिकामा कांग्रेसको आफ्नै उमेदवार हुन्छ । मेयर हामी कुनै पनि हालतमा छोडदैनौँ ।’ उनले भने, ‘जनताको भावना विपरीत भएको निणर्य र कुनै पनि सर्तमा मान्ने हुने छैन ।
सभापति साहले केन्द्रको यस निणर्यको भत्र्सना गर्दै कांग्रेसको जनकपुरधाम समितिले अविलम्ब सच्याउन माग गरेको बताए।
साहले भने, ‘मधेश प्रदेशसँग पार्टी सभापति शेरबहादुर देउवाले विभेद गर्नुभएको छ। जसपालाई मेयर दिने निणर्य अबिलम्ब नसच्याए हामी कडाभन्दा कडा कदम उठाउन तयार छौं ।’
जसपाले मेयरमा वर्तमान नगरप्रमुख लाल किशोर साहलाई उमेदवार बनाउने सम्भावना बढी छ ।
कांग्रेस धनुषाका सभापति योगेन्द्र पञ्जियारले केन्द्रमा गठबन्धन गर्ने निणर्य स्वीकार गर्नुपर्ने बाध्यता रहे पनि स्थानीय कार्यकर्ताको आक्रोशप्रति आफ्नो सहमति रहेको बताए ।




