बर्दिबास- नेपाली काँग्रेसबाट महोत्तरीको वर्दिवास नगरपालिका मेयरमा चिरञ्जिवी हमालले उम्मेदवारी दर्ता गराएका छन् भने काँग्रेसका अर्का नेता प्रहलाद क्षेत्रीले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएका छन् ।
बर्दिबास नगरपालिकाको मेयर पदमा टिकट पाएर उम्मेदवारी दर्ता गर्ने बेला कांग्रेसका नेता प्रहलाद क्षेत्रीले अर्का नेता चिरञ्जिवी हमालले आफू आधिकारी उम्मेदवार रहेको भनि उम्मेदवारी दर्ता गर्न पुगे पछि आधिकारी उम्मेदवार को भनि विवाद उत्पन्न भएको थियो ।



लामो रस्साकस्सीपछि पाएको टिकट लिएर क्षेत्री निर्वाचन कार्यालय पुग्दा कांग्रेस कै अर्का नेता चिरञ्जीवी हमाल पनि टिकट लिएर पुगेका थिए ।
एकै पार्टीबाट दुई व्यक्ति टिकट लिएर नाम दर्ता गर्न पुगेपछि निर्वाचन कार्यालयले आधिकारिता पुष्टि गरी हमालको उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत भुपेन्द्र सापकोटाले जानकारी दिए ।
क्षेत्रीको टिकट खोसिएपछि क्षेत्रीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । हमालको उम्मेदवारी दर्तापछि क्षेत्रीले स्वतन्त्र रुपमा आफ्नो उम्मेदवारी दर्ता गराएको सापकोटाले जानकारी दिए ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालयले हमालको टिकट निर्वाचन कार्यालयमा पठाएपछि निर्वाचन कार्यालयले उनको नाम दर्ता गरेको छ ।
नेपाली कांग्रेस प्रदेश समितिले पनि हमाल आधिकारिक उम्मेद्वार भएको परिपत्र गरेपछि क्षेत्रीको टिकट खोसिएको हो । कांग्रेसले अन्तिम समयमा आएर धोका दिएको भन्दै कांग्रेसको एउटा पार्टी पंक्ति असन्तुष्ट बनेका छन् ।
सोमबार बिहानमात्र क्षेत्रीले प्रदेशबाट नगरप्रमुखको उम्मेदवारका लागि टिकट लिएर आएका थिए। सामाजिक सञ्जालमा बिहानैदेखि क्षेत्रीलाई बधाई दिनेको ओइरो लागिरहेको बेला हमालले टिकट पाएपछि माहोलमा नै परिवर्तन भएको छ।




