धनुषा - धनुषा प्रहरीले मुस्लिम आयोगका अध्यक्ष समीममियाँ अन्सारीलाई पक्राउ नगरेको प्रष्ट पारेको छ । विभिन्न सञ्चारमाध्यममा अध्यक्ष अन्सारीलाई पक्राउ गरेको समाचार आएपछि प्रहरीले पक्राउ हैन उनलाई उद्धार गरेको प्रष्ट पारेका हुन् ।
धनुषा प्रहरी प्रवक्ता डिएसपी प्रदीपबहादुर क्षेत्रीले पक्राउ परेको भन्ने समाचार झुठा भएको बताए । ‘बिहानदेखि २० जनाले फोन गरेर सोधिसक्नुभयो । उहाँ पक्राउ पर्नु भएको होइन् । साथीको घरमा खाना खान गएपछि पैसा बाड्न आएको भन्दै केही व्यक्तिले होहल्ला गर्नुभएको रहेछ । पछि हामीले उहाँको रेस्क्यू गरेका हौँ ।’ प्रवक्ता क्षेत्रीले भने ।
धनुषामा रहेका अध्यक्ष अन्सारी आज बिहान आफ्ना साथी तथा प्रदेशसभा सदस्य हकिम रहिमको घरमा खाना खान गएका थिए । प्रवक्ता क्षेत्रीका अनुसार त्यही खाना खाएर दिउँसो काठमाडौं फर्किने कार्यक्रम थियो । तर, पैसा बाँड्न आएको भन्दै होहल्ला भएपछि प्रहरीले उद्धार गरेको उनको भनाइ छ ।
प्रहरीले उद्धार गरेर उनलाई काठमाडौं पठाइसकेको छ । मतदातालाई प्रभावित पार्न पैसा बाँड्न खोजेको आरोप नेकपा एमालेले लगाएको छ ।
मुस्लिम समुदायका अगुवालाई बोलाएर अन्सारीले पैसा बाँड्न खोजेको सूचना पाएपछि आफूहरू त्यहाँ पुगेको नेकपा एमालेले जनाएको छ । तर, प्रहरीले भने साथीको घरमा गएको बेला एमाले कार्यकर्ताले पैसा बाँड्न आएको भन्दै हो-हल्ला गरेको प्रष्ट पारेको छ ।
धनुषाका प्रहरी प्रमुख एसपी बसन्त रजौरेले अन्सारीलाई पक्राउ गरिएको र उनको साथबाट पैसा भेटिएको भनेर विभिन्न अनलाइनमा आएका समाचार झुटो भएको बताए। ‘‘उहाँको साथबाट हामीले केही पनि बरामद गरेका छैनौँ,” एसपी रजौरेले भने, “पैसाको ब्याग भेटिएको भन्ने खबर हल्ला मात्र हो।’’ प्रहरीलाई कुनै संवैधानिक निकायका पदाधिकारीलाई चेकजाँच गर्ने अधिकार नरहेको एसपी रजौरेको भनाइ छ। अध्यक्ष अन्सारीलाई सुरक्षित साथ एयरपोर्ट पुर्याइएको उनले जानकारी दिए। ‘‘अन्सारी भ्रमणको क्रममा होटल सीताशरणमा बस्नुभएको थियो। बिना कारण एमालेका नेता कार्यकर्ताहरूले घेरेपछि हामीले उहाँलाई सकुशल एयरपोर्टसम्म छोड्नका लागि सुरक्षा दिएका हौँ,’’ एसपी रजौरेले भने।




