काठमाडौं - सरकारले वित्तीय अपराध, मिटर ब्याजी, साइबर अपराध लगायतका अपराध नियन्त्रणका लागि सुरक्षा निकायलाई थप सक्षम बनाउने नीति लिएको छ ।
आर्थिक वर्ष २०७९।८० को नीति तथा कार्यक्रममा यी अपराध नियन्त्रणका लागि सुरक्षा निकायलाई थप सक्षम बनाउने नीति लिएको हो । नीति तथा कार्यक्रमको बुँदा नम्बर १३१ मा सरकारले अपराध न्यूनिकरणका लागि सुरक्षा निकायलाई थप सक्षम बनाउने उल्लेख गरेको छ ।
सरकारको प्राथमिकतामा यसअघि पर्न नसकेको मिटर ब्याजको अपराध, साइबर अपराध, वित्तीय अपराध लगायतका केही अपराधलाई नियन्त्रण गर्न नीति तथा कार्यक्रममै व्यवस्था गरेर प्रहरीलाई सक्षम बनाउने बताइएको हो ।
प्रहरीलाई तालिम दिने, आवश्यक जनशक्तिको निर्माण गर्ने, आधुनिक उपकरणको आयात तथा प्रयोग गर्ने लगायतका विषयहरु समावेश हुनेछन् ।
त्यसैगरी सरकारको नीति तथा कार्यक्रममा नागरिकको जीउधनको सुरक्षा सरकारको प्राथमिकता भन्दै नेपाल प्रहरी, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको क्षमता अभिवृद्धि गर्ने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।




