जनकपुरधाम- हिन्दुहरुको आस्थाको केन्द्र जानकी मन्दिरले नेपाल विद्युत प्राधिकरणको विजुली बत्तीको बक्यौंता ७८ लाख रुपैयाँ महसुल तिर्न बाँकी भएपछि लाइन काटिदिन ३ दिने अल्टिमेट दिइएको छ।
विद्युत प्राधिकरणको जानकी मन्दिरमाथि लामो समय देखिको ७८ लाख १३ हजार २९७ रुपैयाँ बाँकी रहेको छ । पटक पटक महसुल तिर्न प्राधिकरणले तिर्न ताकेता गरेपनि जानकी मन्दिरले वेवास्ता गर्दै आएको पछि प्राधिकरण कार्यालयले ३ दिन भित्र महसुल नबुझाए लाइन काट्ने अल्टिमेटम दिएको हो ।
महसुल नतिरे लाइन काटिदिने ३ दिने अल्टिमेटम पश्चात जानकी मन्दिरले किस्ताबन्दीमा महसुल तिर्न गरि प्राधिकरण कार्यालय संग सहमती गरेको छ ।
गत जेठ २३ गते प्राधिकरण जनकपुरले तीनदिन भित्र महसुल नतिरे लाईन काटिदिने अल्टिमेटम दिएको थियो । त्यस पश्चात जानकी मन्दिरले महिनामा ३ लाख २७ हजारको दरले २ वर्ष सम्म किस्तामा महसुल तिर्न सहमत भएको हो ।
अब महिनाको ३ लाख २७ हजार रुपैयाँको दरले महसुल दुईवर्षसम्म किस्ताबन्दीमा तिर्ने जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैष्णवले जानकारी दिए ।
महसुल तिरिदिन विभिन्न निकायसंग आग्रह गरेपनि नतिरेपछि लाईन काटिने अवस्था भएपछि बाध्य भएर मन्दिरले नै तिर्न सहमत भएको उनले बताए ।
जानकी मन्दिरमा महिनाको लाखौं रुपैयाँ भेटी चढ्नु को साथै जानकी मन्दिर छेउका विवाह मण्डप ठेक्का लागेको आम्दानी आउने गर्दछ। तर, मन्दिरले वर्षौ देखि विजुलीको महसुल नतिर्दा चर्को आलोचना हुँदै आएको छ ।
महन्थ दासले मन्दिरमा चढेको भेटी र विवाह मण्डपबाट आएको आम्दानीले जानकी मन्दिरमा पूजासामग्री, दैनिक निःशुल्क भोजन, विभिन्न उत्सव सहित व्यवस्थापनमा खर्च गर्ने गरेको कारण विद्युत महसुल तिर्न नसकेको दावी गरे ।